
काठमाडौं, जेठ १० । दशरथ रंगशालाको कभर्डहलमा जारी काभा महिला भलिवल प्रतियोगितामा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार भएको खेलमा नेपालले पहिलो सेट २५–१२ ले जित्दै उत्कृष्ट सुरुआत गर्यो। दोस्रो सेटमा पनि नेपालले दबदबा कायम राख्दै २५–९ को सहज जित निकाल्यो। तेस्रो सेटमा माल्दिभ्सले केही प्रतिस्पर्धा गरे पनि नेपाल २५–२० ले विजयी हुँदै खेल आफ्नो पक्षमा पार्न सफल भयो।
यसअघि समूह चरणमा नेपाल भारतसँग ३–२ सेटमा पराजित भएको थियो भने किर्गिस्तानलाई सोझो सेटमा हराउँदै पहिलो जित दर्ता गरेको थियो। तीन खेलबाट सात अंक जोडेको नेपाल सेमिफाइनलमा पुगेको हो। भारतले दुई खेलबाट पाँच अंक जोड्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ।
नेपालको यो जितले घरेलु दर्शकलाई उत्साहित बनाएको छ। अब सेमिफाइनलमा नेपालले प्रतिस्पर्धी टोलीसँग भिड्नेछ।




Leave a Reply