कोभिड अस्पतालमा कहाँ ‘कति’ स्वास्थ्य उपकरण, त्रिवि शिक्षण अस्पतालमा सबैभन्दा बढी : प्रतिवेदन

–लक्ष्मण डंगोल

काठमाडौं । ‘कोभिड१९’को विशेष उपचार हुने उपत्यकाका आठ अस्पतालहरुमा रहेका स्वास्थ्य उपकरणको विवरण सार्वजनिक गरेको छ । मिसन अक्सिजन टिम(एमओटी)ले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्(एनएचआरसी), वायोटेक्नोलजी सोसाइटी अफ् नेपाल(बीएसएन), रोवटिक्स एसोसियसन अफ नेपाल(आएएन) तथा एशिया फाउण्डेसनलगायतकासँग समन्वय गरेर उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

उक्त प्रतिवेदन शुक्रराज  ट्रपिकल तथा सरुवा रोग अस्पताल,  राष्ट्रिय अयुर्वेद अनुसन्धान तथा तालिम सेन्टर, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल,  भक्तपुर अस्पताल, सशस्त्र प्रहरी वल (एपीएफ) अस्पताल र त्रिवि शिक्षण अस्पतालबाट प्राप्त तथ्यांकमा आधारित रहेको बताइएको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार प्रत्येक अस्पतालले वार्षिक एक करोडको वायोमेडिकल उपकरण खरिद गर्नेछ ।

एमओटीका अनुसार उपत्यकाका अस्पतालहरुमा कहाँ कति स्वास्थ्यसम्वन्धी उपकरण छन् भन्ने एकीकृत विवरण थिएन । अहिलेको यस प्रतिवेदनले काठमाडौंका सरकारी अस्पतालमा भएको उपकरणको विवरण दिनेछ । यस अध्ययनका लागि छ जनाको अनुसन्धान टोलीले तथ्यांक संकलन गरेका थिए ।

अनुसन्धानकोक्रममा त्रिवि शिक्षण अस्पतालमा सबैभन्दा बढी आइसियु रहेको पाइएको छ । त्यस्तै, राष्ट्रिय अयुर्वेद अनुसन्धान तथा तालिम सेन्टरमा आइसियु नभएको प्रतिवेदनमा उल्लेख छ ।

सबैभन्दा बढी वीर अस्पतालमा ११३ वटा एचडीसी वेड रहेको छ । ट्रमा सेन्टरमा सवैभन्दा कम २५ एचडीसी वेड रहेको प्रतिवेदनमा उल्लेख छ ।

मानवस्रोत परिचालन म्यापिङ गरिएको छ । प्रायः सवै अस्पतालहरुमा स्वास्थ्यसम्वन्धी वायोमेडिकल उपकरण चलाउने जनशक्ति अस्थायी रहेका छन् । तथ्यांकअनुसार सशस्त्र प्रहरी बल (एपीएफ) अस्पतालमा २७२, ट्रमा सेन्टरमा २ र सिभिल अस्पतालमा २५७ रहेका छन् ।

त्यस्तै सवभन्दावढी मेडिकल उपकरण त्रिवि शिक्षण अस्पतालमा ५२६ वटा प्रयोगमा ल्याइएको छ । सवभन्दा कम २४१ भक्तपुर अस्पतालमा प्रयोग गरिएको छ ।

कोभिड विरामीको चापअनुसारमा सवैभन्दा वढी वीर अस्पतालमा ४०२ जना मृत्यु भएको थियो। सवैभन्दा कम राष्ट्रिय अयुर्वेद अनुसन्धान तथा तालिम सेन्टरमा १ जना उपचारकोक्रममा मृत्यु भएको छ ।

मुख्य नतिजा उल्लेख गर्दै एनएचआरसीका रिसर्च प्रमुख मेघनाथ धिमाल भन्छन्, ’कोभिड लक्षित आठ वटा अस्पतालको तथ्यांकले मात्र देशभरका अस्पतालका वायोमेडिकल उपकरणको अवस्था थाहा हुँदैन । त्यसका लागि देशभरका अस्पतालबाट तथ्यांक संकलन गर्नुपर्दछ ।’

कोभिडको विरामी उच्च भएको वेला अतिआवश्यक वायोमेडिकल उपकरण पनि अभाव भएको पाइएको छ । ‘प्राय अस्पतालमा अस्थाइ जनशक्ति परिचालन भएको र अस्पतालको उपकरण थर्ड पार्टीले क्यालिव्रेसन गरेको पाइयो’, प्रतिवेदनको निस्कर्षमा उल्लेख गरिएको छ ।

‘वायोमेडिल उपकरण प्रयोगको विशिष्ट निर्देशिका तथा नियमन वनाउनु पर्ने’ पहिलो सुझाव छ । दोस्रो, भविष्यमा हुनसक्ने महामारीका लागि वायोमेडिकल उपकरणको महत्वाको वारेमा ‘जागरुकता अभियान सञ्चालन’ गरिनु पर्ने र प्रादेशिक तथा स्थानीय रुपमा कोभिड१९ अस्पतालका वायोमेडिकल उपकरण तथा मानवस्रोत संसाधनको आंकडा संकलनको लागि थप अध्ययन अनुसन्धान आवश्यक रहेको उल्लेख छ ।

‘यस किसिमको अनुसन्धानले भविष्य मेडिकल क्षेत्रमा आवश्यक जनशक्ति तथा उपकरण कहाँ कति मात्रामा चाहिने हो, त्यसको योजना वनाउन सहज हुने एनएचआरसीका रिसर्च प्रमुख डा. मेघनाथ धिमालले बताए ।

‘नेपालमा विदेशवाट ल्याइएका महंगा वायोमेडिकल उपकरणहरुको मर्मत गर्न छिमेकी देश भारतबाट इन्जिनियर झिकाउन पर्ने वाध्यता रहेको सुनाउँदै एनएचआरसीका, कार्यकारी प्रमुख डा. प्रदिप ज्ञवाली भने, ‘अहिलेको प्रारम्भिक प्रतिवेदनले केही भएपनि अस्पतालमा भएको उपकरणको अवस्थाका बारेमा जानकारी दिएको छ । यस्ताखाले तथ्यांक उत्पादनको काम भविष्यमा विस्तृत गरिनेछ ।’

‘एनएचआरसी भनेको अनुसन्धान तथा विकास र अनुसन्धानको नतिजाका आधारमा नेपाल सरकारलाई नीति बनाउन वा नितिगत सुधार तथा सुझाव दिने हुन्छ । यसर्थ एमओटीसँग थप सहकार्य गरेर एनएचआरसी अगाडि बढ्नेछ,’ डा. ज्ञवालीले भने ।

‘पहिले अस्पतालमा भएका स्वास्थ्य उपकरणले काम गरेको वा नगरेको चिकित्सकहरुलाई थाहा हुँदैन्थ्यो, तर अहिले त्यस्तो अवस्था छैन । यधपि स्वास्थ्य उपकरणको क्यालीव्रेसन सही भएन भने गलत डेटा आउँछ, त्यसले विरामीको उपचारमा थप समस्या पैदा हुने भन्दै यस किसिमको अध्ययनको महत्व रहेको नास्टका प्राज्ञ डा. बुलंन्द थापाले बताए ।

मिसन अक्सिजन टिम केहो ?

स्वास्थ्य उपकरण जडान,  सञ्चालन,  संरक्षण र मर्मत् गर्ने मिसन अक्सिजन टिम(एमओटी)को चार लक्ष्य छन् । एमओटीको पोर्टलमा देशभरका साँढे दुई सय ‘बायोमेडिकल इन्जिनियर’  आवद्धता भएका छन् ।

कोभिड१९को दोस्रो लहरमा चल्दै गर्दा उपत्यकालगायत देशभर प्राणवायु ‘अक्सिजन’ अभाव तथा अक्सिजन उत्पादन समाग्री उपलब्धतालाई ध्यानमा राखेर एमओटी सञ्चालन गरिएको थियो । वायोटेक्नोलजी सोसाइटी अफ नेपाल, रोबोटिक्स एशोसियसन अफ नेपाल र वायोमेडिकल इन्जिनियरिङ फाउण्डेसन नेपालको अगुवाइमा ‘एमओटी’ सञ्चालन भैइरहेको’ एमओटीको कन्ट्री डिरेक्टर नविननारायण मुनंकर्मीले बताए । एमओटीले एनएचआरसी, एशिया फाउण्डेसन र एनआरएनसँग सहकार्य गरेको छ । 

देशभर अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर विग्रिएको खबर एमओटीमा आउनासाथ एमओटीमा आवद्ध इन्जिनियरले सहयोग गर्दै आइरहेको आरएएनका अध्यक्ष विकास गुरुङले बताए ।

देशभरका ३०० भन्दा बढी अस्पतालहरु ‘एमओटी अनलाइन पोर्टल’मा आवद्धता भैसकेको  छ ।