
काठमाडौं, पुष १६ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सामाजिक जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले वार्षिक सामाजिक परीक्षण सम्पन्न गरेको छ।
महासंघका संघीय अध्यक्ष देबिदत्त आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा महासचिव सुगम भट्राईले वार्षिक प्रतिवेदन प्रस्तुत गरे भने सामाजिक परीक्षक नमस्कार शाहले सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा परियोजना अधिकृत रोशन न्यौपाले महासंघले सञ्चालन गरेका विभिन्न परियोजनाबारे जानकारी दिए। यस अवसरमा पूर्व अध्यक्ष डा. बिरेन्द्रराज पोख्रेल, प्रशासकीय प्रमुख लय प्रसाद उप्रेती लगायतको उपस्थिती रहेको थियो।
विभिन्न सरोकारवालाहरुले आफ्ना विचार राखेका थिए। नेपाल नेत्रहीन संघका महासचिव कलाधर भण्डारीले अपाङ्गताको आयआर्जन र रोजगारीका लागि दिगो स्रोतको खोजी गर्दै नयाँ संस्थाहरुलाई महासंघले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए। उनले निर्वाचनमा अपाङ्गता र समावेशिताको सवाललाई जोड्न माग गरे।
अपाङ्गता अधिकारकर्मी गिरीधारी सुवेदीले अपाङ्गता भएका व्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था महासंघको पहलबाट सम्भव भएको बताए। एक्सेस प्लानेटकी लक्ष्मी नेपालले अपाङ्गता भएका बालिकाको मुद्दामा आवाज उठाउनुपर्ने आवश्यकता जोड दिइन्।
तेह्रथुमकी नरमाया लिम्बूले अपाङ्ग परिचयपत्र गुणस्तरीय बनाउनुपर्ने सुझाव दिइन् भने पूर्व अध्यक्ष दिपक कोईरालाले महासंघका कामहरुलाई थप प्रचार–प्रसार गर्नुपर्ने बताए। जेनजी प्रतिनिधि मदन रोकायले महासंघभित्र युथ एडभाइजरी काउन्सिल गठन गर्नुपर्ने प्रस्ताव राखे।
त्यस्तै, अपाङ्गता अधिकारकर्मी नबिना ज्ञवालीले महासंघले उद्यमशीलतालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरिन्। कार्यक्रममा सुस्मिरा अर्याल, बहिरा युवा महासंघका रामचन्द्र गैरे लगायतले पनि आफ्ना विचार प्रस्तुत गरेका थिए।

Leave a Reply