|
Getting your Trinity Audio player ready…
|

काठमाडौं, चैत १२ । कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०८१/८२ मा आर्जन गरेको कूल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई करिब रू. ५ अर्ब ३० करोड वितरण गरेको छ। यसमध्ये सञ्चयकर्ताको खातामा करिब रू. ५ अर्ब १९ करोड र निवृत्तभरण कोषका योगदानकर्ताको खातामा करिब रू. १० करोड ५५ लाख जम्मा गरिएको छ।
फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गर्दै व्यक्तिगत खातामा रहेको मौज्दात रकममा १.०० प्रतिशत दरले मुनाफा वितरण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार मुनाफा खातामा जम्मा गरिएको हो।
कोषले प्रत्येक वर्ष आर्जन गरेको मुनाफाको करिब ९० प्रतिशत सञ्चयकर्ताको खातामा राख्ने र बाँकी रकम विभिन्न कल्याणकारी तथा जगेडा कोषमा सुरक्षित गर्ने गर्दछ। आवश्यकताअनुसार ती रकम सञ्चयकर्ताको हितमा प्रयोग गरिन्छ।
चालू आर्थिक वर्षमा सञ्चयकर्ताले ४.२५ प्रतिशत व्याज प्राप्त गरेका छन्। साथै, विशेष सापटी सुविधा अन्तर्गत सञ्चित रकमको ९५ प्रतिशतसम्म ५.७५ प्रतिशत व्याजदरमा ऋण लिन सक्ने व्यवस्था गरिएको छ। यसरी व्याजदर र मुनाफा जोड्दा सञ्चयकर्ताले ५.२५ प्रतिशत प्रतिफल पाउनेछन्, जुन विशेष सापटीको व्याजदरभन्दा ०.५० प्रतिशत मात्र कम हो।
कोषले विगतदेखि नै विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल सापटी तथा जग्गा खरिद सापटी उपलब्ध गराउँदै आएको छ। साथै, स्वास्थ्य उपचार सोधभर्ना सुविधा, काजकिरिया अनुदान, सुत्केरी तथा शिशु स्याहार सुविधा, दुर्घटना क्षतिपूर्ति अनुदान लगायतका सामाजिक सुविधा पनि प्रदान गर्दै आएको छ।
कोषका तथ्याङ्कअनुसार, सुत्केरी तथा शिशु स्याहार सुविधाअन्तर्गत १९,१११ जनाले करिब रू. १४ करोड ३४ लाख प्राप्त गरेका छन्। त्यस्तै, काजकिरिया अनुदान वापत ६०५ जनाले करिब रू. २ करोड ४२ लाख पाएका छन्।

Leave a Reply