|
Getting your Trinity Audio player ready…
|

काठमाडौँ, फागुन १० । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई अझ सहज र परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन्।
नयाँ दिल्लीमा शुक्रबार उद्घाटन भएको ‘दोस्रो इन्डो–नेपाल व्यापार महोत्सव २०२६’ लाई सम्बोधन गर्दै उनले भन्सार प्रक्रिया सरलीकरण, मापदण्ड समन्वय, डिजिटल व्यापार प्रणाली सुदृढीकरण तथा साना–मझौला उद्योगलाई वित्तीय पहुँच र प्रविधि हस्तान्तरणमा सहजीकरण आवश्यक रहेको बताए
ढकालले भारतलाई नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार र प्रमुख लगानीस्रोतको रूपमा उल्लेख गर्दै खुला सीमा, सांस्कृतिक निकटता र जनस्तरको सम्बन्धले दुई देशबीचको साझेदारीलाई विशेष बनाएको धारणा व्यक्त गरे ।
भारतको हालैको केन्द्रीय बजेटले पूर्वाधार, डिजिटल कनेक्टिभिटी, हरित ऊर्जा तथा साना–मझौला उद्योग प्रवर्द्धनमा दिएको प्राथमिकताले नेपालका लागि नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्दै उनले नेपाल जलविद्युतमा समृद्ध रहेको र भारततर्फ विद्युत निर्यात सुरु भइसकेको जानकारी दिए। उपयुक्त प्रसारण लाइन र नीतिगत स्थायित्व भए नेपाल भारतको विश्वासिलो हरित ऊर्जा साझेदार बन्न सक्ने उनको भनाइ थियो।
पर्यटन क्षेत्रमा नेपालले प्राकृतिक सौन्दर्य, साहसिक तथा आध्यात्मिक गन्तव्य प्रस्तुत गरिरहेको उल्लेख गर्दै उनले होटल, रिसोर्ट तथा केबलकार परियोजनामा लगानीको अवसर विस्तार भइरहेको जानकारी दिए। ऊर्जा, पर्यटन, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सीमापार लजिस्टिक्स, कृषि प्रशोधन, औषधि उद्योग, शिक्षा र स्वास्थ्य सेवामा भारतीय लगानीकर्तालाई लगानी गर्न आग्रह गरे ।
ढकालले इन्डो–नेपाल व्यापार महोत्सवलाई सद्भावनालाई व्यवसायिक साझेदारीमा रूपान्तरण गर्ने महत्वपूर्ण मञ्चको रूपमा व्याख्या गर्दै हरित ऊर्जा, डिजिटल सेवा, पर्यटन र उत्पादन क्षेत्रमा ठोस सहकार्य अघि बढाउन भारतीय उद्योगी व्यवसायीलाई आह्वानसमेत गरे।

Leave a Reply