|
Getting your Trinity Audio player ready…
|

काठमाडौं, वैशाख २७ । पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस) भएका महिलाहरूमा हृदय रोगको जोखिम बढ्ने तथ्य नयाँ अध्ययनले देखाएको छ, जसमा सामान्य तौल भएका महिलाहरू पनि समावेश छन्।
पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस) भनेको प्रजनन उमेरका करिब १०–१३ प्रतिशत महिलामा देखिने सामान्य हर्मोन सम्बन्धी गडबडी हो। यसमा उच्च एन्ड्रोजन स्तर, अनियमित महिनावारी, र अण्डाशयमा साना सिस्टहरू देखिन्छन्।
पीसीओएसले प्रायः बाँझोपन, हिर्सुटिज्म (अत्यधिक रौं), पिम्पल, र तौल बढ्ने समस्या ल्याउँछ। यसको ठ्याक्कै कारण अझै स्पष्ट छैन, तर यसमा अनुवांशिक र जीवनशैली दुबैको भूमिका हुन्छ।
पीसीओएसले प्रायः इन्सुलिन प्रतिरोध निम्त्याउँछ, जसले उपचार नभएमा दीर्घकालीन स्वास्थ्य जोखिमहरू, जस्तै टाइप २ मधुमेह ल्याउन सक्छ।
डेनमार्क, फिनल्याण्ड र स्वीडेनका अनुसन्धानकर्ताहरूले १२७,५१७ जना पीसीओएस भएका महिलाहरूलाई ५८७,८१० जना पीसीओएस नभएका महिलासँग तुलना गर्दै औसत १० वर्षसम्म अध्ययन गरेका थिए। सो अध्ययनले पीसीओएस भएका महिलाहरूमा हृदय रोगको जोखिम ३२ प्रतिशत बढी देखिएको छ । सामान्य तौल भएका वा टाइप २ मधुमेह नभएका महिलाहरूमा यो जोखिम ४० प्रतिशत सम्म बढेको पाइएको अध्ययनमा उल्लेख छ ।
सो अध्ययनले डेनमार्कमा ३७.७ प्रतिशत, फिनल्याण्डमा ४८.६ प्रतिशत, र स्वीडेनमा ४१.७ प्रतिशत जोखिम देखाएका छन् ।
“सामान्य तौल भएका पीसीओएस महिलाहरूमा उच्च रक्तचाप हुने सम्भावना बढी हुन्छ, जुन हृदय रोगको स्वतन्त्र जोखिम कारक हो,” अध्ययन नेतृत्व गर्ने डेनमार्कको साउदर्न युनिभर्सिटी र ओडेन्से युनिभर्सिटी अस्पतालकी प्राध्यापक डोर्ते ग्लिन्टबोर्गले भनिन्।
उनले थपिन् पीसीओएसको जैविक पक्ष, जस्तै उच्च टेस्टोस्टेरोन स्तर, तौल वा मधुमेहभन्दा स्वतन्त्र रूपमा हृदय प्रणालीमा असर गर्न सक्छ।
यो अध्ययन युरोपेली जर्नल अफ एन्डोक्राइनोलजीमा प्रकाशित भएको छ।

Leave a Reply