नेपालमै वायुमण्डलीय उच्चस्तरीय अनुसन्धान

–लक्ष्मण डंगोल

नेपालमा हिमालय क्षेत्रको जटिल भौगोलिक वायुमण्डलीय अवस्थितिको वैज्ञानिक अनुसन्धान भैरहेको छ । करिब डेढ दशकको यात्रापछि नेपाली अनुसन्धानकर्मीहरुको पहलमा सो क्षेत्रमा वैज्ञानिक अनुसन्धान गर्न सम्भव भएको हो ।

बढ्दो शहरीकरण, वातावरणीय प्रदूषण र हवाइ दुर्घटना जस्ता क्षेत्रमा नेपालमै अनुसन्धान अगाडि बढाउनु त्यो आफैमा महत्वपूर्ण ठानिएको छ । त्यस्तै, शहरी क्षेत्रको विकासका लागि वातावरणीय सुरक्षा, वायुप्रदूषण नियन्त्रण र स्रोत व्यवस्थान कसरी गर्ने भन्ने चासोको विषय बनिरहेको बेला त्यस क्षेत्रमा काम गर्न अनुसन्धानकर्मीहरु तल्लिन छन् ।

सीमित स्रोत साधनले नेपालमै जनशक्ति उत्पादन र त्यसको व्यवस्थापन जटिल काम हो । त्यतिमात्र कहाँ हो र?  भविष्यमा वायुमण्डलीय प्रदूषण विचार गरी नयाँ शहर विकास गर्ने कुरामा अनुसन्धान गर्न कति सम्भव छ ? तर यस्ता अनुसन्धानले नयाँ शहर विकासका लागि वातावरणीय दृष्टिले कसरी डिजाइन गर्ने, वैकल्पिक उर्जाको प्रयोग कसरी गर्ने भन्ने विषयमा वैज्ञानिक अनुसन्धानले टेवा पुग्ने बुझिन्छ ।

विगत ढेड दशकदेखि यस्ता अनुसन्धानको अगुवाइ गर्दैछन्, त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रिय विभाग अर्न्तगत नेशनल एटमसफेरीक रिसोर्स एण्ड इन्भायारोमेन्टल रिसर्च ल्यावटोरी‚ न्यारेलका प्राडा रामप्रसाद रेग्मी । प्रा. रेग्मीको नेतृत्वमा चालिसभन्दा माथि अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलमा अनुसन्धानको सोध प्रकाशित गरिसकेका छन् । त्योसँगै न्यारेल प्रयोगशाला भवन निमार्ण चरण छन् । प्रा. रेग्मी भन्छन्, ‘हाम्रा सोधकर्ताहरुले विभिन्न समयमा गरेको अनुसन्धानले हाम्रो परिचय फेरिएको छ। हाम्रो अनुसन्धान राष्ट्रलाई काम लाग्ने भएको छ।’

प्राडा रामप्रसाद रेग्मी

अहिले उनीसँग पीएचडी गर्ने तीन जना विद्यार्थी छन् । त्रिविको अनुवन्धित नियमको परिधिमा प्रा. रेग्मी नपर्दा पोहर सालदेखि मात्र उनले विद्यार्थीलाई विद्यावारिधि गराउन पाएको हुन् । अहिले त्रिवि भौतिकशास्त्रका स्नातकत्तोरमा वायुमण्डलीय भौतिकशास्त्रमा अध्ययनरत १५ जना सोही क्षेत्रमा सोधपत्र लेख्दैछन्। त्यस्तै,  छुट्टै २५ जनाले मौसम प्रक्षेपण र तथा वायु प्रदूषणको क्षेत्रमा लघु अनुसन्धान गरिरहेका छन् । उनीहरुले वायुमण्डलीय गुणस्तरमा काम गरिरहेका छन् ।

पछिल्ला समयमा न्यारेलले नेपालमा हुने हवाई दुर्घटना कारण खोज्ने अनुसन्धान पनि गर्‍यो । त्यस्ता अनुसन्धानले भविष्यमा जनधन रोक्न सकिने उपायको खोजि गरेको प्रा. रेग्मी बताउँछन् । त्योसँगै ‘मौसम परिवर्तन र त्यसको अनुकुलन क्षेत्र,  विकिरण जोखिम मूल्यांकन र असर न्यूनीकरणमा काम गरिसकेको,’ प्रा. रेग्मी भन्छन्, ‘रेडियोधर्मी आइसोटप पहिचान,  न्यूनीकरण र स्रोत पुनःनिर्माण रिकन्स्ट्रकसन र मौसम पूवानुमान र विकिरणको क्षेत्रमासमेत काम गरेको दक्षता छ।’

प्रा. रेग्मीका अनुसार नेपालमा अझै पनि निश्चित स्थान किटेर पानी पर्ने सम्भावना भन्न सकिरहेका छैन । त्यस्तो समस्या देखिएपछि सोध गर्न सुरुवात गरिएको हो । प्रक्षेपणलाई कसरी विश्वाससिलो पार्ने भन्ने उद्देश्यले उनका विद्यार्थीहरुले सोध गरिरहेका छन् ।

नेपाललै जटिल विषयमा अनुसान्धान अगाडि कसरी सम्भव (?) भनेर जान्न न्यारेलको पृष्ठभूमीमा जान पर्ने हुन्छ ।

उनका विद्यार्थीले तराई क्षेत्र र भारतबाट आउने वायुमण्डलीय प्रदुषण कसरी स्थान्तरण तथा त्यसको असर कस्तो हुन्छ भन्ने एकिन गर्न अनुसन्धान गरिरहेका छन् । ल्यावटरीमा ‘माइक्रो क्लाइमेट म्यापिङ् एण्ड एप्पिकेशन’मा काम भैरहेको छ ।

न्यारेल पृष्ठभूमी

सन् २०६४ मा  त्रिभूवन विश्वविद्यालय केन्द्रीय भौतिकशास्त्र विभाग कीर्तिपुर नयाँ विषय थपियो । त्यो थियो वायुमण्डलीय भौतिकशास्त्र । त्यसबेला विद्यार्थीहरुलाई अनुसन्धान गर्ने अवस्था नभएपछि न्यारेलको जन्म भयो । स्रोध लेख्ने तथा लघु-अनुसन्धान गर्ने वातावरण बनाउँदै आजको अवस्थामा आइपुगेको भन्छन्, न्यारेलका प्राडा रामप्रसाद रेग्मी ।

न्यारेल प्रयोगशालाले थप पूर्णता भने, जव प्राध्यापक रेग्मीको स्वीडेनमा अनुसन्धानरत मित्रले पावर सर्भरको सेट सहयोग गरेपछि भएको रहेछ । स्वीडेनको ‘डिफेन्स रिर्सच इन्स्च्टिट्यूट’बाट सर्भर सहयोग भएपछि बल्ल न्यारेल बामे सर्ने अवस्था देखियो ।

विगत स्मरण गर्दै प्रा. रेग्मी भन्छन्, ‘सर्भर आइसकेपछि पनि लोडसेडिङको मार पर्‍यो । त्यसपछि  त्रिविमार्फत् अविछिन्न रुपमा चल्ने दुई किलो वाटको शौर्य प्यानलसहित शक्ति संचय गर्ने व्याट्रिको व्यवस्था गरियो । सुरुमा १० लाख रुपैया बजेट आएको थियो । पछि केहीवर्षसम्म नेपाल सरकारबाट सहयोग जारी रह्यो।’

पछि सहयोग आउन छाडे । काम गर्ने वातावरण विग्रदै गयो । पछि अन्य स्रोत पहिचान गर्ने र प्रस्ताव राखेर अनुसन्धानलाई अगाडि बढाउने काम भयो । प्रा. रेग्मी भन्छन्, ‘प्रयोगशालामा हुने सञ्चालन खर्च कसैले पनि प्रदान गरेको छैन । आएको बजेट अनुसन्धान गर्न र फिल्डमा जान पनि धौ-धौ पर्ने हुन्छ । मेशिनरी सामान किन्न खर्च रकम सधै अपुग हुन्छ । विद्यार्थीको गाँस काटेर अनुसन्धान अगाडि बढाइएको छ ।’

धरान-विराटनगर क्षेत्रको वातावरणीय मूल्यांकन गर्दै

पुल्चोक स्थित वातावरण विभागसँगको सहकार्यमा न्यारेलले धरान-विराटनगरको वातावरणीय मूल्यांकन गर्दै छन् । सोहीअनुसार विद्यार्थीहरु फिल्डमा जानु पूर्व उपकरणको प्रयोगात्मक विधिका लागि परिक्षण जडान गर्दै थिए ।

‘कोभिड१९’ले लकडाउनले प्रभावितले रोकिएको फिल्डमा गएर गर्ने अवलोकन अनुसन्धानलाई तारतम्य मिलाउँदै विर्द्यार्थीहरु

यो परियोजनाका लागि विभागले सामान लैजाने र विद्यार्थीलाई जाते-जाते खर्च दिएको व्यवस्था गरिएको छ । रकम प्रयाप्त नभएपनि काम त गर्नै पर्‍यो प्रा रेग्मी भन्छन् ।

जनशक्तिलाई स्रोतसाधन पुग्दैन । अपुग सामग्रीकालागि रकम माग गरिएअनुसार काम हुन सकेको छैन । नेपालमा रिसर्चको कामना गर्नु जटिलता छ । तैपनि जसोतसो भूकम्पपछि ३२ प्रोसेसर भएको नयाँ सर्भर न्यारेलमा जडान गरिएको छ ।

विदेशी विश्वविद्यालयसँग सहकार्य

विदेशी विश्वविद्यालयसँग सहकार्य गर्ने अवस्था कतिको छ? भन्ने जिज्ञासामा प्राध्यापक रेग्मी भन्छन्, ‘अमेरिकी प्यास्याफिक नर्थवेस्ट ल्यावटरीसँग मिलेर उपत्यकाको वायुमण्डलीय धुलाका कणको मापन गरिएको थियो । त्यतीखेर यहाँ संकलित धुलाको कण सो ल्यावटरीले आफ्नै रकममा अमेरिका लगेर प्रयोगशाला परिक्षण गरिएको थियो । त्यस्ता धुलाको कणको ‘आइसोटप’ निकाल्ने र ती धुलाको कणको उत्पत्ति कहाँ हो भनेर पत्त लगाउने काम गरेको थियो। यो काम सात वर्ष अघि कुरा थियो ।

‘विश्वविद्यालयले पनि अनुसन्धानलाई आवश्यक रिसोर्स खोज्ने काम गर्दैन । कतिपय अवस्थामा गर्न खोजिएको देखिन्छ । त्यसलाई महशुस हुने गरेर काम भएको छैन । तर विश्वविद्यालयका सम्वन्धित निकायले अनुसन्धानरत संस्थालाई कसरी सहयोग गर्न सकिन्छ ? भन्ने नजिर बस्न सकेको छैन । यस्तो हुने हो भने नेपालका अनुसन्धानशाला पनि विदेशीसरह काम गर्ने वातावरण बन्ने हुन्छ, ’ प्रा रेग्मी भन्छन् ।

‘लौन हजुर गर्दिन पर्यो भन्नुपर्दछ,’ उनी सुनाउँछन् ।  न्यारेललाई उपकरण किन्न आएको रकम पनि एक पटक विभागले रकमान्तर गरी पाउँ भनेर डीन कार्यालयमा पत्र पठाएको उनीसँग नमिठो अनुभव छ । त्यस्ता अनुभवको साक्षी वस्दै न्यारेलले आफ्नो भवन ठड्याउने कोशिस गर्दैछ, बल्खुमा ।  

प्रयोगशाला भवन निर्माण बल्खु

त्रिविले बल्खु हाइटमा १० रोपनी जग्गा छुट्याइदिएर जग्गा छुट्याइसकेको अवस्था थियो । छ वर्ष अगावै शिक्षा मन्त्रालयले भौतिक संरचनाको लागि २ करोड रकम दिइसकेको थियो । मौसम तथा जलवायु विज्ञान विभागले न्यारेलसँग ‘नलेज डेभलपमेन्ट’ गर्ने भनेर सौम्झौता गरिएको थियो । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले वायु उर्जाको लागि अनुसन्धान गर्ने प्रयोगशाला न्यारेलमा बनाइने भनियो ।

त्यस्तै, हवाई दुर्घटना बढिरहेको सन्दर्भमा विश्वविद्यालय मार्फत् न्यारेलमा अनुसन्धानको लागि अनुरोध आउन थालेपछि वातावरण विभागले नेपाल सरकारको ‘कन्सल्टिङ रिसर्च ल्यावटोरी’को रुपमा उपयुक्त हुन्छ भन्ने सोचले जग्गा दिएको थियो । ‘अहिले न्यारेल भवन बन्ने स्थानबाट उपत्यकाको ३६० डिग्रीको भ्यू लिन सकिन्छ । भविष्यमा रेडार प्रविधि जडान गरी उपत्यका पुरै निगरानी गर्न सकियोस भनेर स्थान छनोट गरिएको,’ प्रा रामप्रसाद रेग्मी बताउँछन् ।

‘तर तत्काल काम हुने अवस्था बनेन । रकम छुट्याइएको चार वर्ष पछि बल्ल सुरु भयो । त्यो रकमले एक ढलानसम्मका लागि थियो । ढेड वर्ष अगाडि सुरु गरिएको काम अझै चालु छ । १ करोड अझै वाँकी छ, कोभिड-१९को लकडाउनले काम रोकिएको अवस्था थियो । अव त्यो पुनः टेन्डर हुँदैछ,  भन्ने र गर्ने अवस्था भिन्नता हुँदोरहेछ,’ प्रा रेग्मी भन्छन् ।

सुरुमा सम्भव छ भन्ने ठानियो । तर आजकल उनलाई सधै व्यक्तिले गर्न सम्भव हुँदैन अव संस्थागत रुपमा अगाडि बढ्न पर्दछ भन्ने महशुस भैरहेको रहेछ । अव बजेट थप भएर आयो भने दुई ढलान हुन्छ र सम्पूर्ण काम भैसकेपछि काम गर्ने वातावरण वन्नेमा प्रा. रेग्मी आशावादी छन् ।

प्रा. रेग्मीका अनुसार ‘साँढे तीन तला बनाउने भवनको डिजाइन छ । यो पूर्ण बनेमा नेपालमै पहिलो वायुको गुणस्तर मापन गर्ने आधारभूत प्रयोगशाला हुनेछ । वायु सम्वन्धित सम्पूर्ण अनुसन्धान गर्ने प्रयोगशाला बन्छ । गणितीय मोडलिङमा आघारित मौसम प्रक्षेपण गर्ने प्रयोगशाला वन्छ ।’ त्यस्तै, रिमोट सेन्सिङ, जलवायु परिवर्तन र शहरी विकास अगावै गर्नुपर्ने वायुमण्डलीय अवस्थाहरुको जानकारी दिने प्रयोगशाला बन्नेछ ।  

तर अहिले त्रिवि भौतिकशास्त्र केन्द्रिय विभागले छुट्याइदिएको क्षेत्रमा न्यारेलसँग प्रयाप्त सामग्री राख्ने अवस्था छैन । ‘सोनिक डिटेक्सन एण्ड र्‍यान्जिङ उपकरण जसले दश-दश मिटर फरकमा करिब एक किलो मिटरसम्मको वायुमण्डलीय अवस्थिति बताउने गर्दछ । त्यस्ता उपकरणले वायुको गति, तापमान, वायुको अवरोध नाप्न सकिन्छ । त्यस्तै,  रेडियो एक्कस्टिक साउण्डिङ स्टिम उपकरण छन् । त्यस उपकरणले वायुमण्डलको दश-दश मिटरको स्क्यान गरेर तापक्रमको विस्तृत विवरण दिने गर्दछ ।

न्यारेलसँग ‘हाइभोल्यूम स्याम्पलर’ जसले हावामा तैरिएका धुलाका कण मापन गर्ने उपकरण छन् । ग्यासेस स्याम्पिलङ प्रणाली र एक्स व्याण्ड राडार छन् । यी सबै नयाँ भवन बनाइसकेपछि मात्र प्रयोगमा ल्याउन सम्भव हुन्छ । यस्ता उपकरणको प्रयोगले नेपालमै मानवस्रोत विकास गर्ने सकिन्छ । पूर्ण प्रयोगशालाको भवनले नभएर सवै अडकिएर बसेको छ ।

सरकारी सहयोग

‘विश्वविद्यालयले संस्थागत रुपमा सरकारसँग प्रस्ताव गरिदिने अवस्था भयो भने थप अनुसन्धानलाई सरकारले सहयोग गर्ने अवस्था हामीले बनाइसक्यौं,’ प्रा. रेग्मी भन्छन्,  ‘हामीले गरेको कामको मूल्यांकन गरेर वातावरण विभागले न्यारेललाई अनुसन्धानको प्रस्ताव गरेको हामीले वुझैका छौं ।

विश्वविद्यालयको नेतृत्वले थोरै मात्र चासो लिइदिने हो भने न्यारेलाई काम गर्न सहज हुने देखिन्छ । किनभने, योजना आयोगको १५ योजनाको आधार पत्रमा अन्तरसम्वन्धित विषय क्षेत्रअन्तर्गत त्रिवि भौतिकशास्त्र केन्दीय विभाग अर्न्तगतको न्यारेल प्रयोगशाला र नेपाल सरकार अर्न्तगतको केन्द्रिय वातावरण विभागको रिफरेन्स प्रयोगशालाहरुको स्तरउन्नती गरी प्रभावकारी रुपमा सञ्चालन गर्नुका साथै प्रदेश स्तरीय वातावरण परिक्षण प्रयोगशालाहरु स्थापना गरिने भनिसकेको छ ।

‘विदेशतिर प्राध्यापकहरुलाई अनुसन्धान गर्न छुट्टै किसिमको प्रयोगशालाहरु हुन्छ, त्यस्ता प्रयोगशाला विश्वविद्यालय वा सरकारको तर्फबाट स्थापना गरिएको हुन्छ । न्यारेलपनि त्यस्तै हुनेछ । यद्यपी नेपालमा प्राध्यापकले नेतृत्व गरेको राम्रा प्रयोगशाला छैनन् । यस्ता प्रयोगशालाले राज्यलाई आवश्यक परेको क्षेत्रमा अनुसन्धान गरि सहयोग गर्न सक्नेछन् । सवै विभागहरुले यस्ता किसिमको प्रयोगशाला निर्माण गरिसेकपछि मात्र राष्ट्रिय प्रयोगशाला निर्माण गर्न सकिन्छ । तर नेपालमा पहिले राष्ट्रिय प्रयोगशाला बनाइयो भन्दिने पछि त्यसमा कस्ता मानवस्रोत साधन कहाँबाट पूर्ति गर्ने र सञ्चालन कसरी हुने भन्ने थाहा नहुने अवस्था छ,’ प्रा. रेग्मी भन्छन्,  ‘त्यसकारण प्रभावकारीता हुन सकेन ।’

वैज्ञानिक लेखोट प्रकाशन

काठमाण्डौ उपत्यकामा हावाको बहाव जान्न जाडो अन्त्यतिरको वायुको बल प्रणालीमा अनुसन्धान गरिएको थियो । त्यस नतिजाबाट थानकोट– मुट्खु-भञ्याङ र बाग्मतिको तिरै-तिरै छिर्ने र एअरपोर्टतिर मिलेर बनेपा-सुनकोशी उपत्यकातिर फैलिने देखिएको थियो । यस अनुसन्धानलाई अमेरिकी केही विश्वविद्यालयका पाठ्यक्रममा समावेश गरिएको छ । प्रा. रेग्मी भन्छन्, ‘त्यस बेला काठमाडौंको वायुमा धुलाका कण वहन गर्ने क्षमता अत्यन्तै खराव देखिएको थियो ।’

उनको अर्को अध्ययन, ‘काठमाडौंमा हुने वायु प्रदुषण उत्सर्जनको गतिशिलता कसरी हुन्छ भन्नेमा छ । यसले कहाँ कसरी असर गर्ने र रसायनिक परिवर्तन कस्तो हुन सक्ने कुरामा स्रोध प्रकाशित छन् । त्यस्तै,  अर्को अनुसन्धान उपत्यकाको वायु प्रदूषणले मानिसका स्वास्थ्यमा कस्तो असर पर्दछ भन्ने गरिएको छ। ‘त्यस वैज्ञानिक लेखलाई जापानबाट ‘उत्कृष्ट लेखोट’ भनेर पुरस्कार गरिएको थियो । त्यस्तै,  जर्नल अफ जियो फिजिकल रिसर्च एण्ड एटमसफेरमा प्रकाशित भएको छ । त्यस लेखलाई नेचरले सूचिकृत (इन्डेक्सिङ) गरेको प्रा. रेग्मी बताउँछन् ।

त्यस अनुसन्धानले उपत्यकाको वायु प्रदुषणको सम्भाव्यता (पोटेनशियल) कति हो । कतिसम्म उत्सर्जन हुन्छ। त्यसले कुनैपनि क्षेत्रमा वायु प्रदुषण कति असरदार वायु प्रदुषणमा विकास हुन्छ भन्ने नयाँ तरिका प्रस्ताव गरिएको प्रा. रेग्मी बताउँछन् । त्यसलाई जेजिआर जर्नलले प्रकाशन गरेको थियो ।

त्यस्तै, अर्घाखाँचीमा भएको हवाइ दुर्घटनामा नयाँ कुरा पत्ता लगाएको प्रा रेग्मी बताउँछन् ।(‘हिमालयन क्षेत्रको चापीय विद्युतिय चार्जलाई लामो दुरीको गुरुत्वार्षण शक्तिको प्रभाव जुन पहिले कायम थिएन भनिन्थ्यो ।)

न्यारेल प्रयोगशालमा मार्फत् काठमाडौं अन्तराष्ट्रिय उडान क्षेत्रमा भएको युसवाङ्ला दुर्घटनमा पनि अनुसन्धान गरेका थिए । कम्प्यूटर मोडलिङबाट गणना गर्दा त्यतिखेर कम उचाइमा हुने वायुको अस्थिरता (टर्वुलेन्स) देखियो। त्यस सोध ‘वेदर एण्ड फोरकास्टिङ’ भन्ने अमेरिकन मेट्रोलोजिकल सोसाइटीको जर्नलमा प्रकाशित छन् । त्यसबेला विश्व मौसम संगठनले आफ्नो वुलेटिनमा पनि समावेश गरेको प्रा. रेग्मी बताउँछन् । एशिया प्यासेफिक जर्नल अफ एटमसफेरिक साइन्समा साना हावाइजहाजहरु दुर्घटना हुनुका कारण हिमाली वेभहरु उत्कर्षका बेला  हुने सोध प्रकाशित छन् । त्यसअनुसार पश्चिम र दक्षिण भेगमा राती ६ बजेदेखि विहानी ८ बजेसम्म ‘माउण्टेन वेभ एक्साइमेन्ट’ हुने देखिएको छ ।

‘नेपालमा गरिएको अनुसन्धान विदेशी वैज्ञानिकहरुले कमै गरेका छन्,’ प्रा रेग्मी भन्छन्, ‘यसलाई विश्वका अन्य वैज्ञानिकहरुले पनि मान्यता दिएको छ । नेपालमा पनि उच्च किसिमको वैज्ञानिक काम हुँदैन भन्ने भ्रम चिरिएको छ ।’

रोजगारी सिर्जना

वायुमण्डलीय भौतिकशास्त्र अध्ययन गरेकालाई स्वदेशमै रोजगारी र अनुसन्धान गराउन सकिन्छ । तर यहाँबाट उत्पादन भएका जनशक्ति कसरी खपत गर्ने भन्ने योजना पाइदैन । मौसम तथा जलवायु विभागलाई चाहिने आवश्यक जनशक्ति लोकसेवा आयोगले परिक्षा लिने गरि लड्न पाउने व्यवस्था गर्न सकिन्छ ।

‘वायुमण्डलीय भौतिकशास्त्र अध्ययन गरेका विद्यार्थीले गणितीय मोडलिङमा विशेषज्ञता हासिल गरेका हुन्छन् । त्यस्ता विद्यार्थीले वातावरण विभागमा जान पाउने व्यवस्था हुनुपर्दछ भन्छन्, ’प्रा. रेग्मी, ‘तर त्यसमा वातावरण विज्ञान अध्ययन गरेका विद्यार्थीमात्र लोकसेवा तयारी गरेर जान पाउने व्यवस्था गरिएको छ ।’

त्यस्तै, विपत व्यवस्थापन अर्न्तगत वातावरणीय सुरक्षा, नयाँ शहरी विकासमा त्यहाँको मौसमी तथा जलवायु परिवर्तनले पार्ने अवस्थितिका विषयमा विद्यार्थीहरुले भूमिका खेल्न सक्छन् । नीति निर्माणमा काम गर्न सक्छन् । तर त्यस्तो अवसर नेपालमा पाइदैन ।

‘भौतिकशास्त्र विद्यार्थी भनेका एटम बम बनाउँछन् वा आइन्साटइन हुन्छन् भन्ने किसिमको भूमीका वाँधदिदा रोजगारीको अवसर गुमेको देखिन्छ । तर वातावरण विज्ञान र वायुमण्डलीय भौतिकशास्त्र भनेको एक आपसमा सम्वन्धित विषय हुन्,’ प्रा. रेग्मी भन्छन्, ‘नेपालमा उत्पादन भएका अधिकांश विद्यार्थी अमेरिकी विश्वविद्यालयमा कार्यरत छन् । एक जना अमेरिकी अन्तरिक्ष संस्था नासामा कार्यरत छन् ।’

प्राध्यापक रेग्मीलाई ज्ञानको उत्पादन तथा अनुसन्धान गर्ने थलो विश्वविद्यालय भन्ने लाग्दछ । कुनै अनुसन्धान केन्द्र स्थापना गर्दा मन्दिर बनाएको जस्तो हुँदोरहेछ भन्छन्, ‘किनभने अनुसन्धानमा रकम आंकलन गरेको भन्दा बढीनै लाग्ने हुन्छ । जति विशाल मन्दिर बनाउन खोज्यो उतिनै रकम चाहिने हुदोरहेछ ।’

न्यारेललाई वेला-वेलामा विश्वविद्यालय अनुदान आयोग(युजिसी)ले अनुसन्धान सहायता दिने गरेको छ । प्राध्यापक रेग्मीसँग पीएचडी गर्दै गरेका विद्यार्थी अनिलकुमार खड्काले तराई क्षेत्रबाट आएको वायु प्रदुषण हिमालय क्षेत्रमा थिग्रिएर विभिन्न अनुसन्धानले देखाएपछि, त्यसमा पहाडि भू-वनोटको कस्तो भूमिका हुन्छ भनेर अनुसन्धान गर्दैछन् । खड्कालाई युजीसीले जम्मा साँढे चार लाख रुपैया दिएको रहेछ । त्यो रकम खासै नपुग्ने उनको तर्क छ ।

अनिलकुमार खड्का, पीएचडी सोधार्थी

त्यस्तै वायुमण्डलीय भौतिकशास्त्रमा अध्ययन गरेकी त्रिवि भैतिकशास्त्र केन्द्रीय विभागमा पीएचडी गर्दै गरेकी संगिता महर्जन नेपालमा अनुसन्धान गर्दा नीतिगत रुपमा त्रुटी भएकोले छिटो-छरितो नहुँने बताउँछिन्। उनी भन्छिन्, ‘‘पहिले विद्यार्थीको संख्या कम हुन्थें, अहिले अवस्था फैरिएको छ । प्रयोगशालामा हुने दैनिक मौसमी प्रक्षेपण रोक्न नमिल्दा धेरै जना विद्यार्थीले एकै पटक प्रयोगशालामा काम गर्ने अवस्था छैन । कम्प्यूटर चलाउन कुरेर बस्न पर्ने बाध्यता छ । इन्टरनेट पनि अविछिन्न रुपमा आएको हुँदैन । सीमित रुपमा काम गर्नु पर्ने भएकोले सरकार वा विश्वविद्यालयले थप सहयोगको खाँचो छ ।’

संगिता महर्जन, पीएचडी सोधार्थी

महर्जनसँग सहमत जनाउँदै न्यारेलका प्रा. रामप्रसाद रेग्मी थप्छन्, ‘केही रकम नियमित भैदिएमा सहज हुन्थ्यो । तर ‘सेल्फ सस्टेन ल्यावटरी’ कसरी विकास गर्ने भन्ने विषयमा त्रिविसँग छलफल भैहेको छ ।’