
लन्डन, जेठ ३० । घरमै रक्तचाप जाँच गर्ने र नतिजा चिकित्सकसँग सल्लाह गर्ने बिरामीमा ह्यदयघात, स्ट्रोक तथा मृत्युको जोखिम कम हुने नयाँ अध्ययनले देखाएको छ।
एडिनबर्ग नेपियर विश्वविद्यालय र एडिनबर्ग विश्वविद्यालयका अनुसन्धानकर्ताले सन् २०१९ देखि २०२२ सम्म स्कटल्याण्डमा उच्च रक्तचाप (हाइपरटेन्सन) भएका करिब ४.५ लाख बिरामीलाई अध्ययन गरे। तीमध्ये ९,५०० जनाले कनेक्ट मी बीपी नामक टेलिमोनिटरिङ सेवा प्रयोग गरे भने बाँकी बिरामीलाई स्थानीय चिकित्सकले सामान्य तरिकाले निगरानी गरे।
ब्रिटिश हर्ट फाउन्डेशनको सहयोगमा गरिएको अध्ययन युरोपियन ह्यर्ट जर्नल- डिजिटर हेल्थमा प्रकाशित भएको हो। यसले टेलिमोनिटरिङ प्रयोग गर्ने बिरामीमा तीन महिनाभित्रै रक्तचाप घटेको र एक वर्षसम्म कायम रहेको देखायो। साथै, ती बिरामीमा अस्पताल भर्ना हुने दर र हृदयसम्बन्धी कारणले मृत्यु हुने दर उल्लेखनीय रूपमा कम भएको पाइएको छ ।
उच्च रक्तचाप विश्वव्यापी स्वास्थ्य समस्या हो, जसले हरेक वर्ष करिब ७.५ मिलियन मृत्यु गराउँछ। यसले प्रायः लक्षण देखाउँदैन, त्यसैले दीर्घकालीन निगरानी र जीवनशैलीमा परिवर्तन तथा औषधि प्रयोग आवश्यक हुन्छ।
अघिल्ला अध्ययनहरूले टेलिमोनिटरिङले रक्तचाप नियन्त्रणमा मद्दत गर्ने देखाएका थिए, तर स्ट्रोक वा हृदय विफलता जस्ता गम्भीर परिणाममा यसको प्रभावबारे पर्याप्त प्रमाण थिएन। नयाँ निष्कर्षले यस प्रविधिको व्यापक प्रयोगले स्वास्थ्य प्रणालीमा दबाब कम गर्न सक्ने सुझाव दिएको छ।
एडिनबर्ग नेपियर विश्वविद्यालयकी सह-प्राध्यापक तथा अध्ययनकी प्रमुख लेखक जेनेट ह्यान्लीले भनिन्, “स्ट्रोक, ह्यदयघात र हृदय विफलता मृत्यु तथा अपाङ्गताको प्रमुख कारण हुन्। जोखिम कम गर्ने कुनै पनि उपाय महत्वपूर्ण हुन्छ। रक्तचाप टेलिमोनिटरिङले यसलाई सजिलो र सुविधाजनक तरिकाले नियन्त्रण गर्न मद्दत गर्छ।”
एडिनबर्ग विश्वविद्यालयका प्राध्यापक ब्रायन म्याकिन्स्ट्रिले थपे, “यो अध्ययनले टेलिमोनिटरिङले रक्तचाप मात्र होइन, स्ट्रोक र मुटुघात पनि कम गर्ने सबभन्दा बलियो प्रमाण दिएको छ। देशका सबैभन्दा जोखिममा रहेका आर्थिक रूपमा कमजोर समुदायलाई यसबाट लाभ दिलाउनु जरुरी छ।”
स्कटल्याण्ड अहिले यो प्रविधि प्रयोगमा विश्वकै अग्रणी बनेको छ, जहाँ १.३ लाख मानिसले कनेक्ट मी बीपी सेवा प्रयोग गरी रक्तचापको निदान तथा नियन्त्रण गरेका छन्।
ब्रिटिश हर्ट फाउन्डेशनका अनुसन्धान निर्देशक प्रोफेसर जेम्स लिपरले भने, “घरमै नियमित रूपमा रक्तचाप जाँच गर्ने र नतिजा चिकित्सकलाई पठाउने अभ्यासले बिरामीको स्वास्थ्य सुधार गर्न मद्दत गर्छ भन्ने थप प्रमाण यो अध्ययनले दिएको छ। अस्पताल भर्ना तथा मृत्यु दरमा आएको कमी उत्साहजनक छ।”

Leave a Reply