|
Getting your Trinity Audio player ready…
|

काठमाडौं, माघ २५। कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको प्रतिनिधिमण्डल संयुक्त व्यवसाय परिषद् (जेबीसी) सम्बन्धी छलफलका लागि काठमाडौं आएको छ। यो परिषद् नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) र कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबीच गठन गरिएको हो।
संयुक्त व्यवसाय परिषद् स्थापना गर्ने सम्झौता सन् २०२४ अप्रिलमा कतारका अमिर शेख तामिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा भएको थियो। यसले दुई देशबीचको आर्थिक सहकार्यलाई थप मजबुत बनाएको छ।
महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको निमन्त्रणामा आएको कतारी प्रतिनिधिमण्डलको नेतृत्व कतार चेम्बरका बोर्ड सदस्य मोहद अहमद एम ए अलोबैदलीले गरेका छन्। फेब्रुअरी ९ र १० मा काठमाडौंमा हुने बैठकले परिषद्को कार्यान्वयन र सञ्चालन दिशालाई अन्तिम रूप दिने अपेक्षा गरिएको छ।
महासंघका अनुसार परिषद् निजी क्षेत्रबीच संवाद, सहकार्य र प्रत्यक्ष संलग्नता बढाउने संरचित प्लेटफर्मका रूपमा काम गर्नेछ। प्रतिनिधिमण्डलले नेपालका अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ।
नेपालले जलविद्युत्, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधि, उत्पादन, पूर्वाधार, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लगानीका अवसरहरू प्रस्तुत गरेको छ। महासंघले परिषद् सक्रिय भएपछि व्यापार विस्तार, लगानी प्रवाह प्रोत्साहन र व्यवसायिक साझेदारीलाई बलियो बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेको छ।
नेपाल–कतारबीचको मित्रता र जनस्तरको सम्बन्ध अब आर्थिक सहकार्यतर्फ गहिरिँदै गएको छ। महासंघले यो भ्रमणलाई समयानुकूल कदमका रूपमा लिएको र आगामी वर्षहरूमा व्यापार र लगानी बढाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।


Leave a Reply