|
Getting your Trinity Audio player ready…
|

मस्कट, फागुन ११ । विश्वव्यापी रूपमा बढ्दै गएको एन्टिमाइक्रोबियल प्रतिरोध (एमएमआर) स्वास्थ्य संकटका बीच ओमानको सुल्तान काबुस विश्वविद्यालयका अनुसन्धानकर्ताले ऊँट (ड्रोमेडरी क्यामेल) बाट तीन नयाँ एन्टिमाइक्रोबियल पेप्टाइड (एएमपीएस) पहिचान गरेका छन्।
यी पेप्टाइडले बहु–औषधि प्रतिरोधी जीवाणु विरुद्ध प्रभावकारी देखिएको छ । यसले परम्परागत एन्टिबायोटिकको विकल्प बन्न सक्ने सम्भावना देखाएको अनुसन्धानहरुले जनाएका छन्।
फ्रन्टियर्स इन इम्युनोलोजी (जनवरी २१, २०२६, भोल्युम १७) मा प्रकाशित अध्ययनले बायोइन्फर्मेटिक्स भविष्यवाणी र प्रयोगशाला परीक्षणलाई संयोजन गरेको थियो। यसमा एमआरएसए र एमडीआर इ. कोली जस्ता जीवाणुमा कोलोनी–फर्मिङ परीक्षण, झिल्ली पारगम्यता परीक्षण तथा इलेक्ट्रोन माइक्रोस्कोपी प्रयोग गरिएको थियो।
सीडीपीजी-३ र सीडीक्याथ नामक दुई पेप्टाइडले ग्राम–पोजिटिभ तथा ग्राम–नेगेटिभ दुवै प्रकारका जीवाणुमा बलियो एन्टिब्याक्टेरियल गतिविधि देखाए। यी पेप्टाइडले जीवाणुको झिल्लीमा क्षति पुर्याउँदै चुहावट गराए तर कम मात्रामा ऊँट तथा मानवको रातो रक्तकोशिकामा विषाक्तता देखाएनन्।
अनुसन्धानकर्ताहरुका अनुसार ऊँटको बलियो प्राकृतिक प्रतिरक्षा प्रणाली, विशेषगरी क्याथेलिसिडिन–जस्तै एएमपीएस, अन्य रुमिनेन्टमा सामान्य हुने संक्रमणबाट बच्न सहयोगी हुन सक्छ। “यसले ऊँट एएमपीएसलाई प्रतिरोधी रोगजन्य जीवाणु विरुद्ध उपचारको सम्भावित आधार बनाएको छ,” अध्ययनमा उल्लेख गरिएको छ।
परम्परागत एन्टिबायोटिकले लक्ष्य उत्परिवर्तनमार्फत प्रतिरोध विकास गर्ने सम्भावना रहन्छ भने एएमपीएसले जीवाणुको झिल्लीलाई व्यापक रूपमा विघटन गर्ने भएकाले अनुकूलनको जोखिम कम हुन्छ। परीक्षणमा यी पेप्टाइडले न्यून हेमोलाइटिक गतिविधि देखाएका थिए, जसले भविष्यमा सुरक्षित प्रयोगको सम्भावना बलियो बनाएको छ।
अनुसन्धान टोलीले आगामी अध्ययनमा यी पेप्टाइडलाई चिकित्सकीय प्रयोगका लागि अझ परिष्कृत गर्ने योजना बनाएको छ, जसमा ओमानका ऊँट स्रोतलाई उपयोग गरिनेछ।

Leave a Reply