
काठमाडौँ । लामो समयदेखि अर्थतन्त्र सुस्त गतिमा रहे पनि असोज महिनामा वाणिज्य बैंकहरुले कर्जा विस्तार गरेका छन्। स्ट्याण्डर्ड चार्टर्ड बाहेकका सबै बैंकले कर्जा वृद्धि गरेको तथ्यांकले देखाएको छ।
राष्ट्रिय वाणिज्य बैंक र हिमालयन बैंक कर्जा विस्तारमा अग्रणी देखिएका छन्। हिमालयन बैंकले निर्देशित कर्जाको सीमा पूरा गर्न नसकेपछि कुमारी बैंकसँग ठूलो मात्रामा कर्जा स्वाप गरेको हुँदा उसको कर्जा वृद्धिदर उच्च देखिएको हो। पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकसँग लगानीयोग्य पूँजी प्रशस्त भएकाले उसले कर्जा प्रवाहलाई प्राथमिकता दिएको छ।
नबिल बैंक र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले पनि उल्लेख्य मात्रामा कर्जा बढाएका छन्। तर स्ट्याण्डर्ड चार्टर्ड बैंकले पछिल्लो एक महिनामा करिब ३ प्रतिशतभन्दा बढीले कर्जा घटाएको छ। बाँकी १९ वाणिज्य बैंकले भने धेरथोर कर्जा विस्तार गरेका छन्।
गत असार मसान्तसँग तुलना गर्दा एभरेष्ट बैंक र माछापुच्छ्रे बैंकले सर्वाधिक कर्जा वृद्धि गरेका छन् भने एनआईसी एशिया बैंकले ठूलो मात्रामा कर्जा घटाएको देखिन्छ।
बैंकिङ क्षेत्रमा अहिले नयाँ लगानीको वातावरण कमजोर भएको र पुराना ऋणीले समेत ब्याज तिर्न हिचकिचाएको अवस्थामा कर्जा विस्तारलाई बैंकरहरुले ‘वित्तीय व्यवस्थापन गर्ने शैली’ भनेका छन्। पुराना ऋणीसँग थप धितो लिएर नयाँ ऋण दिने र सो ऋणबाट पुरानो कर्जाको ब्याज तथा किस्ता तिर्ने अभ्यासलाई ‘एभर ग्रिनिङ’ भनिन्छ।
राष्ट्र बैंकले कानूनी रुपमा यस्तो अभ्यासमा रोक लगाए पनि बैंकहरुले निरन्तर प्रयोग गरिरहेका छन्। बैंकरहरुको भनाइमा विशेष परिस्थितिमा अर्थतन्त्र र वित्तीय प्रणालीलाई जोगाउन यस्तो उपाय अपनाउन बाध्य भएका हुन्। नियामक निकायले पनि तत्काल कडिकडाउ नगरी सहजता देखाएकाले बैंकहरुलाई सजिलो भएको उनीहरुको तर्क छ।
बैंकरहरुले राजनीतिक र आर्थिक अवस्था सामान्य नहुँदासम्म नियामकले कठोर कदम चाल्नु उपयुक्त नहुने र प्रणालीलाई जोगाउन यथासम्भव प्रयास गर्नुपर्ने धारणा राखेका छन्।


Leave a Reply