अक्सिजन सिलिण्डर परिक्षण गर्ने प्रवधिमा नास्ट र यूएनडीपीबीच एमओयु

–रिभोसाइन्स संवाददाता

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) बीच समझदारीपत्र (एमओयु)मा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा नास्टका तर्फबाट उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ र यूएनडीपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयसाने मेदागङ्गोडा–लबेले हस्ताक्षर गरेका हुन् ।

कोभिड महामारीबीचमा नेपालमा अक्सिजन सिलिण्डर अभाव भएपछि नास्टले स्थानीय तहमै अक्सिजनको सिलिण्डर परिक्षण उत्पादनमा सफलता पाएसँगै त्यसलाई थप विकास गर्न यूनडीपीसँग समझदारीपत्रमा हस्तारक्षर गरेको नास्टका उपकुलपति श्रेष्ठले रिभोसाइन्सलाई बताए ।

उपकुलपति श्रेष्ठले भने, ‘स्थानीय रुपमा अक्सिजन सिलिण्डर उत्पादन तथा अन्यत्रबाट आयात गरिएका अक्सिजन सिलिण्डरको गुणस्तर परिक्षण गर्ने प्रयोगशाला स्थापना गरिनेछ । त्यसका लागि आवश्यक उपकरण यूनडीपीले आगामी दुई महिना भित्र नास्टलाई सहयोग गर्नेछ ।’

समाझरीपत्रका अनुसार नास्टले थप अनुसन्धान तथा विकासका लागि प्रयोगशाला स्थापना तथा जनशक्ति व्यवस्था गरि सिलिण्डर नमूना बनाउने छ । सोही प्रयोगशालाले नेपालमा भित्रिसकेका अक्सिजन सिलिण्डरले काम गरेको वा नगरेको तथा गुणस्तर परिक्षण गरेर लेभल गर्नेछ ।

समझदारी पत्रको दोस्रो वुदामा बढ्दो शहरीकरणमा देखिएको खुला क्षेत्रमा कमी, हरियाली, जैविक फोहर व्यवस्थापनलगायतमा साझा कार्यक्रम बनाएर अगाडि बढ्ने भन्ने छ । त्यसका लागि पहिलो चरणमा शहरी अनुसन्धान तथा नवप्रवर्तन केन्द्रको स्थापना गर्ने विषयमा छलफल भएको नास्टले जनाएको छ ।

नास्टका उपकूलपति श्रेष्ठका अनुसार पहिलो प्राथमिकता अक्सिजन सिलिण्डर परिक्षण गर्ने प्रविधि बन्नेछ । त्यसपछि शहरी क्षेत्रमा हरियालीसँगै खद्य आत्मनिर्भरताका लागि ‘खाद्य हरियाली शहर (फूड ग्रीन सिटी)’ मा संयुक्त कार्यक्रम बनाएर काम गरिनेछ ।