|
Getting your Trinity Audio player ready…
|

काठमाडौं, माघ २९ । नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) को पहिलो बैठक काठमाडौंको चन्द्रागिरीमा बुधवार सम्पन्न भएको छ। बैठकले दुई देशबीच व्यापार तथा लगानी विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
सन २०२४ अप्रिलमा कतारका अमिर शेख तमीम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा जेबीसी स्थापना सम्बन्धी सम्झौता भएको थियो। परिषद् नेपाल–कतार निजी क्षेत्रबीच संवाद, व्यवसायिक सहकार्य तथा प्रत्यक्ष संलग्नता प्रवद्र्धन गर्ने संरचित मञ्चका रूपमा स्थापना गरिएको हो।
बैठकमा दुवै देशका निजी क्षेत्रका प्रतिनिधिहरूले लगानी प्रवद्र्धन, व्यापार विस्तार, बीटुबी सहकार्य तथा जीटुजी समन्वयका विषयमा गहन छलफल गरेका थिए। सहभागीहरूले नेपाल–कतार आर्थिक सम्बन्धलाई दीर्घकालीन र परिणाममुखी बनाउन प्रतिबद्धता जनाए।
नेपाली पक्षले लगानीमैत्री वातावरण सुधार गर्न कानुनी संशोधन, डिजिटल प्रणालीमार्फत स्वीकृति प्रक्रिया सरल बनाउने, सार्वजनिक–निजी साझेदारी प्रवद्र्धन गर्ने सरकारी पहलबारे जानकारी दिँदै उर्जा, खनिज, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि प्रशोधन तथा सूचना प्रविधि क्षेत्रमा कतारी लगानीको आग्रह गरेको छ। साथै, कतारमा सेवा क्षेत्र, पर्यटन–सम्बद्ध उद्योग, सीप विकास तथा साना–मझौला उद्यममा नेपाली व्यवसायीहरूलाई अवसर खोज्न प्रोत्साहित गरिएको छ।
कतारी प्रतिनिधि मण्डलले नेपालमा लगानीको वातावरणबारे सकारात्मक धारणा राख्दै प्रत्यक्ष सहकार्य र व्यवसायिक आदान–प्रदान विस्तार गर्ने इच्छुक रहेको बताएका थिए।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैठकले नेपाल–कतार आर्थिक सम्बन्धलाई मजबुत बनाउन योगदान गर्ने उल्लेख गर्दै विदेशी लगानी सहजीकरण, संस्थागत सहकार्य सुदृढीकरण तथा व्यवसाय–देखि–व्यवसाय सम्पर्क प्रवद्र्धनमा महासंघ प्रतिबद्ध रहेको बताए।
वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले जेबीसीलाई व्यवहारिक र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए। कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैदेलीले स्थिर नीति, स्पष्ट कानुनी संरचना र बैंकिङ सहजीकरण भएमा कतारी लगानीकर्ताहरू दीर्घकालीन लगानीका लागि तयार रहेको धारणा व्यक्त गरे।
बैठकमा नेपाल–कतारबीच व्यापार, लगानी र निजी क्षेत्रको प्रत्यक्ष साझेदारीलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply