काठमाडौँ । ‘द टेलिस्कोप क्लब’ले आयोजना गरेको ‘क्षितिज पारी योगेश्वर अमात्यको साथ’ खगोलीय भिडियो प्रतियोगिताका विजयी घोषणा गरेको छ।
यस प्रतियोगितामा प्रतिस्पर्धीबाट उत्कृष्ट तीन जना छनोट गरिएको द टेलिस्कोप क्लबका संरक्षक मेक इन्जिनियरिङका आर्केट महर्जनले बताए।
उनका अनुसार तेस्रो संस्करणको विजयी काठमाडौँ पेस्पीकोलाका विकेश कार्की हुन् । पहिलो रनरअप काठमाडौँ रानीवनका सबिन भण्डारी हुन् भने दोस्रो रनअप बाजुरा खप्तडका रामचन्द्र सुनुवार बनेका छन्।
यस पटकको विजयी सबिन भण्डारीलाई ७० एमएमको टेलिस्कोप प्रदान गरिएको छ। त्यस्तै, पहिलो र दोस्रो रनरअप हुनेलाई ६० एमएमको टेलिस्कोप निर्माण गर्ने किट प्रदान गरिएको छ।
‘नेपालका चर्चित पप गायक योगेश्वर अमात्यको सहयोगमा नेपालमा खगोलीय गतिविधिमा टेवा पुर्याउने उद्देश्यले ‘क्षितिज पारी योगेश्वर अमात्यको साथ’ कार्यक्रमको आयोजना गरिएको हो,’ महर्जनले भने ।
गायक योगेश्वर अमात्यले विजेता घोषणा भिडियो सन्देशमार्फत भनेका छन्, ‘आफ्नो संसारभन्दा बाहिर हेर्ने उत्सुकता बौद्धिक मानिसको प्रतिभा भएकोले सधैँ मनमा राखिराख्न अनुरोध छ।’
‘द टेलिस्कोप क्लब’ले चौथो चरणको खगोलीय भिडियो प्रतियोगिता छिट्टै खुला गर्ने जनाएको छ ।
Leave a Reply