
काठमाडौं । जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीमध्ये हालसम्म निर्जीवन बीमा कम्पनीहरूले करिब रू. ४ अर्ब ३८ करोड ४८ लाख बीमितहरूलाई भुक्तानी गरिसकेको बीमा प्राधिकरणले जनाएको छ।
प्राधिकरणमा दर्ता भएका १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार, आन्दोलनका कारण परेका कुल ३ हजार ३०० बीमा दाबीमध्ये करिब रू. २३ अर्ब ४४ करोड दाबी रकम मागिएको थियो।
सम्पत्ति बीमातर्फ ७१० दाबीमध्ये करिब रू. १९ अर्ब १ करोड दाबी रकम मागिएकोमा रू. ३ अर्ब १२ करोड २७ लाख भुक्तानी भएको छ। मोटर बीमातर्फ २ हजार ३०८ दाबीमध्ये करिब रू. ३ अर्ब ४८ करोड मागिएकोमा रू. १ अर्ब ९ करोड भुक्तानी भएको छ।
त्यस्तै, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ दाबीमा करिब रू. ५५ करोड ५५ लाख मागिएकोमा रू. ६ करोड ८१ लाख भुक्तानी भएको छ। परिवहन बीमातर्फ १२ दाबीमा करिब रू. १ करोड ६९ लाख मागिएकोमा रू. ६६ लाख भुक्तानी भएको छ। अन्य बीमातर्फ ४५ दाबीमा करिब रू. ३८ करोड ४० लाख मागिएकोमा रू. ४९ लाख भुक्तानी भएको प्राधिकरणले जनाएको छ।
यसबीच, नेपाल पुनर्बीमा कम्पनीले पनि आन्दोलनका क्षतिपछि निर्जीवन बीमा कम्पनीहरूलाई करिब रू. २ अर्ब ५६ करोड अग्रिम भुक्तानीसहित पुनर्बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीमा हालसम्म १४ निर्जीवन बीमा कम्पनीबाट २ हजार ८६१ पुनर्बीमा दाबी परेका छन्, जसको दाबी रकम करिब रू. १५ अर्ब ८१ करोड रहेको अद्यावधिक तथ्याङ्क छ।
बीमा प्राधिकरणका कार्यकारी निर्देशक एवम् प्रवक्ता सुशील देव सुवेदीले बीमितहरूलाई अग्रिम भुक्तानीसहित दाबी रकम भुक्तानी भइरहेको जानकारी दिए ।


Leave a Reply