‘कोभिड-१९’ को उपचारमा ‘प्लाज्मा थेरापी र रेम्डिसिभिर’ औषधिमै निर्भर

कोभिड-१९ निको भएका बिरामीको प्लाज्मा र रेम्डिसिभिर औषधि ।

पुस्कर थापा

काठमाडौं। सरकारले ‘कोभिड-१९’ को उपचारका लागि प्लाज्मा थेरापी र रेम्डिसिभिर औषधिको परीक्षण गर्ने अनुमति सीमित अस्पताललाई दिएको छ। यो सुविधा त्रिवि शिक्षण अस्पताल,  ग्राण्डी,  शुक्रराज ट्रपिकल तथा सरुवा सरुवा रोग अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीरसहित देशभरका १५ अस्पताललाई दिइएको छ ।

यसले कोभिड-१९ उपचारमा नयाँ आयाम थपिएको शुक्रराज ट्रपिकल तथा सरुवा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले बताए । ‘प्लाज्मा थेरापिले कोभिड-१९ बिरामीको रोगसँग लड्नसक्ने ‘रोगप्रतिरोधात्मक’ क्षमता अभिवृद्धि गर्ने हुँदा प्लाज्माको भण्डारण गर्ने तयारी भैरहेको छ, डा. सागरकुमार राजभण्डारीले रिभोसाइन्सलाई भने ।

चिकित्सकका अनुसार ‘प्लाज्मा भनेको रगतमा भएको सेतो र रातो रक्तकोषिका लाई अलग्याई निकालेको पहेलो रंगको तरल पदार्थ हो। यसलाई फिल्टर गरेर माइनस बीस डिग्रीमा लामो समय सम्म राख्न सकिन्छ। बिरामीको अवस्था हेरी रगतको ग्रुप मिलाएर विरामीलाई दिइने गरिन्छ ।’

‘प्लाज्मा थेरापीले ५० देखि ६० प्रतिशत कोभिड-१९ को बिरामीमा काम गर्ने,’ डा. राजभण्डारीले भने, ‘बिरामीको फोक्सोले काम कम गर्न थाल्छ, त्यसबेला अक्सिजनको आवश्यकता पर्दछ—त्यसबेला प्लाज्मा दिइने गरिन्छ ।’ उनका अनुसार थप प्लाज्मा दिइनुले विरामीको रोगसँग लड्ने क्षमता वृद्धि हुने गर्दछ ।

रेम्डिसिभिरको प्रयोग

रेम्डिसिभिर जसलाई भाइरस विरुद्दको औषधि भनिन्छ । त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभाग प्राध्यापक डा रजनी मल्लका अनुसार कोरोना भाईरस आरएनए भाईरस हो ।  आरएनए—जसलाई भाईरसको वंशाणुगत गुणको रुपमा  चिनिन्छ। यसले नयाँ ‘आरएनए स्ट्रान्ड बिल्डिंग ब्लक’को रूपमा काम गर्दछ।

जब भाईरस आरएनए बन्न थाल्छ रेम्डिसिभिर पनि आएर जोडिन्छ त्यसपछि भाइरस बन्न रोकिन्छ भन्ने परिकल्पना’ प्रा‍‍ मल्लले भनिन्, ‘रेम्डिसिभिरले आरएनए बन्न समाप्त गर्ने हुँदा प्रभावकारी हुन्छ ।’

उनका अनुसार यसको परिक्षण इबोला भाइरसको अध्ययन गर्दा भएको थियो । त्यसबेला यसले आरएनए-निर्भर ‘आरएनए पोलीमरेज’को कार्यलाई अवरुद्ध गरेको पाइएको थियो । फलस्वरूप आरएनए स्ट्रान्ड विस्तारमा पूर्णबिराम नै ल्यायो । जसले गर्दा मानव शरीरमा भाइरल भार कम भई बिरामी थप सिकिस्त हुनबाट जोगाउने प्राडा मल्लले बताइन्।

शुक्रराज ट्रपिकल तथा सरुवा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमारका अनुसार रेम्डेसिभिरको प्रयोग पनि प्लाज्मा दिने अवस्थामा पुगेपछि प्रयोग गरिन्छ । विरामीलाई अधिक अक्सिजनको आवश्यक पर्न गएमा रेम्डिसिभिर औषधि दिइन्छ। यस्ता औषधिको प्रयोग अगावै बिरामीको सहमति लिने गरिन्छ ।

सुरुमा दुईसय एमजी ट्याब्लेट र एक सय एमजी ‘इंट्रा भेनस इंजेक्शन’ प्रति दिन दिइने चिकित्सहरुको भनाइ छ । यस्ता औषधि बिरामीको अवस्था अनुसार रेम्डिसिभिर डोजको निर्धारण गरिने र सुधार नआएसम्म सम्म दिइने बताइन्छ।

चिकित्सकहरुका अनुसार ‘कोभिड-१९’ भाइरस लागेका बिरामीहरूलाई रेम्डिसिभिर औषधि प्रयोग भएको ११ निको भएका छन।  सुरुमा रेम्डिसिभिर ७ हजार ६ सय मा पर्ने गरेकोमा अहिले यसको मुल्य मुल्यमा घटाइएको छ।

अझै अनुसन्धान

रेम्डिसिभिरले तीव्र श्वासमा संक्रमण हुने कोरोनाभाइरस-२ को ‘अन्तिम उपचार’ हुन सक्ने तथ्यमा अजैपनि विश्वका वैज्ञानिकहरु अनुसन्धान गरिरहेका छन् । गिलियड कम्पनिले जनवरी २०२० मा रेम्डिसिभिरको प्रयोगशालामा परीक्षण सुरु गरेका थिए । उसले आफ्नो अनुसन्धान जनावरका मोडलहरू प्रयोग गर्दै सार्स र मर्स विरूद्ध सक्रिय भएको पाइएको थियो ।

रेम्डिसिभिर पनि जुन २००९ मा इबोलाको उपचारका लागि तयार पारिएको थियो । अहिले केही कोरोना भाइरस संक्रममितलाई निको पार्न सहयोगी भएको छ।

त्यस्तै, रेम्डिसिभिर औषधिले चीनमा खासै काम गरेको थिएन । तर संयुक्त राज्य अमेरिका, युरोप, मध्यपूर्व र दक्षिण एशियामा भने कोरोनाका बिरामीहरूलाई निको  पारेको पाइएपछि यसको प्रयोग गर्न थालिएको थियो ।

विश्वमै कोभिड-१९ का बिरूद्धको उपचारमा प्लाज्मा थेरापी र रेम्डिसिभिरको प्रयोगमा अनुसन्धान भैरहेका छन् । रेम्डिसिभिरको प्रभावकारीतामा नेपालमा पनि अनुसन्धान भैरहेको नेपाल  स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ ।