हरेक जिज्ञासाबाट विज्ञानको जन्म हुन्छ । अझ भनौ आधारभूत विज्ञानका सैद्धान्तिक धरातलमा टेकेर प्रविधि निर्माण हुन्छन्। त्यही प्रविधि रेडियो, टेलिभिजन, कम्प्यूटरहुँदै मोवाइलसम्म आइपुग्दा अहिलेको पुस्तालाई हातमा मोबाइल भएन भने चिया पिउँदा पनि खल्लो हुन्छ ।
नहोस पनि कसरी ? सूचना प्रविधिको अधिकतम विकासले आजकल मानिसको हात-हातमा समाचार र डिजिटल वालेट जो छ। ‘डिजिटल वालेट’ भएपछि चाहेको सामान अनलाइन अर्डर र बील भुक्तानी गर्न सजिलो भएको छ भन्दै थिए,’ त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र केन्द्रिय विभागका प्राडा रामेश्वर अधिकारी ।
कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा ‘योङ साइन्टिस्ट कम्यूनिटी’ले गएको शनिबार आयोजना गरेको कार्यक्रम ‘टक विथ टेक्नोफाइल’ दृश्य हो यो। कार्यक्रममा नेपालको प्रविधि: विगतबाट सिकौं, वर्तमानमा लागू गरौं र भविष्यका लागि योजना बनाऔं भन्ने जस्ता कुराको उठान भए । सात जना विज्ञहरुले आ-आफ्ना धारणा व्यक्त गरेका थिए।
त्रिभुवन विश्वविद्यालय व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रका पूर्व कार्यकारी निर्देशक प्राडा रामेश्वर अधिकारीले हाम्रा पूर्खाले न्यातापोल जस्ता धरोहर बनाउन सक्षम भए तर आजको पुस्तालाई वैज्ञानिक युगमा प्रवेश गर्नका लागि चाहिने आवश्यक पूर्वाधार तयार गर्न राज्य चुकेको औल्याए ।
‘प्रविधिको उन्नत विकासमार्फत् पुस्तानतरण गर्न सजिलो हुनेछ,’ प्राडा अधिकारीले भने, ‘विदेशीले प्रविधि निर्माणमा धेरै काम गरेका छन् तर हामी भने उही पुरानै शैली र सोचमा रमाइरहेको छौं।’
राष्ट्रिय आविष्कार केन्द्र(एनआइसी) का अध्यक्ष महावीर पुन विगतका कुरा सम्झदै भने, ‘म्याग्दीको आकाशमा हवाईजहाज देख्दा ठूला प्रविधि ठान्थें । र, लाहुरेले ल्याएका रेडियोलाई साना प्रविधि ।’ स्थानीयस्तरमा पाइने औजारहरु कुटो, कोदालो, बनचरो र हसिया देखेको पुनले बाल्यकालको अनुभव विद्यार्थीहरुलाई सुनाए ।
उनी चितवनमा शिक्षकको भूमिकामा छँदा, सन् १९८६मा टेलिभिजन किनेर पहिलो पटक विश्वकप फुटबल खेल हेरेको अनुभव सुनाए। उनका अनुसार कुनै वेला इमेल लेख्न हरेक तीन महिनामा म्याग्दीबाट काठमाण्डौ आउन पर्दथ्यो । सन् २००२ मा डायलअप कनेक्सनको इनेटरनेट म्याग्दीसम्म पुर्याइयो, पुनले भने ।
‘त्यो बेला एनआइसी खोल्ने दिमागमै थिएन । काम गर्दै जाँदा विकास भएको कुरा हो । अमेरिकाबाट आएको २० वर्षपछि एनआइसी खोल्ने सोच विकास भएको’ एनआइसीका अध्यक्ष पुनले सुनाए ।
‘जानेर काम सुरु गरेको होइन्,’ उनले भने, ‘काम गर्दै सिक्दै एनआइसी विकासक्रमसम्म आइपुगेको हो । भाइबहिनीले पनि त्यस्तै सोच विकास गर्दै नेपाली प्रविधि विकासमा सहयोग गर्नु पर्दछ ।’
पछिल्लो समय स्थानीय सरकारले एनआइसीको परिकल्पना प्रत्येक प्रदेशमा गर्दैछन्, त्यो नै भविष्यका कार्यक्रमहरु हुन् । योङ साइन्टिस्ट भनेको उधमी वन्ने हो, नकी वैज्ञानिकमा मात्र सीमित हुने होइन्, पुनले भने ।
भविष्यमा प्रविधिको प्रयोग
भविष्य भनेको पछिल्लो पुस्ताको हो । गतिशील समयमा यो स्वभाविक प्रक्रिया भित्र पर्ने कुरा हो । तर नेपालमा हामीले आफ्ना लागि विकास गर्न प्रविधिको सरकारी निकायले आवश्यकता ठानेन, नेपाल खुला विश्वविद्यालयका उप-प्राध्यापक डा. भोजराज घिमिरेले भन, ‘सन् १९९५ मा सस्तोका लागि राति इन्टरनेट प्रयोग गर्ने गर्दथौं । तर अहिले त्यस्तो अवस्था छैन ।’
आजकल ‘इन्टरनेट अफ थिङ, रिमोट सेन्सिङ र क्वान्टम प्रोसेसिङ’को कुरा आइरहेका छन् । त्यसमा पनि ‘मसिन लर्निङ, वल्क चेन टेक्नोलजी र डिजिटल इकोस्टम’मा काम हुन थालेको छ । हामी त्यस दिशतिर जान ढिला गर्न हुँदैन, उपप्राध्यापक घिमिरेले भने ।
रोबोटिक्स एसोसियसन अफ नेपाल(र्यान)का अध्यक्ष विकास गुरुङले सन् २०३० सम्ममा नेपालमा ‘फ्यूचर टेक्नोलजी’मा धेरै काम भैसक्ने औंल्याए । त्यसका लागि र्यानले विभिन्न क्षेत्रमा पहलकदमी तथा सहकार्य गरिरहेको अध्यक्ष गुरुङले बताए ।
‘नेपालमा ड्रोन दर्ता गर्न कार्यालयमा धाउन पर्ने वाध्यता थियो । तर अहिले संसारको जुनै स्थानबाट अनुमतिका लागि अनलाइन दर्ता गर्न सक्छन्,’ नागरिक उड्यन प्राधिकरणका ड्रोन विज्ञ प्रदिप भट्टराईले भने, ‘अझै नेपाली आकाशमा ‘रियल टाइम’मा कति ड्रोन उडिरहेका छन्, त्यो भन्न सक्ने अवस्था छैन ।’
‘हरेक क्षेत्रमा विशेषज्ञ निर्माण गर्नु पर्दछ, जसले गर्दा भविष्यमा प्रविधिसम्वन्धी योजना लागू गर्न सजिलो हुनेछ । नेपालको अहिलेको स्थति हेर्दा उधोग कलकारखानाबाट चुनौति नआएसम्म नियमन गर्ने अवस्था विकास भएको देखिदैन,’ ड्रोन सञ्चालन तथा नियमन सम्बन्धी अध्ययन गरेका भट्टराईले बताए ।
‘चाइनिज एकाडेमी अफ साइन्सेस(सीएएस)को अनुसन्धानले विकास भएको प्रविधि ‘लेनोभो’ बजारमा आउन सम्भव भएको हो । त्यसको पेटेन्ट सीएएससँग रहेको छ । त्यसकारण प्रविधि भन्नासाथ विज्ञान पनि सँगै आउने कुरा हुन्, ’ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक डा. टिस्टा प्रसाईंले बताइन् ।
टेक्नोलजी आन्टरपिनरशीपमा दक्षता हासिल गरेकी ममता पौडेलले इन्टरनेट प्रविधिको प्रयोगले व्यापार, व्याकिङ र शिक्षा क्षेत्रमा अत्याधिक प्रयोग भैरहेको बताइन् । आजकल इन्टरनेटबाट कपडा, घरेलु सामग्री, खाजा तथा सवारी साधान वुकिङ मोवाइल मार्फत् हुने गरेको छ । ‘पठायो जनजिव्रोमा झुण्डेको नाम हो,’ पौडेलले भनिन्, ‘यसकारण राज्यसँग भावी पुस्तालाई अगाडि बढाउने खालका नीति तथा योजना हुन आवश्यक पर्दछ ।’
कार्यक्रमका संक्षिप्त जानकारी योङ साइन्टिस्ट कम्यूनिटी (वाइएससी)का प्रवेश श्रेष्ठले प्रकाश पारेका थिए । उनले कोभिड लकडाउनले धेरै सिक्ने अवसर मिलेको बताए ।
वाइएससी, कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले नयाँ प्रविधिको विषयमा छलफल, अनुसन्धान र अन्यलाई सिकाउन स्थापना गरिएको संस्था हो ।
त्यस्तै, आइडिया छ, सामान छैन, त्यसलाई ‘कम्प्यूटर सिमुलेसन’ गर्न सकिने टुल्समा काम गर्न कोशिस गरेको वाइएससीका सचिव लक्की साहले बताए ।
करिब तीन घण्टा अवधिको ‘टक विथ टेक्नोफाइल’ कार्यक्रमको सञ्चालन अनिल सिंहले गरेका थिए ।
Leave a Reply