|
Getting your Trinity Audio player ready…
|

काठमाडौं, चैत १२ । कुमारी बैंकले मास्टर डेबिट कार्ड सार्वजनिक गरेको छ। विद्युतीय भुक्तानीलाई सहज बनाउन र ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले आज राजधानीमा विशेष कार्यक्रममार्फत कार्ड लञ्च गरिएको हो।
बैंकका अनुसार अहिलेका लागि मास्टर डेबिट कार्ड नेपाल, भारत र भुटानमा प्रयोग गर्न सकिनेछ। यसमार्फत डिजिटल बैंकिङ, सुरक्षित इन्टरनेट भुक्तानी, मोबाइल बैंकिङ, कार्डलेस बैंकिङ तथा इन्टरनेट बैंकिङको सुविधा थप सशक्त हुने बताइएको छ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले मास्टरकार्ड टेक्नोलोजीसँग सहकार्य गरेर यो कार्ड लञ्च गर्न पाउँदा ग्राहकको डिजिटल भुक्तानी प्लेटफर्मलाई विश्वव्यापी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले यसले अन्तर्राष्ट्रिय भुक्तानी अनुभव दिलाउने र डिजिटल रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
त्यस्तै, मास्टरकार्डका भाइस प्रेसिडेन्ट पवन सेलले कुमारी बैंकसँग दुई वर्षदेखि सहकार्य गर्दै आएको उल्लेख गर्दै यस लञ्चमार्फत सहकार्यलाई अझ मजबुत बनाइएको जानकारी दिए।
मास्टरकार्ड विश्वका २१० भन्दा बढी देशमा भुक्तानी गर्न सकिने सुविधा सम्पन्न कार्ड हो। यसमा जडित इएमभी स्मार्ट चिप प्रविधिले नगद भुक्तानी तथा खरिदलाई सुरक्षित बनाउने दाबी गरिएको छ।
युरोपे, मास्टरकार्ड र भिसाको संक्षिप्त रुपलाई इएमभी भन्ने बुझिन्छ । यी तीन कम्पनीहरूले नै भुक्तानी कार्डमा प्रयोग हुने स्मार्ट चिप प्रविधिको विश्वव्यापी मानक विकास गरेका थिए।
यी चिपहरूले प्रत्येक कारोबारका लागि अद्वितीय, इन्क्रिप्टेड कोड उत्पन्न गर्ने भएकाले चुहावट वा नक्कली कार्ड बनाउन कठिन हुने बताइन्छ। यसले परम्परागत म्याग्नेटिक स्ट्राइपभन्दा बढी सुरक्षा प्रदान गर्ने उल्लेख गरेको पाइन्छ ।

Leave a Reply