|
Getting your Trinity Audio player ready…
|

काठमाडौँ, चैत १० । ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबीच आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकलाई लक्षित गरी मोतिबिन्दुको पहिचान तथा निःशुल्क शल्यक्रिया गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
मंगलबार बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइतको उपस्थितिमा सम्झौता सम्पन्न भएको हो।
सम्झौता अनुसार, ग्लोबल आइएमई बैंकको वित्तीय सहयोगमा तिलगंगा आँखा प्रतिष्ठानले सातै प्रदेशका सात स्थानमा मोतिबिन्दु पहिचान तथा निःशुल्क शल्यक्रिया गर्नेछ। साथै, विद्यालयमा अध्ययनरत विपन्न छात्र–छात्राको आँखा परीक्षण गरी आवश्यक परे निःशुल्क चस्मा वितरण गर्ने व्यवस्था पनि गरिएको छ।
कार्यक्रममा अध्यक्ष ढकालले बैंकले स्थापनाकालदेखि नै नाफाको एक हिस्सा समाजलाई फिर्ता गर्ने परम्परा निरन्तरता दिँदै आएको उल्लेख गर्दै, सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई सातै प्रदेशमा समान रूपमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी, प्रा. डा. रुइतले सहकार्यलाई दिगो बनाउन पारदर्शिता र चुस्त व्यवस्थापनमा जोड दिने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले नेपालकै ठूलो बैंक र प्रतिष्ठित संस्थाबीचको सहकार्यले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप उत्साह प्रदान गर्ने उल्लेख गरे।
हस्ताक्षर समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित उच्च पदस्थ कर्मचारी तथा प्रतिष्ठानका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Leave a Reply