|
Getting your Trinity Audio player ready…
|

प्यारिस, फ्रान्स, पुष ३० । अन्तर्राष्ट्रिय खगोलशास्त्रीय संघ (आइएयू) ले पृथ्वीलाई सम्भावित खतरनाक क्षुद्रग्रहबाट जोगाउने युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) को प्रयासलाई सम्मान गर्दै १० वटा क्षुद्रग्रह र एक धूमकेतुलाई नामकरण गरेको छ।
तीमध्ये एक, अस्थायी रूपमा २०२१ एफ४० भनेर चिनिएको क्षुद्रग्रह, अब आधिकारिक रूपमा (८१०६५७) इएसओसी नाम दिइएको छ। यो नाम जर्मनीको डार्मस्टाटस्थित इएसएको युरोपेली अन्तरिक्ष सञ्चालन केन्द्रको नाममा राखिएको हो। २०२१ मार्चमा खोजिएको उक्त क्षुद्रग्रह ६०० देखि १३०० मिटर व्यासको भएको अनुमान छ र यो मंगल ग्रहको कक्षाभन्दा बाहिर सूर्यलाई परिक्रमा गर्छ।
इएसएका खगोलशास्त्री एरविन श्वाब र पूर्व ग्रह–सुरक्षा प्रमुख डिटलेफ कोस्नीले यसलाई खोजेका थिए। नामकरण समारोहमा इएसएका सञ्चालन निर्देशक रोफ डेन्सिङले भने, “यी क्षुद्रग्रहहरूलाई इएसएका स्थल, खगोलशास्त्री, गणितज्ञ, मिशन विश्लेषक तथा अन्य व्यक्तिहरूको नाममा राखिनु ग्रह–सुरक्षा कार्यालयको योगदान र पृथ्वीलाई सुरक्षित राख्ने प्रयासलाई सम्मान गर्ने कार्य हो।”

अन्य नामकरण गरिएका क्षुद्रग्रहहरूमा लौराफागियोली, डारियोलिभिएरो, ओकाना, रामिरेजमोरेटा, फ्रासकाडी, माइकलखान, याकोमाजो, जुआनलुइस्कानो र रिचर्डमोइसल रहेका छन्। साथै, नयाँ खोजिएको धूमकेतु पी/२०२५ डब्लु३ (क्रेस्केन) लाई खगोलशास्त्री रेनर क्रेस्केनको नाममा राखिएको छ।
आइएयूले क्षुद्रग्रह नामकरण प्रक्रिया आफ्नो वर्कीङ ग्रुप अफ स्मल वडी नमिनक्लेचर मार्फत सञ्चालन गर्छ। नामहरू उच्चारण गर्न सजिलो, अपमानजनक नभएको, र सामान्यतया १६ अक्षरभन्दा छोटो हुनुपर्ने नियम छ।


Leave a Reply