|
Getting your Trinity Audio player ready…
|

काठमाडौं, चैत १७ । नेवा: समुदायको परम्परागत बाँसुरीलाई आधुनिकतासँग जोड्ने उद्देश्यले राजधानीको ‘हङ्ग्री म्युजिसियन टेरेस’मा आज भव्य कार्यशाला सम्पन्न भएको छ। साउन्डबज अडियो ल्याब र नेपाल इको प्यानलको संयुक्त आयोजनामा भएको कार्यक्रममा रैथाने शिल्प र आधुनिक सामग्रीको संयोजनलाई विशेष महत्त्व दिइएको थियो।
नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले भक्तपुरको दीर्घकालीन पर्यटन प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले पर्यटनलाई विकासको आधार मान्दै सांस्कृतिक गतिविधिलाई अझ प्रोत्साहन दिनुपर्ने आवश्यकता औँल्याए ।
साउन्डबज अडियो ल्याबका संस्थापक चन्दन ताम्रकारले परम्परागत बाँसुरीलाई जीवित राख्न कलाकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताए। उनका अनुसार, हाल काठको बाँसुरीको स्थान पि भिसी पाइपबाट बनेका बाँसुरीले लिन थालेका छन्। “भारतबाट आयातमा निर्भर हुनु भन्दा आफ्नै युवालाई दक्ष बनाएर आत्मनिर्भर बनाउनुपर्छ,” ताम्रकारले जोड दिए।
कार्यशालामा बहु–वाद्यवादक तथा बाँसुरीमा दक्ष कलाकार अमन मालीले प्रशिक्षण दिएका थिए । कुमा सागर एन्ड द ख्वप ब्यान्डका सदस्य माली शास्त्रीय, लोक तथा ज्याज फ्युजन संगीतमा विशेष पहिचान बनाउन सफल कलाकार मानिन्छ ।
कार्यशालामा बाँसुरी निर्माणका प्राविधिक तरिका, स्वर र ताल मिलाउने, ट्युनिङ ज्ञान बाँस तथा पि भिसी पाइपबाट बाँसुरी बनाउने प्रविधि र हावाबाट बज्ने वाद्ययन्त्रका आधारभूत सिद्धान्तलगायतका सिकाइका मुख्य विषयहरू थिए ।
कार्यशालामा कुमा सागर एन्ड द ख्वप ब्यान्डका सदस्यहरू सहित सुमन गैडा, अमन बज्राचार्य, र उजन शाक्यले सक्रिय सहभागिता जनाएका थिए। आयोजकहरूले यसलाई नयाँ पुस्ताका बाँसुरी निर्माताहरू जन्माउने अवसरका रूपमा लिएका छन्।
“ज्ञान बाँड्नका लागि हो” भन्ने सन्देशसहित सम्पन्न कार्यशालाले नेवारी संस्कृतिको संरक्षण र दिगो पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply