खुला प्रतिस्पर्धाबाट नास्टमा उपकुलपति माग

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)मा रिक्त उपकुलपतिको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधवार एक सूचना जारी गरी प्रक्रिया अगाडि बढाएको हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानको उपकुलपति सिफारिस समितिको सूचनाअनुसार २०८० आषाढ १० गते सम्म आफ्नो कार्य योजना सहित वैयक्तिक विवरण लिखित रूपमा पेस गर्न आह्वान गरिएको छ ।

सूचनामा भनिएको छ, ‘नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति सिफारिसको लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान ऐन, २०४८ को उपदफा (१क) बमोजिम विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिएका व्यक्तिहरूमध्येबाट सिफारिस गर्नु पर्ने भएकोले विज्ञान तथा प्रविधिको क्षेत्रमा आफूले पुर्‍याएको योगदान, विज्ञान तथा प्रविधिको क्षेत्रको विकास र समृद्धिको लागि आफ्नो कार्य योजना र वैयक्तिक (वायोडेटा) समेत समावेश गरी लिखित रूपमा मिति २०८०। ३ ।१० गतेसम्म (सात दिनभित्र) कार्यालय समयभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आवेदन दिन सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’