|
Getting your Trinity Audio player ready…
|

काठमाडौं । नेपालका लागि एमजीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले सोमबार एक विशेष कार्यक्रमकाबीच ‘एमजी एस सिक्स’ इलेकट्राेनिक सवारीसाधन सार्वजनिक गरेको छ ।
कम्पनीले गत वर्ष बजारमा आएको एमजी एस ५ को सफलतापछि अझ बढी पावर, ठूलो साइज र आधुनिक प्रविधिले सुसज्जित यो नयाँ मोडल ल्याएकाे जनाएकाे छ । नेपाली बजारमा यस गाडीकाे ६९ लाख ९९ हजार मूल्य पर्ने बताइएकाे छ ।
कम्पनीका अनुसार सोमबारको औपचारिक सार्वजनिकलगत्तै नेपालभर रहेका एमजीका १४ वटा शोरुमहरूबाट बुकिङ र बिक्री वितरण सुरु हुनेछ। आधुनिक डिजाइन र उत्कृष्ट रेन्जका कारण यो गाडी नेपाली ग्राहकका लागि एउटा भरपर्दो र आकर्षक विकल्प बन्न सक्ने दावी गरिएकाे छ ।
प्राविधिक रूपमा यसमा १८० किलोवाटको मोटर र ७७ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ। यसमा एक पटकमा ५३० किलोमिटर सम्मको रेन्ज प्रदान गर्ने फूल चार्ज हुनेछ । ग्राउण्ड किलिरेन्स १९५ एमएम रहेकाे छ ।
यसमा रहेको रियर ह्विल ड्राइभले २४४ हर्सपावर र ३५० एनएम टर्क उत्पन्न गर्छ, जसले गर्दा पहाडी बाटोहरूमा पनि यसको प्रदर्शन उत्कृष्ट रहने पारामाउण्ट माेटर्सका महाप्रवन्धक सुनिल क्षेत्रीले बताए । “१ सय ४४ किलोवाट डीसी फास्ट चार्जिङ सपोर्ट गर्ने भएकाले गाडीलाई छिटो चार्ज गरेर लामो यात्रामा निस्कन सहज हुनेछ,” क्षेत्रीले भने ।
४ हजार ७०८ एमएम लम्बाइ र २ हजार ८३५ एमएम ह्विलबेस भएको यो एसयूभी विश्व बजारमा टेस्ला मोडल वाईको प्रतिस्पर्धी मानिन्छ। नेपालको सडक सुहाउँदो यसको ग्राउन्ड क्लियरेन्स करिब १९० एमएम रहेको छ। यो गाडी एमजीको मोड्युलर स्केलेबल प्लेटफर्ममा आधारित छ, जसमा एमजीको चर्चित ‘साइबरस्टर रोडस्टर’ बाट प्रेरित एंगुलर हेडल्याम्प र आकर्षक फासिया प्रयोग गरिएको छ।
गाडीको बाहिरी बनावट आरामदायी र विलासी छ। भित्री भागमा १२.८ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले र ११ वटा स्पिकरको अडियो सिस्टम जडान गरिएको छ।
व्यावहारिकता र सुरक्षालाई पनि कम्पनीले उत्तिकै प्राथमिकता दिएको छ। यसमा ६७४ लिटरको ठूलो बुट स्पेस छ, जसलाई पछाडिका सिटहरू फोल्ड गरेर १,९१० लिटरसम्म बढाउन सकिन्छ।
सुरक्षाका दृष्टिले यो गाडीले प्रतिष्ठित ५ स्टार ‘युरो एनकायप’ रेटिङ प्राप्त गरेको छ। प्यानोरामिक सनरुफ, वायरलेस चार्जिङ र इन-बिल्ट युट्युब स्ट्रिमिङ जस्ता फिचरले यसलाई थप आधुनिक बनाएको कम्पनीले जनाएकाे छ।

Leave a Reply