
काठमाडौँ, कार्तिक २१ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) लाई अन्तर्राष्ट्रिय खगोल विज्ञानको सर्वोच्च संस्था इन्टरनेशनल एष्ट्रोनोमिकल युनियन (आइएयू) को राष्ट्रिय सदस्यको मान्यता प्राप्त भएको छ।
लामो समयदेखि गरिएको अथक प्रयासपछि नेपालले आइएयू सदस्य राष्ट्रको मान्यता पाएको समाचार सार्वजनिक भएको हो। यससँगै नेपालका खगोल विज्ञानसम्बन्धी गतिविधिहरूलाई अन्तर्राष्ट्रिय स्तरमा औपचारिक मान्यता प्राप्त भएको छ।
सन् २००७ देखि नेपालमा खगोलशास्त्र शिक्षण, अनुसन्धान तथा जनचेतनामा सक्रिय रहँदै आएको नासोलाई आइएयूले राष्ट्रिय सदस्यको रूपमा स्वीकार गरेको छ। यसअघि सन् २०२४ मा दक्षिण अफ्रिकाको केप टाउनमा सम्पन्न आइएयूको ३२औं महासभामा नेपालले आधिकारिक रूपमा ‘अव्जभर स्टाटस‘ प्राप्त गरेको थियो।
आइएयूका नवनिर्वाचित अध्यक्ष तथा २०११ का नोबेल पुरस्कार विजेता भौतिकशास्त्री प्रोफेसर ब्रायन पी. श्मिड्टले २०८२ कार्तिक १८ गते मंगलबार एक आधिकारिक इमेलमार्फत् नासोलाई राष्ट्रिय सदस्यको रूपमा चयन गरिएको जानकारी गराएका थिए। उनले भनेका छन्, “नासोसँग गरिएका संवाद र पत्राचारका आधारमा आइएयू कार्यकारी समितिले नेपालका लागि राष्ट्रिय सदस्यका रूपमा नासोलाई चयन गरेको छ, जसले नेपालको सम्पूर्ण खगोल समुदायको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ।”
यो निर्णयले नेपाललाई अन्तर्राष्ट्रिय खगोल विज्ञान समुदायमा थप सशक्त रूपमा सहभागी गराउने, विश्वव्यापी वैज्ञानिक सहकार्यमा योगदान दिने तथा अन्तरिक्ष अनुसन्धानका क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्ने मार्ग प्रशस्त गरेको बताइएको छ।
नासो अध्यक्ष सुरेश भट्टराईले यो उपलब्धि दशकौँको प्रयासको मान्यता भएको उल्लेख गर्दै भविष्यमा नेपाललाई आइएयूको पूर्णकालिन सदस्य (फूल मेम्वरसिप) प्राप्त गर्ने दिशामा यो महत्वपूर्ण माइलस्टोन भएको बताए।
नासोले नेपाल तथा विदेशमा कार्यरत योग्य नेपाली नागरिकहरूलाई आइएयूको व्यक्तिगत सदस्यता लिन आवेदन दर्ता गर्न आह्वान गरेको छ। आवेदन फारम तथा जानकारी आइएयूको आधिकारिक वेबसाइटमा उपलब्ध छ।
यस अवसरमा नासोले नेपाललाई खगोल विज्ञानको क्षेत्रमा विश्व स्तरमा थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।


Leave a Reply