कृषक लक्षित हाटबजार एप, कृषि उत्पादन एपबाटै विक्री गर्न मिल्ने

काठमाडौं । कृषकले आफ्नो सामान अनलाइन मार्फत् बेच्न मिल्ने व्यवस्थासहितको ‘हाट बजार एप’ सार्वजनिक भएको छ। ‘एन्ड्रोएड’ र ‘आई ओ एस’ दुवै प्रणालीमा उपलव्ध एप निःशुल्क डाउनलोड गरि जोकसैले चलाउन सक्नेछ । 

यस एपले कृषक र उपभोक्तालाई सिधै जोड्ने हाट बजार एप निर्माण कम्पनी ट्राभहिल डट कम प्रा. लि.ले जनाएको छ ।

कम्पनीका अनुसार गाँउमा कृषकको उत्पादनले बजार नपाएको र शहरमा व्यापारी तथा उपभोक्ताले सिधै किसानबाट उत्पादित सामान खरिद गर्न नपाउँदा कृषि जन्य सामानहरू महँगो पर्ने हुँदा यस एपबाट उपभोक्ताले सामानको मूल्य सजिलै थाहा पाउन सक्नेछ।

कृषकले उत्पादन गरेको सामग्रीको बजार मुल्य नपाएको अवस्थामा यस एपले केही भएपनि सुधार गर्ने अपेक्षा गरिएको छ ।

हाट बजार (Hat Bazar) एपमा किसान तथा बिक्रेताले आफ्नो सामानको मूल्य आफै तोक्न सक्छन् । त्योसँगै विवरणमा फोटो, मूल्य, स्थान, सामानको गुण, डेलिभेरी सुविधा आदि खुलाई एपमा प्रचार गर्न सक्छन् । किसानले बिक्रीमा राखेको सामान क्रेताले आफूलाई आवश्यक  गुणस्तर हेरेर, मोलमोलाइ गरेर, ठिक लागेमा सिधै किसानबाट खरिद गर्न सकिने एम निमार्ण कम्पनीका प्रवक्ता सुजल श्रेष्ठ बताउँछन् ।

प्रवक्ता श्रेष्ठका अनुसार कृषक वा व्यापारीले आफ्नो सामान धान, मकै, गहुँ, तरकारी, फलफूल, मरमसला, मासु, पशुपन्छी, माछा, बिउ, घरेलु उत्पादन, नर्सरी, कृषि सामाग्री र खेतीको लागि जग्गा भाडामा लिन वा दिन परेमा निशुल्क यो एपमार्फत् विक्रीमा राख्न सक्छन् ।  एपमा आफ्नो सामानको विवरण राख्ने वितितै तुरुन्त एप प्रयोगकर्ताहरूलाई ‘कस्ले के बेच्न राख्यो’ भनेर नोटिफिकेशन जान्छ। उक्त सूचनाका आधारमा कृषकको सामान छिटो बिक्री एप निर्माण कम्पनीको दावी छ ।

कम्पनीका अनुसार जुम्लामा भएको स्याउ कसैले यस एप मार्फत् बेच्न राखेमा उक्त सूचना हाट बजार एप प्रयोग कर्तामा पुग्दा स्याउले उचित मूल्य पाउने तथा छिटो बिक्री हुने सम्भावना हुनेछ । 

यदि सामान विक्री भैसकेको अवस्थामा त्यसलाई एपबाट हटाउन मिल्ने फिचर पनि समावेश छन् । उक्त एपमा कृषकको प्रोफाइल, कृषि सम्बन्धि समाचार पढ्न, भिडीयोहरु हेर्न र सोसियल मिडीयामा पनि शेयर गर्न सकिने जस्ता फिचर छन् ।