|
Getting your Trinity Audio player ready…
|

ललितपुर, वैशाख १२ । एभरेष्ट इन्जिनियरिङ कलेजमा आयोजित ‘एआई इनेवल्ड डिजिटल पेडागोजी’ विषयक तीन दिने कार्यशाला सम्पन्न भएको छ।
वैशाख ८ देखि १० गतेसम्म चलेको उक्त कार्यक्रमले कलेजका सम्पूर्ण शिक्षकलाई कृत्रिम बुद्धिमत्ता (एआई) र आधुनिक डिजिटल शिक्षण प्रविधिमा दक्ष बनाउने उद्देश्य राखिएको थियो।
कार्यशालाले परम्परागत शिक्षण पद्धतिलाई प्रविधिमैत्री, नवप्रवर्तनमुखी तथा विद्यार्थी–केन्द्रित बनाउन जोड दिएको छ। सहभागी शिक्षकहरूले एआई–आधारित टुल, डिजिटल प्लेटफर्म र आधुनिक शिक्षण विधि प्रयोगबारे व्यवहारिक ज्ञान हासिल गरेका छन्, जसले उनीहरूलाई “एआई दिक्षित” शिक्षकका रूपमा विकास गर्न मद्दत गरेको छ।
पहिलो दिन डिजिटल पेडागोजीको आधारभूत अवधारणा, शिक्षण क्षेत्रमा एआईको भूमिका र नयाँ प्रविधिसँग अनुकूलन हुने रणनीतिमा केन्द्रित सत्रहरू सञ्चालन गरिएको थियो । दोस्रो दिन डिजिटल कन्टेन्ट निर्माण, इन्टरएक्टिभ शिक्षण विधि तथा विद्यार्थी सहभागिता बढाउने उपायबारे अभ्यासमुखी तालिम दिएका थिए । अन्तिम दिन एआई–सहयोगी मूल्याङ्कन प्रणाली, डेटा–आधारित शिक्षण प्रक्रिया तथा भविष्यको स्मार्ट कक्षाको अवधारणाबारे विस्तृत छलफल गरिएको कलेजले जनाएको छ ।
समापन समारोहमा सह–प्राचार्य तथा कार्यक्रम संयोजक राजन लामाले कार्यशालाले शिक्षण प्रणालीमा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै शिक्षकहरूलाई प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न प्रेरित गरे। प्राचार्य प्रा. डा. हरिकृष्ण श्रेष्ठले डिजिटल युगअनुसार शिक्षण पद्धतिमा परिवर्तन अपरिहार्य भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले संस्थालाई अझ अग्रगामी बनाउने धारणा राखे। कलेजका सिइऔ अरुणकुमार भण्डारीले आधुनिक प्रविधिसँग शिक्षणलाई समायोजन गर्दै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने दिशामा कलेज निरन्तर अग्रसर रहेको बताउँदै आगामी दिनमा यस्ता पहलहरू अझ विस्तार गरिने प्रतिबद्धता जनाए।
कलेज प्रशासनका अनुसार यस कार्यशालाले शिक्षकहरूलाई डिजिटल युगअनुसार अद्यावधिक गर्दै शिक्षण गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य हासिल गरेको छ। भविष्यमा पनि यस्ता नवप्रवर्तनमुखी कार्यक्रम निरन्तर सञ्चालन गरिने जनाइएको छ, जसले विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्राप्त गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

Leave a Reply