|
Getting your Trinity Audio player ready…
|

काठमाडौँ, पुस ३०। नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को आम्दानीबाट पाँच प्रतिशत बोनस शेयर र आठ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको जनाएको छ।
गत आवमा कर पश्चात् कोषको खुद नाफा एक अर्ब २५ करोड ६० लाख रुपैयाँ रहेको थियो। सोमध्ये २५ करोड १२ लाख रुपैयाँ साधारण जगेडा कोषमा राखी बाँकी रकम लाभांश वितरणमा प्रयोग गरिएको कोषले उल्लेख गरेको छ।
कोषले सञ्चालन गरेका विभिन्न बचत कार्यक्रममार्फत २०८१/८२ मा दुई खर्ब ६६ अर्ब ६५ करोड रुपैयाँ खुद कोष सङ्कलन भएको थियो। चालु आवको असोज मसान्तसम्ममा बचत परिचालन मौज्दात रकम दुई खर्ब ९६ अर्ब ८९ करोड पुगेको कोषले जनाएको छ।
सभाले वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय प्रतिवेदन पारित गरेको छ। साथै सर्वसाधारण शेयरधनीका तर्फबाट नारायणप्रसाद घिमिरेलाई सर्वसम्मत रूपमा चयन गरिएको छ।
सभामा अध्यक्ष तुलसीप्रसाद घिमिरेले गत आवको लाभांशबाट शेयरधनी सन्तुष्ट देखिनु, कर्मचारीको सेवासुविधा र वृत्तिविकासमा चासो देखिनु सकारात्मक भएको बताए। उनले संस्थालाई व्यवस्थित ढङ्गले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले शेयरधनीले दिएको सुझाव सम्बोधन गरिने आश्वासन दिए। उनले संस्थालाई सुशासित संस्थाका रूपमा अघि बढाइरहेको दाबी गरे।
कार्कीले नेपाल वायुसेवा निगमलाई दिइएको कर्जा असुलीमा जटिलता देखिएको उल्लेख गर्दै, विमान खरिदका लागि लिइएको कर्जामा नेपाल सरकार ‘ग्यारेन्टी’ बसेको कारण ढिलोचाँडो असुली हुने अपेक्षा व्यक्त गरे। साथै, उनले कोषका तथ्याङ्कलाई क्रमशः डिजिटलाइज्ड गर्दै डाटा भण्डारणलाई सुरक्षित बनाइरहेको बताए।


Leave a Reply