|
Getting your Trinity Audio player ready…
|

काठमाडौँ, वैशाख ७ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को समन्वयमा आयोजित हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भारसम्बन्धी प्राविधिक तालिम काठमाडौँमा सम्पन्न भएको छ।
विश्वव्यापी अटोमोबाइल ब्रान्ड टोयोटाका नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.को प्राविधिक सहयोगमा काठमाडौँस्थित केन्द्रीय कार्यालयमा तालिम आयोजना गरिएको हो।
कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीभीटी) अन्तर्गत बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालयका डिप्लोमा तह पाँचौँ सेमेस्टरका विद्यार्थीहरू तथा ट्राफिक चालकसहित २५ भन्दा बढी सहभागी उपस्थित थिए।
सहभागीहरूलाई हाइब्रिड सवारीसाधन प्रविधिसम्बन्धी विशेष प्राविधिक तालिम प्रदान गरिएको थियो। तालिममार्फत उनीहरूले हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भारबारे महत्वपूर्ण ज्ञान र व्यावहारिक सीप हासिल गरे।
गत चैत्रमा लक्ष्मी हुन्डाईमा आयोजित विद्युतिय सवारीसाधनसम्बन्धी ३ दिने तालिममा पनि सहभागी भएका उनीहरूले यसपटक हाइब्रिड प्रविधिसम्बन्धी नाइमाको मोबिलिटी संवाद कार्यक्रममा समेत सहभागिता जनाएका थिए। यसरी विद्युतियदेखि हाइब्रिड प्रविधिसम्मको ज्ञानलाई चरणबद्ध रूपमा जोड्दै सहभागीहरूको समग्र प्राविधिक क्षमता अभिवृद्धि गर्ने प्रयास गरिएको नाइमाले जनाएको छ।
कार्यक्रममा नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले प्राविधिक शिक्षा र विद्यार्थीहरूको सीप तथा क्षमता अभिवृद्धिमा तालिम कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्दै माग र उपलब्ध स्रोतका आधारमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
सीटीभीटीका उपनिर्देशक खुशीराम अधिकारीले हाइब्रिड सवारीसाधनसम्बन्धी विषयलाई पाठ्यक्रममा समावेश गर्ने प्राथमिकता राखिने र आवश्यक प्रक्रिया अघि बढाइने बताए। उनले नेपालको विविध भौगोलिक अवस्थालाई मध्यनजर गर्दै यस्ता सवारीसाधनको सान्दर्भिकता बढ्दै गएको पनि उल्लेख गरे।
बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालयका उपप्राचार्य प्रदीप न्यौपानेले नाइमाको प्रयासप्रति प्रशंसा व्यक्त गर्दै दक्ष जनशक्ति उत्पादनका लागि अटो उद्योग र प्राविधिक शिक्षाबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने धारणा राखे।
समापन सत्रमा वैद्यज अर्गनाइजेशन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङ हाउसेजका निर्देशक सूर्यांश वैद्यले यस्ता व्यावहारिक तालिमहरूले सहभागीहरूको पेशागत विकासमा टेवा पुर्याउने र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे।
तालिम टोयोटाका प्राविधिक विज्ञहरूले प्रदान गरेका थिए भने विद्युतिय सवारीसाधनसम्बन्धी तालिम लक्ष्मी हुन्डाईका प्राविधिक विशेषज्ञहरूले सञ्चालन गरेका थिए। यसले सहभागीहरूलाई दुवै प्रविधिमा आधारभूत तथा व्यावहारिक ज्ञान र सीप प्रदान गरेको छ।
नाइमाले आफ्ना प्राविधिक समितिहरू तथा सचिवालयमार्फत क्षमता अभिवृद्धि तथा प्राविधिक संवादलाई प्राथमिकतामा राख्दै अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको विकासका लागि यस्ता पहललाई अघि बढाउँदै आएको छ।

Leave a Reply