‘विज्ञान, प्रविधि र नवप्रवर्तन्’ केन्द्रित अनुसन्धान गरेर नास्टलाई थप उचाईमा लैजान्छौं

सङ्ग्यो विश्वविद्यालयओसाका जापानबाट वातावरणीय विकास इन्जिनियरिङमा विद्यावारिधि गरेका डा. सुनिलबाबु श्रेष्ठ अहिले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का नवौं उपकुलपतिको रुपमा कार्यरत छन् । डा. श्रेष्ठसँग पुल्चोक क्याम्पस, युएनडीपी र राष्ट्रिय योजना आयोगलगायत आधा दर्जन संस्थामा काम गरेको अनुभव छ । योजना आयोगमा छँदा श्रेष्ठले शहरी विकास र विज्ञान प्रविधिको क्षेत्रमा काम गरिसकेका छन् । ‘वान सिटी वान आइडेनटिटि’, ‘मेगा सिटी’, ‘स्मार्ट सिटी’, ‘फुड ग्रिन सिटी’ र ‘हिमाली शहर’जस्ता अवधारणा १४ औं योजनामा समावेश गरेको श्रेष्ठ बताउँछन् । सन्दर्भमा, वितेका करिव चार दशक अवधिमा नास्टले गरेको प्रगति र थप योजनाको सेरोफेरोमा रिभोसाइन्सका सम्पादक लक्ष्मण डंगोलले उपकुलपति श्रेष्ठसँग गरेको कुराकानीको सम्पादीत अंशः

योजना बनाउँदा र नास्टमा कार्यान्वयन गर्दा कस्ताखाले चुनौतीहरुको सामना गर्दै हुनुहुन्छ ?

योजना र कार्यान्वयन गर्ने काम फरक हुन्छ । योजना आयोगले ‘प्लानिङ’ गरेको मन्त्रालय र विभागले लागू गर्ने काम गर्छन् । नास्ट एउटा कार्यान्वयन गर्ने स्थान हो । यहाँ आएपछि तीन वटा चुनौती देखियो । ती भनेका कर्मचारीको समस्या, लगानी बढाउने र सहकार्य गर्ने हुन् । त्यसलाई व्यवस्थापन गरेर अगाडि बढ्ने चुनौती छ ।

सुरुदेखि नास्टमा कर्मचारी व्यवस्थापनमा समस्या थियो, कर्मचारीको समस्या समाधानमा सरकारको चासो कतिको पाउनुभयो ?

कर्मचारीको समस्या हल गर्न मैले तीन वर्ष कोशिस गर्नुपर्यो । हामीले ऐन सुधारका लागि शिक्षा, विज्ञान प्रविधि मन्त्रालय र लोकसेवा आयोगमा पहल गर्‍यौं । त्यसले सम्पूर्ण चरण पार गरेर अहिले पुनः नास्टमा आइपुगेको छ । वास्तवमा कर्मचारीको लामो समय वृत्तिविकास रोकिन हुदैन्थ्यो । कर्मचारीका माग पनि त्यसैमा केन्द्रित थिए । त्यो अव समाधान हुँदैछ । करारका समस्या पनि अव सम्वोधन हुँदैछ । त्यस्तै, सेवा आयोगको अध्यक्ष थिएन । नास्ट सेवा आयोगका अध्यक्ष पनि नियुक्त भएका छन् । अव सेवा आयोगले आफ्नो काम सुरु गर्नेछ । नयाँ रोजगारीको प्रक्रिया अगाडि बढ्नेछ । यसअर्थमा सरकारले कर्मचारीको समस्या सकारात्मक रुपमा लिएको मैले बुझेको छु ।

नास्ट स्थापना भएको करिब चार दशक पुग्नै लागेको छ, यस अविधिमा नास्टले तय गरेको लक्ष्य चुम्न कति सफल भयो ?

पहिलो, विस ०३९ सालमा नास्ट स्थापना गर्दा भाडाको घरमा थियो । अहिले नास्टसँग प्रशासन, विज्ञान र प्रविधि संकायका आफ्नै तीन वटा भवन छन् । विज्ञहरु पनि प्रशस्त छन् । मानव स्रोतसाधन पनि बढ्दो छ । विगतमा कर्मचारीको वृत्तिविकास रोकिरहेका कारणले दुई सय दरवन्दीमा सयभन्दा कमले काम गर्नु परिरहेको अवस्था छ । त्यसखाले समस्याले नास्टले प्रगति गर्न सकेको देखिदैन ।

दोस्रो, सोचे जसरी काम गर्न विना लगानी सम्भव हुँदैन । कतिपय ‍शिर्षकमा आएका रकम अझै सुधार गर्न पर्ने अवस्था छ । समाजलाई चाहेको जसरी काम गर्न थप लगानी गर्नुपर्दछ । तेस्रो, विज्ञानसँगसम्वन्धित संस्थाहरुसँग सहकार्यको खाँचो छ ।

फरक प्रसँग, राजतन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दा नास्टलाई प्राथमिकता राख्ने काम कुन सरकारको बढी देखिन्छ ?

सरकारले अहिले विज्ञान तथा प्रविधिको आवश्यकता महशुस गरेको छ । मानवस्रोत साधन, प्रयोगशालाको स्तरउन्नति र बजेट बढाएर अघि बढ्ने कुरा भएको छ । सरकारले नास्टलाई स्वायत्त निकायको दर्जा दिएको छ तर आवश्यक बजेट अभावका कारण जनइच्छाअनुसार काम गर्न सकिराखेको छैन । जव की नास्टलाई विज्ञान प्रविधिको क्षेत्रमा प्रमुख संस्थाको रुपमा मानिदै आएको छ । यसैबाट प्रस्ट हुन्छ ।

पछिल्लो समय नास्टले उत्पादन गरेका प्रविधिहरु के-के छन् ?

पानी टेस्ट, अस्पतालको एक्स रे र एमआरआइजस्ता उपकरणबाट निस्कने विकिरणको लेभल मनिटरिङ ‘डोजिमेट्री’ मार्फत् भैरहेको छ । सुन्तलमा लाग्ने विभिन्न प्रकारको रोगहरुको परिक्षण र सौर्य उर्जासम्वन्धी टेस्टहरु नास्टमा हुने गरेको छ । पछिल्लो समय कोभिडको कारणले हाम्रो काममा बाधा पुग्यो । यद्यपी कोभिडकै बेलामा पनि हामीले ‘सम्वृद्धिको लागि नवप्रवर्तन् केन्द्र स्थापना’ गरेर काम गरिरहेका छौं । देशका तीनवटै सुरक्षा अंगहरुलाई मोवाइल स्वाव संकलन बुथ प्रदान गर्‍यौं । स्थानीय निकायमा गएर माक्स र सेनिटाइजर बनाउने ट्रेनिङ दियौं । हामीसँग भएका वैज्ञानिक बाहेक देशभर छरिएर रहेका वैज्ञानिकहरुलाई इनोभेसन ग्राण्ट दिने काम भैरहेको छ । राम्रो काम गर्नेलाई कुलपति राष्ट्रिय नवप्रवर्तन् पुरस्कार प्रदान गरिएको छ । नवप्रवर्तनको प्रणाली विकासका लागि ‘नेशनल इनोभेसन फ्रेमओर्क’मा काम गरिरहेका छौं । त्यस्तै सातैवटा प्रदेशमा इनोभेसनको अवस्था थाहा पाउन ‘नेशनल इनोभेसन इन्डेक्स’ बनाउन लागि परेका छौं । ‘इनोभेसन क्याफे’ बनाउन लागि परेका छौं ।

तपाई नास्टमा आएपछि के-कस्ता कार्यक्रमको सुरुवात गर्नुभयो ?

जनचाहनालाई सेवा दिन ‘समाजका लागि विज्ञान’ भनेर अध्ययन-अनुसन्धानमा केन्द्रित भएका छौं । राष्ट्रको सम्वृद्धिका लागि नवप्रवर्तनलाई विशेष जोड दिएको छु । त्यस्तै, अन्तरिक्ष प्रविधिमा नास्ट प्रवेश गरेको छ । यसले मानिसमा एउटा उत्साह थपेको छ । नेपाली युवा वैज्ञानिकहरु हामी पनि ‘क्युव स्याट’ बनाउन सक्छौ भनेर उत्साहसाथ नास्ट आउने गरेको यर्थाथ छ । त्यसका लागि ‘राष्ट्रिय अन्तरिक्ष प्रविधि सेन्टर’ बनाउन पहल भैरहेको छ ।

टेक्नोलजी भवनमा इनोभेसन ग्यालरी बनाएका छौं । यसमा मानिसहरुले अवलोकन गर्न पाउँने व्यवस्था गरिएको छ । आइडिया भएको तर प्लाटफर्म नभएकाहरुका लागि ‘मेकर्स स्पेश’मा आएर काम गर्ने वातावरण बनाइदैछ । त्यसका लागि अहिले ल्याव वन्ने चरणमा छन् ।

‘एकेडेमिया’ र ‘इनोभेसन’ लाई जोड्न उधोग मन्त्रालयसँग समझदारी पत्रमा हस्ताक्षर हुँदैछ । त्यसले पेटेन्ट राइटलगायतका कुरामा सहयोग पुग्नेछ । ‘पब्लिक पाइभेट पार्टनरसीप मोडल’मा पनि काम गर्न खोजिएको छ । च्याउमा पार्टनरसीप भैसकेको छ । मास्कको क्षमता टेस्ट गर्न हामी सफल भएका छौं ।

कतिपय युवाहरु नास्टको सीमित अनुदानबाट सन्तुष्ट छैनन्, तपाईले भनेका कार्यक्रमले उनीहरुको असन्तुष्टी मेट्छ ?

असन्तुष्टी पक्कै छ । किनभने पहिले कम मात्रामा स्नातक र स्नातकोत्तर अध्ययन गर्थें । तर अहिले अधिक छ । त्यहीअनुसार बजेट माग गरिएको छ । पोहोरदेखि हामीले ३२ जनालाई स्नातकोत्तरमा ग्राण्ट दिन सुरुवात गरिसकेको छ । त्यस्तै, जलवायु ज्ञान व्यवस्थापन केन्द्रलाई अझै व्यवस्थापन गरेर काम गर्न खोजेका छौं । वातावरण मन्त्रालयसँगको सहकार्यमा स्नातक, स्नातकोत्तर र पीएचडीका सोधकर्ताहरुलाई थप अनुदान उपलब्ध गराउन खोजेका छौं ।

त्यसोभए, अनुदानमा माग कतिको आउँछन् ?

ठ्याक्कै भन्ने अवस्था त छैन । तरपनि हामीले पहिलेको तुलनामा अनुदान बढाएका छौं । जुन किसिमले विद्यार्थीहरुले अनुदान नपाएर असन्तुष्टी जनाएका छन्, उनीहरुका लागि अधिकतम अनुदान प्रदान गर्ने दिशामा हामी अग्रसर छौं । पीएचडीमा सीमित सोधार्थीलाई अनुदान दिन परेको अवस्था छ ।

फर्क फर्क है वैज्ञानिक तिमिलाई डाक्छ नेपाल कार्यक्रम पूर्णरुपमा असफल भयो, यसलाई पुन: सञ्चालनमा ल्याउने भन्ने कुरा थियो । त्यो कसरी अगाडि बढ्दै छ ?

त्यसलाई हामीले ‘व्रेन पुलिङ’ को रुपमा विकास गरेका छौं । यो तीन किसिमको हुन्छ । पहिलो,  विदेशबाट जो वैज्ञानिक फर्केर आउन चाहन्छन्, उनीहरुका लागि अनुसन्धान अनुदान,  तलव र ल्यावटोरी प्रयोग गर्न दिइनेछ । गत वर्ष दुई जनाले काम गर्नुभयो । यो वर्ष च्याउ र वायोडिजेलमा काम गरिरहेका छन् । गएको वर्ष १५ जनाले निवेदन हालेकोमा दुई जनालाई दिइएको थियो । बजेट अभावले धेरैलाई दिन सकेका छैनौं ।

दोस्रो, ‘एमिनेन्ट नास्ट फेलो’ वरिष्ठ वैज्ञानिक तथा प्राविधिज्ञ दिइन्छ । जसमार्फत् विदेशी संस्थामा काम गरिरहेका तर नेपाल तत्काल आउन नसक्ने र नेपालमा काम गर्न खोज्नेलाई नास्टले ‘स्पेश’ प्रदान गर्दछ । ‘एशोसियट नास्ट फेलो’ चालिस वर्ष मुनीका लागि दिइराखेको छ । साहित्य, कला र संगितलाई विज्ञानसँग जोड्न खोजिएको छ । सातै प्रदेशका विद्यालयतहका शिक्षक र विद्यार्थीहरुलाई दिने पुरस्कारको संख्या बढाएका छौं । यो वर्षदेखि कृषि पुरस्कार दिदै छौं ।

अन्तर्राष्ट्रियस्तरमा नास्टको वैज्ञानिक अनुसन्धानले चर्चा बटुल्न सकेन, यसो हुनुमा नास्टको आन्तरिक संरचना कमजोर भएको वा वैज्ञानिकहरुको रुचीमा कमीले हो । यसमा के भन्नुहुन्छ ?

अन्तर्राष्ट्रिय ध्यान केन्द्रित गर्ने खालका कुनै नयाँ कुरा पत्ता लगाउन नसकेको सत्य हो । तैपनि, ‘वाइल्ड फुड’ र ‘भेजिटेवल’मा नयाँ पुस्तक भर्खरै प्रकाशन भएको छ । कृषिको शव्दकोष तयार हुँदैछ । भान्सामा पाइने जडिवुटीको किताव प्रकाशन गरेका छौं । तैपनि, हामीले विभिन्न परिक्षण गरेर सेवा दिदै आएका छौं । विश्वविद्यालयका विद्यार्थीहरुका लागि हाम्रा उपकरण अनुसन्धानमा प्रयोग भएका छन् । नास्टको भूमिका वृहत्तर हुन पर्नेमा हुन सकेको छैन । विभिन्न कारणले हाम्रो क्षमता वृद्धि हुन सकेका छैनन् । यसमा हामी ध्यान केन्द्रित गर्दैछौं ।

नास्टले अन्तर्राष्ट्रिय संस्थाहरुसँग अनुसन्धानमा सहकार्य गरेका होलान्, त्यसबाट पनि केही आएन ?

अन्तर्राष्ट्रिय संस्थासँग ‘क्यूटेक इन्स्टिच्यूट’सँग अन्तरिक्ष प्रविधिमा काम गरिरहेको छ । फ्रान्सको पेरिस विश्वविद्यालयसँग काम भैहरेको छ । कोरियासँगको सहकार्यमा घुम्ती सूचना केन्द्र ‘मोबाइल बस’ भर्खरै उद्घाटन भएको छ । त्यसमार्फत् सूचनाकोसाथै प्रविधिसम्वन्धी ट्रेनिङ दिन सकिन्छ । तर कोभिडका कारणले कतिपय कुरा पुरा हुन सकेका छैनन् ।

उच्चस्थानमा रहेको ‘पिरामिड ल्यावटोरी’ संञ्चालनमा आउन सकेन भन्ने गुनासा छन्, त्यसको सञ्चालन कसरी गर्दै हुनुहुन्छ ?

इटालीका वैज्ञानिक संस्था सिएनआरले २०२१ सम्ममा उसले काम गर्ने भन्ने समझदारी छ । तर त्यससंस्थासँग बजेट अभाव भएपछि त्यहाँबाट थप अनुसन्धान हुन सकेको छैन । हामीले त्यसलाई कसरी सञ्चालन गर्ने भनेर प्रतिवेदन तयार गरेका छौं । अव छिट्टै सञ्चालन हुनेछ।

प्रायः बजेट अभावको कुरा सुनिन्छ, तर नास्टका विभिन्न कार्यक्रमलाई बजेट कसरी व्यवस्थापन गर्नुहुन्छ ?

पछिल्ला आर्थिक वर्षमा बजेट केही बढेर आएको छ । तैपनि पुग्ने अवस्था छैन । मितव्ययिता अपनाएर काम गर्दैछौं ।

नास्टले विभिन्न प्रदेशमा कर्यालय खोल्ने कुरा थियो, कसरी अगाडि बढ्दैछ ?

‘सेन्टर अफ एक्सिलेन्स’ बनाएर प्रदेशमा काम गर्न खोजेका हौं। सवै कुरा केन्द्रमा मात्र गर्दा विज्ञान प्रविधिको विकास धिमा गतिमा अगाडि बढ्ने हुन्छ । सातै प्रदेशमा विज्ञान प्राविधि केन्द्रको स्थापना गर्न खोजिएको छ । त्यसबाहेक, नास्ट भित्र एउटा साइन्स पार्क वनाउ खोजेका छौं । त्यसका लागि काठमाडौं महानगरपालिकाले पचास लाख दिएको छ । नास्टको वरपर रहेका वैज्ञानिक संस्थाहरुसँग सहकार्य गरी साइन्स सिटी बनाउन पहल भैरहेको छ ।

पूर्व प्रधानमन्त्री केपी शर्माओली र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले नास्ट अनुत्पादक संस्थाको संज्ञा दिदै ‘पुर्नसंरचना’ गर्ने कुरा उठाएका थिए, के यसलाई ‘पुर्नसंरचना’ गर्नु पर्दछ ?

अनुत्पादक होइन् यसले विभिन्नखाले सेवा दिदै आएको छ । फरक रुपले व्यवस्थापन ‘पुर्नसंरचना’ गर्न भने आवश्यक छ । यस विषयमा प्रतिवेदन तयार भएको छ । कोभिडका कारणले यो काम रोकिएको छ।

भनेपछि अव कसरी पुर्नसंरचना हुनेछ ?

प्रतिवेदनको सवै पाटोमा छलफल हुन बाँकी छ । तैपनि मेरो धारणा भनेको विशेषीकृत रुपमा सातै प्रदेशमा अनुसन्धान तथा विकास केन्द्र हुने गरी अगाडि बढ्नु पर्दछ । त्यो भनेको नार्कले कृषिमा अनुसन्धान गर्दछ भने नास्टले कृषिमा अनुसन्धान गरिरहन परेन । शाखाका रुपमा रहेर अध्ययन अनुसन्धान गरिरहेका अनुसन्धान सेन्टरको रुपमा विकास गर्न सकिन्छ । प्रत्यक सेन्टरमा निर्देशकतय गरेर वार्षिक रुपमा आफ्नो विषयअनुसार अनुसन्धान गरेर रिपोर्ट पेश गर्नेछन् । वायोटेक्नोलजी, सौर्यउर्जा, अन्तरिक्ष विज्ञानजस्ता विषय बनाएर अनुसन्धान सेन्टर बनाएर काम गर्ने खालका हुनुपर्दछ ।

विदेशी विश्वविद्यालय तथा प्रमुख अनुन्धानशालामा प्राध्यापकको आफ्नै प्रयोगशाला हुने गरेको पाइन्छ तर नास्टका प्राध्यापकको आफ्नै प्रयोगशाला त के, लामो समय अनुसन्धान पनि नगरेका गुनासाहरु छन् < अव त्यो कायमै रहन्छ की पुर्नसंरचना हुन्छ ?

अनुभवप्राप्त प्राध्यापक हामीलाई खाँचो छ । उहाँहरुले आर्जन गरेको ज्ञानबाट हामी अगाडि बढ्न मद्दत मिल्ने हुन्छ । तर नयाँ संरचना बनाउँदा प्राज्ञको दक्षताअनुसारको सेन्टरमा जिम्मा दिइने खालका हुन्छन् । अहिले बनाएको नियमावलीमा प्राज्ञहरुको व्यवस्थापनमा ‘सेन्टर फर एक्सिलेन्स’ हुनेछ । उहाँहरुको ज्ञान र सीप त्यसमा प्रयोग हुनेछ । प्रयोगशालामा प्राज्ञहरुको प्रत्यक्ष निगरानी हुनेछ ।

अन्त्यमा, तपाईको एक वर्ष कार्यकाल बाँकी रहँदा आगामी दिनमा नास्ट कसरी अगाडि बढ्छ ?

अवको एक वर्षमा प्रायः गाँठाहरु फुकेर अवरोध हट्नेछन् । कर्मचारीको समस्या समाधान हुनेछन् । उनीहरुको वृत्तिविकास हुनेछ ।सातै प्रदेशमा विभिन्न खाले विशेषीकृत अनुसन्धान सेन्टर हुनेछन् । यहाँका सम्पूर्ण अनुसन्धानरत विभाग रिसर्च सेन्टरको रुपमा विकास हुनेछन् । साइन्स सिटीलगायतका कुरामा तयारी भैरहेको छ । अवको दिनमा सहकार्य र समन्वय गर्दै नास्ट नयाँ ढंगले अगाडि बढ्नेछ ।