2025-07-01

‘नेपाली वैज्ञानिकहरूको सञ्जाल बनाउँदैछौं’

 

–डा. हेमराज शर्मा अध्यक्ष‚ १३ औं अन्तर्राष्ट्रिय क्वाजीक्रिस्टल सम्मेलन (आइसीक्यु–१३)
–डा. हेमराज शर्मा अध्यक्ष‚ १३ औं अन्तर्राष्ट्रिय क्वाजीक्रिस्टल सम्मेलन (आइसीक्यु–१३)

बेलायतस्थित लिभरपुल विश्वविद्यालयको भौतिक शास्त्र विभागका सहप्राध्यापक डा. हेमराज शर्मा १३ औं अन्तर्राष्ट्रिय क्वाजीक्रिस्टल सम्मेलनका अध्यक्ष हुन् ।

बागलुङमा जन्मिएका शर्माले भौतिकशास्त्रअन्तर्गत क्वाजीक्रिस्टलमा विद्यावारिधी गरेका हुन् । त्रिभुवन विश्वविद्यालयबाट भौतिकशास्त्रमा स्नातकोत्तर सिध्याएर उनी विद्यावारिधिका लागि जापान गए । उनले केही वर्ष जापान‚ इटाली र जर्मनीका विभिन्न शैक्षिक तथा वैज्ञानिक संस्थामा अनुसन्धानात्मक तथा प्राज्ञिक काम गरिसकेका छन् । शर्मासँग रिभोसाइन्सले गरेको कुराकानीको सम्पादित अंशः

कस्तो खालको सम्मेलन आयोजना गर्न लाग्नुभएकोे हो ?
–१३ औं अन्तर्राष्ट्रिय क्वाजीक्रिस्टल (आइसीक्यु–१३) सम्मेलन आयोजना गर्न लागेका हौं । विशिष्ट गुण भएको एक प्रकारको ठोस प्रदार्थमा काम गर्ने विश्वभरका वैज्ञानिकले सम्मेलनमा भाग लिनेछन् । सबैभन्दा पहिले क्वाजीक्रिस्टल पत्ता लगाउने नोबल पुरस्कार विजेता प्राध्यापक ड्यानिल सेफ्टमेन पनि सम्मेलनमा आउने निश्चित भइसकेको छ ।

सम्मेलनको आयोजना नेपालमै किन ?
-यसलाई हामीले बुहुआयामिक रुपमा हेरेका छौं । पहिलोे, नेपाललाई वैज्ञानिकमाझ विश्वभर चिनाउने सुवर्ण अवसर हो । अर्को, विदेशमा बसेर पनि नेपालका लागि केही गरौं र विश्व समुदायमा देशको पहिचान उच्च राखौं भन्ने भावले गर्दा पनि सम्मेलन गर्न लागिएको हो ।

यसकारण हामीले आइसीक्यु–१३ नेपाल गर्ने भनेर प्रस्ताव राखेका थियौं । सुरुमा नेपालका विश्वविद्यालयमा सम्मेलन गर्न सकिन्छ र ? भन्ने जिज्ञासा आइसीक्यु–१३ का सल्लाहकारले राखे । तर, पछि नेपालमै सम्मेलन गर्ने निधो भयो ।

icq13_slider_1

विदेशी वैज्ञानिकलाई नेपालमा क्वाजी क्रिस्टलमा काम गर्ने वा भिजिटिङ प्राध्यापकको रूपमा राख्नेबारे योजना बनाएका थियौं । यो सफल भएमा विदेशी वैज्ञानिक नेपाल आएर १/२ महिना बस्ने वातावरण बन्छ । त्यसले ज्ञानको दायरा फराकिलो पार्छ ।

सम्मेलन नेपालमै आयोजना गर्न कसरी सफल हुनुभयो ?

–नेपालको भौगोलिक, राजनीतिक अवस्था तथा विश्वविद्यालयका बारेमा जानकारी गरायौं । विभिन्न चरणमा मिटिङ भए । भूकम्पपछि सम्मेलन नगर्ने कि भन्ने सल्लाहकारको भनाइ थियो । तर, हामीले नेपाल सुरक्षित भैसकेको छ भन्ने सन्देश प्रवाह ग¥यौं । एनआरएनएको साइन्स फाउन्डेसन‚ आइसिक्यु–१३ र वैज्ञानिक सामग्री उत्पादन गर्ने संघसंस्थाको सहयोगले सम्मेलन नेपालमा ल्याउन सकिएको हो ।

सम्मेलनमा के–के हुन्छ ?

–३० देशका १ सय ५० भन्दा बढी वरिष्ठ वैज्ञानिकले लिखित तथा मौखिक प्रस्तुति दिनेछन् । नोबेल पुरस्कार विजेता प्राध्यापक ड्यानिल सेफ्टमेनले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा अन्तक्र्रिया कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । कमसेकम अनुभवी तथा सम्मानित वैज्ञानिक नेपालमा आइसकेपछि नेपालका विश्वविद्यालय अवलोकन तथा नेपाली विद्यार्थीसँग अन्तक्र्रिया गर्ने अवसर प्राप्त होस् भन्ने हाम्रो चाहना हो । यो सम्मेलनमार्फत् स्वदेशी तथा विदेशी नेपाली वैज्ञानिकको एउटा सञ्जाल बनाउन खोजिरहेका छौं ।

खासगरी स्वदेशी तथा विदेशी नेपाली वैज्ञानिकले कम्तिमा तीन वर्षभित्र पदार्थ विज्ञानको क्षेत्रमा अनुसन्धान गर्ने वातावरण बन्यो भने सहकार्यको लागि विदेशी खोजिरहनुपर्ने अवस्था हुँदैन । विश्वका धेरै चर्चित विश्वविद्यालयमा नेपाली वैज्ञानिक कार्यरत छन् । उनीहरूले देशका लागि सहयोग गर्न सक्छन् ।

सम्मेलनको आयोजना तथा व्यवस्थापन कसरी गर्नुभएको छ ?

–सम्मेलनका लागि आन्तरिक सल्लाहकारको बोर्ड हुन्छ । त्यहीअनुसार कार्यक्रमका लागि प्रस्तावना राख्नुपर्ने हुन्छ । प्रत्येक तीन–तीन वर्षमा सम्मेलन आयोजना हुने स्थान र स्थानीय आयोजक छनोट गरिन्छ । यो छनोटको काम क्वाजीक्रिस्टलमा काम गर्ने वैज्ञानिकहरूको संस्था ‘इन्टरनेसनल कन्फेरेन्स अफ क्वाजीक्रिस्टल’ले गर्छ ।

त्यसो भए स्थानीय आयोजकको काम चाहिँ के हो ?
–हामीले नेपालको तर्फबाट यहाँको प्रबन्ध मिलाउने हो । नेपालका तर्फबाट सम्भव भएसम्म विज्ञहरूलाई समेट्ने प्रयास गरेका छौं । नेपाल फिजिकल सोसाइटी‚ केन्द्रीय भौतिकशास्त्र विभाग‚ कीर्तिपुर र नेपाल केमिकल सोसाइटीसँग सहकार्य गरेका छौं । समय अभावले अन्यलाई समेट्न सकेनौं । तीबाहेक स्थानीय सल्लाहकार समितिमा भौतिकशास्त्र तथा रसायनशास्त्रका प्राध्यापकलाई समावेश गर्न कोशिस गरेका छौं ।

सम्मेलनले नेपाललाई के फाइदा हुन्छ ?

–तत्कालै फाइदा दिन नसके पनि ६ दिनसम्म विदेशी वैज्ञानिक नेपालमा रहनेछन् । उनीहरूले यहाँको रहनसहन बुझ्ने अवसर पाउँछन् । यसले नेपालको पर्यटनलाई पनि सहयोग पुग्नेछ । विदेशी वैज्ञानिकले नेपाली वैज्ञानिकसँग अन्तक्र्रिया गर्ने अवसर पाउनेछन् ।

तीबाहेक १ सय ५० वरिष्ठ वैज्ञानिकमध्ये केहीलाई भिजिटिङ प्राध्यापकको रुपमा नेपाल ल्याउन सकियो भने त्यसले अन्तर्राष्ट्रिय सहकार्यमा जान सकिने वातावरण बन्नेछ भन्नेमा केन्द्रित छौं । अहिले विश्वमा कहाँ गुणस्तरीय अनुसन्धान हुन्छ ? त्यसतर्फ ध्यान दिएका छौं । ‘युएस इन्डो प्रोजेक्ट,’ ‘फ्रान्स इन्डो प्रोजेक्ट’को मोडेलमा जान थालेको अवस्था छ । यदि नेपालीले सहकार्य गरेर अघि बढ्न सक्ने अवस्था आएमा राम्रो हुने देखिन्छ । दीर्घकालीन सम्बन्ध बढाउने खालका काम गर्न खोजिरहेका छौं । सहकार्य गरेर अगाडि बढ्ने अवस्था आएमा नेपालले विज्ञान तथा प्रविधिको क्षेत्रमा फड्को मार्नसक्छ ।

सम्मेलनमा कस्ता वैज्ञानिकको बाहुल्य हुन्छ ?
–‘क्वाजीक्रिस्टल’मा अनुसन्धान गर्ने भौतिकशास्त्री‚ रसायनशास्त्री‚ पदार्थ विज्ञान र गणितका वैज्ञानिकको बाहुल्य हुन्छ । यसका साथै इजरेलका रसायनशास्त्री तथा ‘क्वाजीक्रिस्टल’ पत्ता लगाउने नोबेल पुरस्कर विजेता प्राध्यापक ड्यानिल सेफ्टमेन आउने कार्यक्रम छ । यससाथै तीन वर्षदेखि यस क्षेत्रमा काम गरिरहेका युवा वैज्ञानिक पनि आउनेछन् ।

सम्मेलनबाट नेपाली वैज्ञानिक तथा संस्थाले के सिक्ने अवसर पाउँछन् ?

–वैज्ञानिकको लिखित तथा मौखिक प्रस्तुतिमार्फत् ज्ञान लिन सकिन्छ । त्यसबाहेक इन्टरनेसनल युनियन अफ क्रिस्टिलोग्राफीका अध्यक्षलाई भेट्ने अवसर जुट्नेछ । यस क्षेत्रमा कार्यरत नेपाली वैज्ञानिक अहिलेसम्म सदस्य नरहेको अवस्था छ । उक्त संस्थाले नेपालमा सहयोगी भूमिका खेल्न चाहेमा पनि सहयोग गर्ने अवस्था रहँदैन । यसकारण हामी यो क्षेत्रमा काम गर्ने नेपालीको खोजी गर्ने अभियानमा छौं ।

नेपालका वैज्ञानिक संस्थाले तत्कालै सिक्ने तथा गर्नसक्ने कुरा पनि हुन्छन् ?
– तत्कालै गर्न सकिने खालका कार्यक्रम काम सम्मेलनको उत्ति प्राथमिकतामा छैनन् । तर‚ नेपालका वैज्ञानिकले सम्मेलनबाट सिक्ने अवसर भने पक्कै पाउँछन् । त्यस्ता काम गर्न नेपालमा सम्भव हुन्छ कि हुँदैन वा अन्तर्राष्ट्रिय सहकार्य गर्ने कुराहरू भने सिक्न पाउँछन् । विदेशी नेपाली वैज्ञानिक तथा स्वदेशी वैज्ञानिकको नेटवर्क विस्तारमा सम्मेलनले ठूलो भूमिका खेल्ने छ ।

भविष्यमा थप योजना के–के छन् ?

–नेपालमा गर्नसक्ने खालका कस्ता अनुसन्धान हुन्छ भन्ने खोजी गरिरहेका छौं । नेपाल साइन्स फाउन्डेसनमार्फत् विदेशी वैज्ञानिकलाई नेपालमा क्वाजी क्रिस्टलमा काम गर्ने वा भिजिटिङ प्राध्यापकको रूपमा राख्नेबारे योजना बनाएका थियौं । यो सफल भएमा विदेशी वैज्ञानिक नेपाल आएर १/२ महिना बस्ने वातावरण बन्छ । त्यसले ज्ञानको दायरा फराकिलो पार्छ ।

विदेशमा रहेका नेपालीको छाता संगठन एनआरएनएको ‘सीप‚ ज्ञान र आविष्कार’ अर्थात ‘स्की’ भन्ने समूहले नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा केही काम गरौं भन्ने लक्ष्यसाथ अगाडि बढ्ने योजना बनाइरहेको छ । यसको थप विस्तारका लागि ‘स्की’ टिमको अध्यक्ष पनि नेपाल आउँदै हुनुहुन्छ ।

विज्ञान प्रविधिको विकासमा एनआरएनएले कस्तो भूमिका खेल्न सक्छ ?
–‘स्की’ले विज्ञान प्रविधिको क्षेत्र हेर्ने गर्छ । यही मार्फत् आएको नेपाल साइन्स फाउन्डेसनले नेपालका ग्रामीण बस्तीमा विज्ञान–प्रविधिको विकास गर्ने लक्ष्य लिएको छ । यसका लागि हामी रकम जुटाउने अभियानमा छौं ।

फाउन्डेसनले विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वदेशमा आउन अभिप्रेरित गर्ने कार्यक्रम ल्याउँछ ?
–पहिलो चरणमा हामी स्वदेशी तथा विदेशी वैज्ञानिकको नेटवर्कको स्थापना गर्न लागिपरेका छौं । त्यो त्यति सजिलो काम होइन, तर पनि एनआरएनएले विदेशमा रहेका नेपाली वैज्ञानिकसँगको सम्बन्ध राख्ने काम गर्दै आएको छ । अर्को, संसारभर छरिरहेका नेपाली वैज्ञानिकको तथ्यांक संकलन गर्ने योजना सुरु गरिसकेको छ । त्यो सूची बनेमा नेपाललाई विज्ञान–प्रविधिको क्षेत्रमा थप सहयोग गर्न सकिन्छ ।

नेपालमा सम्मेलनको तयारी गर्दा कस्ता खाले अप्ठ्यारा आएका छन् ?

–नेपाली वैज्ञानिकको समूहले दिएको सल्लाहको आधारमा काम गर्दा त्यति धेरै चुनौती आएको छैन । संस्थागत हिसाबले सहभागी जनाउँदा अलिकति कठिनाइ आइपर्ने देखियो । तर, स्थानिय आयोजक बनाएर काम गर्दा सहज महसुस भएको छ । अर्को कुरा नेपालबाट सम्मेलनमा भाग लिनेले अनलाइनमार्फत् दर्ता शुल्क तिर्न नमिल्ने समस्या भयो । नेपालमा पेपालको सुविधा नभएकोले हाम्रो कार्यक्रमको रकम जपानमा जम्मा भएको छ । त्यो रकम नेपालमा ल्याउन राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने भएको छ ।

प्रकाशित

समाचार

एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

हिमाल युथ विज फेस्टिवल सम्पन्न

विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृति सभा

नेक इग्नियमको प्रवर्द्धनका लागि फ्ल्यास मोब

नयाँ अनुसन्धान : चलाख मानिसहरूको निर्णय क्षमता राम्रो हुने

गोंगबुमा यामाहाको नयाँ थ्रीएस सोरूम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

हिमाल युथ विज फेस्टिवल सम्पन्न

विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृति सभा

नेक इग्नियमको प्रवर्द्धनका लागि फ्ल्यास मोब

नयाँ अनुसन्धान : चलाख मानिसहरूको निर्णय क्षमता राम्रो हुने

गोंगबुमा यामाहाको नयाँ थ्रीएस सोरूम

×