|
Getting your Trinity Audio player ready…
|

काठमाडौँ, चैत १५ । अमेरिकन कलेज अफ कार्डियोलोजीको २०२६ वैज्ञानिक सम्मेलनमा प्रस्तुत गरिएको मोमेन्टम अध्ययनले प्रतिरोधी उच्च रक्तचाप भएका बिरामीमध्ये करिब २७ प्रतिशतमा अत्यधिक कोर्टिसोल उत्पादन ‘हाइपरकोर्टिसोलिज्म’ देखिएको तथ्य सार्वजनिक गरेको छ।
माउन्ट सिनाई फस्टर हर्ट अस्पतालका निर्देशक तथा प्रमुख अनुसन्धानकर्ता डा. दीपक एल. भट्टले नेतृत्व गरेको अध्ययनमा ५० अमेरिकी केन्द्रका १,०८६ बिरामी सहभागी थिए। डेक्सामेथासोन परीक्षणमार्फत गरिएको अनुसन्धानमा २९७ बिरामीमा कोर्टिसोलको स्तर असामान्य रूपमा उच्च पाइएको थियो ।
रेजिस्ट्यान्स हाइपरटेन्सन अर्थात् प्रतिरोधी उच्च रक्तचाप भनेको तीन वा बढी औषधि सेवन गर्दा पनि रक्तचाप नियन्त्रणमा नआउने अवस्था हो । जसले अमेरिकामा करिब १ करोड बिरामीलाई प्रभावित गरेको तथ्य पाइन्छ। यसले हृदयघात, मुटु फेल हुने जस्ता गम्भीर जोखिम बढाउँने अध्ययनले देखाएको छ ।
डा. भट्टले भने, “इतिहासमा चिकित्सकहरूले सिकेको भन्दा धेरै प्रतिशत बिरामीमा कोर्टिसोल उच्च पाइयो। यसले प्रतिरोधी उच्च रक्तचाप भएका बिरामीमा कोर्टिसोल परीक्षणलाई प्राथमिकता दिनुपर्ने देखाउँछ।”
अध्ययनले अन्य हार्मोन सम्बन्धी रोगहरू पनि पहिचान गरेको छ। करिब २० प्रतिशत बिरामीमा अत्यधिक एल्डोस्टेरोन उत्पादन ‘हाइपर एल्डोस्टेरोनिज्म’ देखियो भने ६ प्रतिशतमा दुवै रोग एकैसाथ पाइएको छ ।
यस अध्ययन अमेरिकामा पहिलो र सबैभन्दा ठूलो अनुसन्धान मानिएको छ । अनुसन्धानुकर्ताका अनुसार प्रतिरोधी उच्च रक्तचाप भएका बिरामीमा हाइपरकोर्टिसोलिज्मको वास्तविक प्रचलन देखाएको छ। यसले भविष्यमा उपचार रणनीतिमा नयाँ विकल्प खोल्ने सम्भावना देखिएको छ ।

Leave a Reply