२०१८ साल वैशाख १ गते धादिङ् जिल्लामा जन्मनु भएको बाबुराम अधिकारी धादिङ् जिल्लाको माध्यामीक प्रथम श्रेणीका शिक्षक हुनुहुन्छ । भैरवी उच्च मा.वी धादिङ् सुनौला वजारमा १२ वर्ष शिक्षणको काम गर्नु भएको अधिकारी २०४९सालको अन्त्य देखी लगातार नीलकण्ठ उच्च मावि धादिङ्बेसीमा कार्यरत हुनुहुन्छ । नीलकण्ठ उच्च मा.वि.का उपप्रधानध्यापक बाबुराम अधिकारीसँग रिभोसाइन्सका लागि अमृता अर्यालले गरेको कुराकानीको सम्पादित अंशः
कलेज व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
कलेज सञ्चालनको लागि महत्वपूर्ण पक्ष व्यवस्थापन हो । व्यवस्थापन समितिमा समाजसेवामा लाग्नु भएका आदरणीय दाजुुहरू हुनुहुन्छ । उहाँहरूले साथ सहयोग दिइरहनु भएको छ र मैले पनि आफ्नो वर्कतले धानेसम्म यस कलेजको प्रगतीको लागि निरन्तर लागि राखेको छु ।
विद्यार्थीहरूले किन नीलकण्ठ कलेज रोज्नु पर्छ जस्तो लाग्छ ?
अन्य कलेजको तुलनामा हाम्रो कलेजमा निकै राम्रो पढाई हुन्छ । जिल्लाको प्रतिष्ठित विद्यालय एवं क्याम्पस नीलकण्ठ नै हो भने अर्को तिर यो सदरमुकामको अधिकरण क्षेत्र भित्र रहेको छ । यहाँ धेरै खालको संगतहरू हुन्छन् साथै विभिन्न प्रतिभाहरूको सहि मुल्याङ्कन समेत हुनेहुँदा यस कलेजमा पढ्ने विद्यार्थीले जीवन र भविष्यलाई सहजै बुझ्न सक्छ । यस कलेजमा राम्रो पढाई हुनेहुँदा निम्न आर्थिक आय भएका देखि अफिसरका छोरा छोरीहरू सम्म यस कलेजमा अध्ययन गर्न आउँछन् । यहाँ सबै खालको सुविधाहरू र नयाँ प्रविधिबाट कक्षा सञ्चालन गरिरहेका छौं । पुराना तथा अनुभवी एवं राम्रा शिक्षकहरू कारण पनि हामी विद्यार्थीहरूलाई नीलकण्ड स्कुल र नीलकण्ठ कलेज नै पढ्न प्रोत्साहन गर्छौ ।
सरकारी कलेजमा नियमीत पढाई हुँदैन भनिन्छ, यस कलेजको अवस्था कस्तो छ ?
राम्रो प्रश्नको लागि धन्यवाद, यहाँको पठन पाठन नियमित छ । सामुदायिक उच्च मावि र सामुदायिक कलेज हाम्रो यहि पेरिफेरीसँगै सञ्चालनमा छ । जहाँसम्म लाग्छ जिल्ला कै एउटा उत्कृष्ठ विद्यालय, जिल्लाको एउटा ठूलो कलेजको रूपमा हाम्रो यो संस्था स्थापीत भएको छ । आज आएर पनि सरकारी कलेजमा नियमीत पढाई हुँदैन भन्ने मानसिकता बोकेर बस्यौं भने प्रगति सम्भव छैन । त्यसैले हामीले यस विचारलाई खण्डन गर्दै नियमित कक्षा सञ्चालन गर्दै आएका छौं र गरिरहने छौ ।
निम्न आर्थिक अवस्था भएका बाबु आमाका छोरा छोरी पढ्न आउने प्रायः सरकारी कलेज नै हो । नियमित पढाई भएन भने उनीहरूको भविष्य डामाडोल हुने मात्र नभई समग्र देशले नै ठूलो घाटा व्यहोर्नुपर्ने हुनसक्छ । त्यसैले अरू कुनै कलेजमा नियमित पठन पाठन हुँदैन भने आजैबाट सुरूवात गरौं भन्न चाहन्छु यद्यपी हाम्रो यस नीलकण्ठ क्याम्पसमा नियमीत पढाई हुँदै आएको छ र हुन्छ ।
विद्यार्थीहरू कत्तिको मेहनती छन् र वर्षमा कति प्रतिशत विद्यार्थी परिक्षामा उर्तिण हुन्छन् ?
विद्यार्थीहरू मेहनती छन्, फलस्वरूप गत वर्ष ९० प्रतिशत भन्दा बढी विद्यार्थीहरू उतिर्ण थिए । एक ÷दुई ओटा भाई बहिनीहरू छोडीएका थिए र ती छोडीएका भाई बहिनीहरू पनि पूरक परिक्षामा राम्रोसँग उर्तिण भईरहेका छन् । आगामी वर्षमा सतप्रतिशत उतिर्ण गराउने लक्ष्य लिएका छौं ।
निलकण्ठ उमावि विज्ञान विषयको सुरूवात कुन उद्देश्यले गरिएको थियो ?
धादिङबेसीमा अन्य कुनै विज्ञान कलेज नभएकाले धेरै टाढा र महंगा कलेजहरू धाएर विज्ञान पढ्नु पर्ने हाम्रो विद्यार्थीहरूको बाध्यता थियो । त्यसैले, यस समस्यालाई मध्यनजर गर्दै सजिलो ढङ्गबाट आफ्नै ठाउँमा विज्ञान शिक्षा दिनसके भोली उनीहरूको इन्जिनियरिङ् र डाक्टरी क्षेत्र यहिदेखि ढोका खुल्न सक्थ्यो भने गरीब तथा जेहेन्दार विद्यार्थीहरूले सस्तो सुल्कमा विज्ञान पढ्न पाउँछन् भन्ने उद्देश्यका साथ हामीले यस कलेजमा विज्ञान विषयको सुरूवात गरेका हौं ।
विद्यार्थीहरूको छनोट कसरी गर्नुहुन्छ ?
विद्यार्थीहरू अवसरबाट वञ्चित नहुन् भन्ने हाम्रो उद्देश्य छ । सकेसम्म धेरै विद्यार्थीलाई सजिलो हुने तरिकाले हामीले सामान्य प्रवेश परिक्षा सञ्चालन गरेर ,हदैसम्म तल्लो वर्गको विद्यार्थीहरूलाई पनि पहुँच पुगोस भन्ने धेयले कक्षाहरू सञ्चालन गरेका छौं । यो प्रभावकारी भैरहेको छ ।
विद्यार्थीहरूका लागि के–के सुविधाहरू छन् ?
विद्यार्थीहरूका लागि गरीब जेहेन्दार छात्रवृत्तिको व्यवस्था गरिएको छ । दलित, जनजाती तथा पिछडीएका वर्गका भाई बहिनीहरूलाई पनि विषेश छुटको व्यवस्था छ । सहिदका परिवारहरू भए विशेष छुट दिन्छौं । कति विद्यार्थी भाई बहिनीहरू पढ्न नसक्ने अवस्थामा हुनुहुन्छ भने हामीले व्यक्तिगत रूपमा सहयोग गरेर पनि पढाई रहेका छौं ।
शिक्षकहरूको छनोट कसरी गर्नुहुन्छ ? उहाँहरूको पढाउने शैली कस्तो छ ?
विद्यालय तहमा नेपाल सरकारको शिक्षा सेवा आयोग उत्र्तीण शिक्षकहरू हुनुहुन्छ भने उहाँहरूलाई शिक्षा सेवा आयोगले सिफारिस गरेको आधारमा नियुक्ति दिइन्छ । उच्च माध्यामीक तहमा अझ गरि विषेश विज्ञान विषयका शिक्षकहरू कलेजले नै अनुभवी र राम्रा शिक्षकहरू खोजेर राख्नु पर्ने अवस्था छ । नेपाल सरकारले दरबन्दिको सृजना गर्न सकिराखेको अवस्था छैन । थोरै आर्थिक सहयोग दिन्छ त्यो काफी हुँदैन त्यसैले निजी स्तरबाट चन्दा संकलन गरेर, सहयोग मागेर हामीले कक्षा सञ्चालन गर्न परिरहेको छ । यस तर्फ सरकारको ध्यानाकर्षण हुन अत्यन्त जरूरी छ ।
यस नीलकण्ठ क्याम्पसमा ल्याव तथा लाईवे्ररीको अवस्था कस्तो छ ?
विज्ञानको ल्याव अत्यन्तै राम्रो छ । हामीले धेरै मेहनत गरेर ल्याव निमार्ण गरेका हौं । धेरै सामाग्रीहरू जम्मा गरेका छौं । विद्यार्थीहरूको आधारमा कितावहरू एवं पाठ्य सामाग्रीहरू पनि पर्याप्त छन् । हामीले हाम्रो स्रोतले धानेसम्म अझै राम्रो बनाउन लागि रहेकाछौं र लागि रहनेछौं ।
तपाई यस कलेजलाई कस्तो अवस्थामा देख्न चाहनुहुन्छ ?
यसको भविष्य धेरै राम्रो छ । यसलाई यो भन्दा पनि बढि गुणस्तरिय बनाउन आवश्यक छ । २०३१ सालमा घर–घरमा गएर विद्यार्थी फकाएर ल्याएर यो विद्यालयको सुरूवात भएको थियो । त्यसपछि विस्तारै विद्यार्थी संख्या बढ्दै गयो । विद्यार्थीहरूको आवश्यकतालाई मध्यनजर गर्दै हामीले ५० सालबाट उच्च माध्यामीक शिक्षा सञ्चाललन ग¥यौं । २०५७ साल देखि यहि विद्यालयको हाता भित्र बहुमुखी क्याम्पस सञ्चालित छ । यसरी हामीले छोटो समयमा नै प्रगति गरेर विद्यार्थीको आवश्यकतालाई ध्यान दिँदै अगाडि बढी रहेकाछौं । शिशु कक्षा देखि लिएर मास्टर डिग्री सम्मको कक्षा एउटै हाता भित्र सञ्चालन भईरहेको छ । यो हाम्रो उल्लेख्य सफलता हो । मलाई लाग्छ नेपाल भरीमा शिशु कक्षा देखि मास्टर डिग्री सम्म एउटै कम्पाउण्ड भित्र सञ्चालन हुने धेरै कलेज छैनन् ।
अन्त्यमा विज्ञान प्रविधिलाई कसरी परिभाषित गर्नु हुन्छ ? तपाईको विचारमा यसको आवश्यकता ?
विज्ञान र प्रविधि जानेर कहिल्यै नसकिने विषय हो । जुनसुकै काम धन्दा र व्यवसाय गर्दा पनि यसको जरूरत पर्ने हुनाले जो कोहीलाई पनि विज्ञान र प्रविधिको विषयमा ज्ञान हुन अत्यन्त जरूरी छ ।
अब एउटा सामान्य भान्सामा रहने गृहिणीलाई अथार्त एउटा बुढी आमालाई पनि विज्ञान र प्रविधिको आवश्यकता परिसकेको जमाना हो । आज हामीले हरेक कुराहरू प्रविधिको आधारमा लिन, जान्न र सिक्नु आवश्यक छ । यदि सिक्न सकिएन भने हामी धेरै पछाडि पर्छौ । एक हिसाबले भन्नुपर्दा हामीले ढुङ्गे यूग कै कल्पना गर्नुपर्ने हुन्छ । त्यसैले नयाँ प्रविधिहरूको ज्ञान हासील गर्न जरूरी छ । त्यसमा पनि भोलीका कर्णधार हाम्रा भाई बहिनीहरूले नजानी नहुने भएकाले हामीले विज्ञान विषयलाई प्राथमिकता दिएर कक्षा सञ्चालन गरिरहेका छौं ।
Leave a Reply