|
Getting your Trinity Audio player ready…
|

काठमाडौं, माघ ५ । टिकटकले २०२५ को तेस्रो त्रैमासिक (जुलाई–सेप्टेम्बर) कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। कम्पनीले सुरक्षित डिजिटल वातावरण बनाउन निरन्तर प्रयास गर्दै आएको बताएको छ।
रिपोर्ट अनुसार नेपालमा तीन महिनामा २८ लाखभन्दा बढी (२,८२९,६१२) भिडियो नियम उल्लङ्घनका कारण हटाइएका छन्। सामग्री हटाउने दर ९९.७ प्रतिशत रहेको छ, जसमा ९८ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएको थियो।
विश्वव्यापी रूपमा टिकटकले सो अवधिमा करिब २०४ मिलियन भिडियो हटाएको छ, जुन कुल अपलोड कन्टेन्टको ०.७ प्रतिशत हो। हटाइएका भिडियोमध्ये १८६ मिलियनभन्दा बढी अटोमेटिक डिटेक्सन प्रविधिबाट हटाइएका थिए। समीक्षा पछि करिब ८.९ मिलियन भिडियो पुनःस्थापना गरिएको थियो।
यस अवधिमा टिकटकले ११८ मिलियनभन्दा बढी नक्कली अकाउन्ट हटाएको छ। साथै, १३ वर्षभन्दा कम उमेरका हुन सक्ने आशङ्कामा २२ मिलियनभन्दा बढी अकाउन्ट पनि हटाइएको छ।
रिपोर्टले हटाइएका भिडियोमध्ये ३० प्रतिशत संवेदनशील वा वयस्क सामग्री, १५.७ प्रतिशत सुरक्षा तथा सभ्यतासम्बन्धी मापदण्ड उल्लङ्घन, २.७ प्रतिशत गोपनीयता उल्लङ्घन, ३२.९ प्रतिशत गलत सूचना, र ३४.४ प्रतिशत एआई वा सम्पादित कन्टेन्ट रहेको उल्लेख गरेको छ।


Leave a Reply