
काठमाडौँ, चैत ५। इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन्। आइएमई हस्पिटालिटीको सञ्चालक समितिले चैत ५ गते बिहिवार देखि लागू हुनेगरी थापालाई उक्त पदमा नियुक्त गरेको हो।
थापासँग आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव छ। नेपालसहित भानुआतु, माल्दिभ्स, मलेसिया, संयुक्त अरब इमिरेट्स र साउदी अरबका उच्चस्तरीय होटल, रिसोर्ट तथा क्यासिनोमा नेतृत्वदायी भूमिकामा काम गरिसकेका उनले यसअघि सिद्धार्थ हस्पिटालिटी समूहमा प्रमुख सञ्चालन अधिकृतका रूपमा ३० भन्दा बढी होटल, रिसोर्ट, क्याफे तथा भेन्यूहरूको सञ्चालन नेतृत्व गरेका थिए।
त्यसअघि उनले होटल याक एण्ड यति (काठमाडौँ), इरिरिकी आइल्यान्ड रिसोर्ट एण्ड ज्वेल क्यासिनो (भानुआतु), सिजी हस्पिटालिटी (चितवन) तथा टाइगर प्यालेस रिसोर्ट (भैरहवा)मा नेतृत्वदायी जिम्मेवारी सम्हालेका थिए। साथै, ले मेरिडियन दुबई, द वेस्टिन लाङकावी, सेराटन माल्दिभ्स, अलोफ्ट अबुधाबी तथा रोजवुड जेद्दाह जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूसँग पनि काम गरेको अनुभव छ।
आइएमई हस्पिटालिटीले थापाको अन्तर्राष्ट्रिय अनुभव र नेपालमा देखिएको नेतृत्व क्षमताले सेवा गुणस्तर अभिवृद्धि र सञ्चालन सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
आइएमई हस्पिटालिटी अन्तर्गत कम्पनीले लाजिम्पाटस्थित होटल ले हिमालय, पोखराको लेकसाइड रिट्रिट, बागलुङ र गैँडाकोटस्थित होटल इला लगायतका होटल तथा रिसोर्टहरूको व्यवस्थापन गर्दै आएको छ।
नियुक्तिपछि थापाले इला होटल एण्ड रिसोर्टको सेवा स्तर उकास्ने, सेवा संस्कृतिलाई सुदृढ बनाउने, नेटवर्कलाई विभिन्न पर्यटकीय गन्तव्यसम्म विस्तार गर्ने तथा दिगो र परिणाममुखी वृद्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave a Reply