टेलिस्कोप निर्माण तालिम सम्पन्न

तस्वीर: नासो

काठमाडौं । स्थानीय साधनस्रोतको प्रयोग गरी तीन दिने टेलिस्कोप बनाउने तालिम सम्पन्न भएको छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी(नासो)ले इन्टरनेशनल एष्ट्रोनोमिकल युनियन अन्तर्गत अफिस अफ एष्ट्रोनोमी फर नेपाल, इन्टर-युनिभर्सिटी सेन्टर फर एष्ट्रोनोमी एन्ड एष्ट्रोफिजिक्स, भारत तथा पञ्चकन्या माध्यमिक विद्यालयको सहकार्यमा तालिम सम्पन्न गरेको जनाएको छ ।

नासोका अनुसार तालिममा विभिन्न विद्यालयका २१ विज्ञान शिक्षकहरु सहभागी थिए । सो तालिम इन्टर-युनिभर्सिटी सेन्टर फर एष्ट्रोनोमी एण्ड एष्ट्रोफिजिक्स, इन्डियाका पब्लिक आउटरिच अफिसर समिर धुर्देले प्रशिक्षण दिएका थिए। 

सहभागीले परावर्ती टेलिस्कोप (रिफ्लेक्टिङ्  टेलिस्कोप) र आवर्तीत टेलिस्कोप (रिफ्राक्टिङ टेलिस्कोप) बनाउने प्रशिक्षण लिएको नासोका अध्यक्ष सुरेश भट्टराईले बताए । उनले प्रशिक्षार्थीहरुले ५ इन्चको रिफ्लेक्टर टेलिस्कोप बनाएको बताए ।

अध्यक्ष भट्टराईकाअनुसार सहभागीले पिभिसि पाइप, किल्ला, प्लाई, ऐना तथा लेन्स प्रयोग गरी ५ आवर्तीत र ३ परवर्तित टेलिस्कोप बनाएको छ।

पाठ्यक्रममा भएको सैद्दान्तिक कुरालाई व्यवहारमा उतार्ने शीप सिक्न पाउँदा हर्षित भएको सेलिब्रेसन कोएड स्कूलका विज्ञान शिक्षक मनिराम राईले बताए । ‘यस प्रकारका तालिम हरेक विद्यालयतमा हुनुपर्ने शिक्षक राईले अपेक्षा गरें ।

तीन दिने टेलिस्कोप निर्माणसम्वन्धी तालिमको सञ्चालन तथा व्यवस्थापनको भूमिका नासोका परियोजना संयोजक मनिषा द्वाले गरेकी थिइन् ।