
काठमाडौँ, पुस २९ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा मङ्गलवार राजधानीमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुमोदन गर्दै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति लगायतका प्रस्ताव पारित गरेको छ।
बैंक सञ्चालक समितिका अध्यक्ष देव कुमार ढकालको अध्यक्षतामा सम्पन्न सभामा अध्यक्ष ढकालले संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राख्दै व्यवसाय विस्तार भइरहेको उल्लेख गरे। उनले प्रविधिमा आधारित आधुनिक सेवामार्फत ग्राहकलाई गुणस्तरीय सुविधा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइरहेको बताए। साथै, बैंकिङ क्षेत्रको बढ्दो प्रतिस्पर्धालाई सामना गर्न आन्तरिक नीति, नियम तथा कार्यविधिमा समयानुकूल परिमार्जन भइरहेको जानकारी दिए।
सभामा नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, कम्पनी रजिस्ट्रार कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि तथा सर्वसाधारण शेयर धनीहरूको उपस्थिति रहेको थियो। शेयरधनीहरूले प्रस्तुत प्रतिवेदनमा टिप्पणी गर्दै बैंक सुधारका लागि विभिन्न सुझाव दिएका थिए, जसको जवाफ अध्यक्ष ढकालले दिएका थिए।
उक्त साधारण सभामा सञ्चालक समितिका सदस्य थान प्रसाद पंज्ञानी, स्वतन्त्र सञ्चालक लक्ष्मण घिमिरे, प्रा.डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्य बहादुर राना, हरि कुमार सिलवाल, प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल, नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, उपकार्यकारी अधिकृत पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कंडेल, रामकुमार थापा लगायतको उपस्थिति थियो। साथै, बाह्य लेखापरीक्षक, कानूनी सल्लाहकार, कर्मचारी युनियनका प्रतिनिधि तथा विभागीय प्रमुखहरू पनि सहभागी थिए। सभाको सञ्चालन कम्पनी सचीव प्रमोद अधिकारीले गरेका थिए।
बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रमा समेत ३१२ शाखा कार्यालय, ७१ एक्सटेन्सन काउन्टर, ३२२ एटिएम र ९९ शाखा रहित बैंकिङ सेवामार्फत आधुनिक बैंकिङ सुविधा प्रदान गरिरहेको छ।

Leave a Reply