/वैधखानाले गुणस्तरीय आयुर्वेद औषधि उत्पादन गर्ने

वैधखानाले गुणस्तरीय आयुर्वेद औषधि उत्पादन गर्ने

– अमृता अर्याल

 गुणस्तरीय आयुर्वेदिक औषधिहरूको उत्पादन र अनुसन्धानको जिम्मेवारी पाएको एकमात्र सरकारीस्तरको आयुर्वेदिक औषधि उत्पादन गर्ने सिंहदरवार वैद्यखाना विकास समितिले आमजनतामा सजिलैसँग पहुँच र उपलब्धता हुने गरि विक्रि वितरणको नयाँ रणनिति अपनाउन लागेको छ । आयुर्वेद औषधिहरूको अनुसन्धान, तथा गुणस्तरीय उत्पादन सरकारी एक मात्र संस्था हो । ‘खुल्ला वजार, निजिकरण र वहुर्राष्ट्रिय कम्पनीहरूको पहुँच र कब्जाका कारण नयाँ ढंगबाट बजारमा विक्रि वितरण गर्न लागिएको वैद्यखानाका प्रबन्ध निर्देशक डा राजेन्द्रकुमार गिरी बताउँछन् ।

पछिल्लो समयमा गुणस्तर बढाउन लागिपरेको सिंहदरवार वैद्यखाना विकास समितिको नेपाल अधिराज्यभर १९ ओटा स्टकिष्टहरू छन् । ती स्टकिष्टहरू विकास समितिको मेरूदण्ड हो । आयुवेर्द चिकित्साको महत्वपूर्ण क्षेत्र आयुर्वेद औषधि उत्पादक संस्था सिंहदरबार वैद्यखानालाई ऐतिहासिक धरोहरको रूपमा लिइन्छ । गुणस्तरीय आयुर्वेद औषधि उत्पादन र विरामीको सामान्य उपचारमा करिव चार शताब्दीदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको छ । विकास समितिको रूपमा दूई दशकदेखि आमजनताहरूमा स्वदेशी जडिबुटीहरूको प्रयोग गरी गुणस्तरीय आयुर्वेद औषधि उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । आम्दानी कम भएता पनि विकास समितिले आम्दानी भन्दा आमजनताको सेवालाई बढी महत्व दिन्छ । प्रडक्सन र मार्केटिङ्को काम गर्ने यस विकास समितीले रिटेल काउन्टरबाट विरामीहरू पनि जाँच्ने गरेको कुरा प्रवन्ध निर्देशकले बताए ।

सिंहदरवार वैद्य खानाको अधिकांश औषधिहरू आमजनताहरू विच लोकप्रिय छन् । आयुर्वेदिक औषधि भन्नासाथ वैद्यखानाका उत्पादनहरू सम्झीन्छन् आमजनताहरू । आमजनताको आर्थिक अवस्थालाई मुल्याङ्कन गर्दै सिंहदरवार वैद्यखानाले औषधिहरूको मुल्य निर्धारण गर्ने गरेको छ । अन्य कम्पनीका औषधि भन्दा सिंहदरवार वैद्यखानाको औषधि धेरै सस्तो मुल्यमा पाईने र गुणस्तर पनि राम्रो भएको सर्वसाधारणहरूको भनाई छ । अझ यसको विकास र सर्वसाधारणलाई बढी सुविधा दिनका लागि सरकारको नितिगत तथा आर्थिक सहयोग र सिङ्गो विकास समिति परिवारको कडा परिश्रम र लगनशिलता भएमा छोटो समयमै वैद्यखानाले लक्ष्य तथा उद्देश्य प्राप्त गर्न सक्ने कुरा बताउँछन् । आयुर्वेद जडिबुटी चिकित्सा र नेपालमा रहेका जडीबुटीहरू परम्परागत चिकित्सा विधिहरू एवं जडीबुटीबाट निर्मित औषधिहरूको प्रभावकारीता र नयाँ औषधिहरूको अनुसन्धान गर्न तथा आयुर्वेद चिकित्साका जनशक्तिहरू एवं स्वास्थ्य कर्मीहरूलाई आयुर्वेद चिकित्साका मौलिक चिकित्सा पद्धतिको छोटो तथा लामो अवधिको तालिम सञ्चालन गर्न नेपाल सरकारलाई हस्तान्तरण गरेको काम प्रभावकारी रूपमा सञचालन हुन सकेदेखि आयुर्वेद जडिबुटी चिकित्सा र आयुर्वेद औषधिहरूमा अनुसन्धान गर्न सहज हुने देखिन्छ ।

अहिलेसम्म अनुसन्धान कसरी र कुन–कुन क्षेत्रमा गर्ने ? भन्ने विषयमा स्पष्ट धारणा नभएको कारण विसुद्ध अनुसन्धानको हिसावले नगएतापनि अब रिसर्च एण्ड डेभलेपमेन्टको अवधारणा जानुपर्ने आवश्यकता महशुस भएको सिंहदरवार वैद्यखानाले जानकारी दिएको छ । शास्त्रिय आधारमा तर्किकमा र भैसिध्य रत्नावलीमा जे थियो त्यसकै आधारमा असाध्यै गुणस्तरिय र विश्वसनिय चेवन परास लगायत शिलाजितहरू उत्पादन गर्दै आएका कुरा समेत बताएको छ ।

वैद्यखानाका कर्मचारीहरू भन्छन् रिसर्चको लागि छुट्टै बजेट छैन अब यसलाई मध्यनजर गर्दै हामीले अझ धेरै गुणस्तरलाई कायम गर्न प्रयास गर्नेछौं । यसका बाबजुद पनि थुप्रै चुनौतीहरू भएका कारण सिंहदरवार वैद्यखाना कुसल औषधि उत्पादन प्रक्रियामा जान जरूरी भएकाले जि.एम.पि.मा जाने कुरा समेत बताए । वैद्यखाना आफैंले जि.एम.पी.मा जान सक्ने स्थीती नभएका कारण सरकारले सहयोग गर्नुपर्छ भन्ने धारणा कर्मचारीहरूको रहेको छ । सरकारले निर्धारण गरेको बजेट प्रयाप्त छैन । विसौं वर्षसम्म पनि निजिकरण र उदारीकरणको बाबजुद यस्ता संस्थाहरू निचोरीएको अवस्था छ । सरकारी इतिहास बोकेको यस्तो संस्था दक्षिण एशियामा नै छैन । यसकारण वैद्यखानालाई राज्यले यसलाई व्यवस्थित गर्न अत्यन्त जरूरी छ ।

दक्ष जनशक्तिको अभाव, राजनीतिक भर्ती केन्द्र, जीर्ण भौतिक संरचना, प्रविधि विनाको परम्परागत उत्पादन प्रक्रिया, प्रवन्ध निर्देशकको नियुक्तिमा हुने राजनैतिक हस्तक्षेप, प्रभावकारी औषधिको उत्पादनतर्फ कुनै अनुसन्धान नहुनु र निजी औषधि कम्पनीसँग बजार प्रतिष्पर्धा गर्न विद्यमान सरकारी नीति नियम आदि विभिन्न कारणले गर्दा यस संस्थाले प्रगती गर्न सकेको थिएन तर अब त्यस्तो नहुने कुरा सिंहदरवार वैद्यखानाका प्रबन्ध निर्देशक डा. गिरी बताउँछन् । आायुर्वेद चिकित्सा सेवामा रहेका चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको आयुर्वेद प्रतिष्ठानले तोकिएका महत्वपूर्ण कामै नगरी विनियोजित बजेट सिध्याउने झिना मसिना काम नगर्ने कुरा डा. गिरीको तर्क थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. प्रदीप के.सी. भन्छन्, ‘दक्ष जनशक्तिलाई उपयोग नगरी विकास समिति मार्फत अनावश्यक जनशक्तिको भर्तीकेन्द्र बनाएर सरकारले योग्य तथा सक्षम कार्यकारी निर्देशकको नियुक्त गर्न नसकेका कारण हाल यस केन्द्रले लक्षित उद्देश्य प्राप्त गर्न नसकेको हो । यसले अब यी नीतिहरू सुधार गर्दै आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।’ नेपालको आयुर्वेद क्षेत्रमा विकास, विस्तार र परिवर्तनका लागि सर्वप्रथम वैदिक सोचको आवश्यकता रहेको कुरा समेत उनले बताए ।

चिकित्सा सेवा प्रदान गर्नका लागि संगठनात्मक र व्यवस्थापकीय संरचनामा नेपालका हरेक जिल्लाको गाउँ विकास समितिमा सरदर तिनवटा औषधालयहरू पर्ने गरी हाल २१४ वटा आयुर्वेद औषधालयहरू, सिक्स१ वटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरू, १४ ओटा अञ्चल आयुर्वेद औषधालयहरू, ५० शैयायुक्त एक क्षेत्रीय आयुर्वेद चिकित्सालय र ११८ शैयायुक्त एक केन्द्रिय आयुवेर्द चिकित्सालयहरू हाल आयुर्वेद विभाग अन्तर्गत सञ्चालनमा रहेका छन् ।

आयुर्वेद चिकित्सा पूर्वीय सोच र वैदिक दर्शनमा आधारित छ । यो नेपालमा सबैभन्दा बढी संस्थागत र व्यवस्थित भएको परम्परागत चिकित्सा प्रणाली हो । उपयुक्त एवं अनुकुल हावापानीका र भौगोलिक वातावरणका कारण नेपालको जडिबुटी विश्व वजारमा अत्यन्त लोकप्रिय छन् । सातसय प्रजातीका जडिबुटी नेपालमा पाइन्छन् तर उपयुक्त प्रविधि, व्यवस्थापन र संस्थागत समन्वयका कारण यिनै जडिबुटीहरूबाट बनेका औषधिहरू नेपालीहरूले महङ्गो मूल्यमा पैसा तिरेर आयात गरिन्छ ।

विदेशी कम्पनीहरूको आयुर्वेद औषधिहरू नेपालमा ९० प्रतिशत भन्दा बढि खपत छन् । जनताको करबाट राज्यले आयुर्वेद चिकित्सा क्षेत्रमा गरेको अरबौं लगानीको प्रतिफल स्वरूप जनताको स्वास्थ्य सुधारमा पारेका सकारात्मक प्रभावहरू स्पष्ट रूपमा देख्न सकिने सूचकाङ्क सहितका कार्यक्रमहरू गाँउस्तरमा पु¥याउन गम्भिर भएर सोच्नु पर्ने भएको छ । प्रभावकारी चिकित्साको मेरूदण्ड नै प्रयोगात्मक शिक्षा र योग्य जनशक्ति भएकाले आयुर्वेद क्याम्पस र आयुर्वेद चिकित्सा परिषद्ले वर्तमान शैक्षिक प्रणालीमा व्यापक सुधार गरी नयाँ सोच सहितको प्रतिस्पर्धात्मक शिक्षा लागु गर्नुपर्ने देखिन्छ ।