उपत्यकाव्यापी ‘आइडियाथन’ प्रतिस्पर्धा हुने

ललितपुर । काठमाडौं भ्याली लियो क्लब (केभिएलसी) पुल्चोक क्याम्पसको आयोजनामा उपत्यकाव्यापी वौद्धिक प्रतिस्पर्धा आइडियाथन ‘प्रस्तावः ट्रान्सफर्मिङ काठमाडौँ’’ हुने भएको छ । उक्त प्रतिस्पर्धामा उपत्यकाका इन्जिनियरिङ कलेजमा स्नातक अध्ययनरत विद्यार्थीहरु सहभागी हुन पाउने छन् ।

सहभागी हुन चाहने समूहले उपत्यका फोहर व्यवस्थापन,  वायू र पानी प्रदुषणको पूर्ण समाधानमा केन्द्रित भएर पूर्ण प्रस्ताव मंसीर २६ सम्म आयोजकलाई पठाइसक्नु पर्नेछ ।

आयोजक केभिएलसी पुल्चोक क्याम्पसका अनुसार सहभागी हुन चाहने विद्यार्थीले २-४ जनाको समूह मार्फत् ‘आइडिया’ आयोजकलाई पठाउन पर्नेछ । यसबाट पहिलो चरणमा २० समूह दोस्रो चरणका लागि छनोट गरिने केभिएलसीका अध्यक्ष गरिमा आचार्य बताइन ।

त्यसपछि २० समूहबाट दोस्रो चरणका लागि प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणको प्रतिस्पर्धाका लागि सहभागी समूहले पूर्ण समाधानयुक्त श्रव्यदृश्य सामग्री पहिलो चरणमा पेश गरेको प्रस्ताव अनुसारको ‍कल्पना ‘पीच’ गर्न पर्ने हुन्छ ।

आयोजक केभिएलसी पुल्चोक क्याम्पसका अध्यक्ष आचार्यका अनुसार श्रव्यदृश्य सामग्री पठाउँदा सवैका लागि सफा वागमति, वायु प्रदुषण नियन्त्रण र ठोस फोहरमा कौशलताजस्ता तीन शिर्षक मध्य कुनै एउटा शिर्षक छनोट गर्नु पर्दछ ।

‘आइडिया’ पूर्ण रुपमा समाधानयुक्त हुनु पर्नेछ,’  आचार्यले रिभोसाइन्सलाई भनिन्, ‘अन्यत्रबाट चोरी गरिएको आइडियालाई मान्यता दिने छैन । आइडिया पूर्णरुपमा मौलिक हुन पर्नेछ ।’

आचार्यका अनुसार दोस्रो चरणमा प्रवेश गरेका २० समूहले बनाएको श्रव्यदृश्य सामग्रीको आधारमा विज्ञहरुको समितिले ८ समूह छनोट गर्नेछ । त्यसपछि, ती ८ समूहले भौतिक रुपमा आफ्नो लिखित तथा मौखिक प्रस्तुति तेस्रो चरणमा दिन पर्दछ ।

अन्तिम चरणमा विज्ञ समितिको मूल्यांकनको आधारमा पहिलो, दोस्रो र तेस्रो तीन समूहलाई विजेता घोषणा गरिने बताइएको छ । उक्त प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः ८० हजार बराबरको नगद तथा अन्य सूविधा प्राप्त गर्ने आयोजकले जनाएको छ ।