
नेपालगञ्ज, पौष १६। पूर्व राष्ट्रिय सभा सदस्य मीना बुढाले आफ्नो पुस्ताले बुहारीलाई दिन नसकेको ज्ञान यस कार्यक्रममार्फत प्राप्त भएकोमा खुशी व्यक्त गरेकी छिन्।
फ्रिडम किटब्याग्स युकेको आर्थिक सहयोगमा बास नेपालले दाङ जिल्लाको गढवा गाउँपालिका–६, मानिकापुरस्थित पिपल चौतारामा सोमवार आयोजना गरेको फ्रिडम किट ब्याग्स वितरण तथा सामुदायिक शिक्षा कार्यक्रममा बोल्दै बुढाले महिनावारी स्वच्छता र सामुदायिक शिक्षा महिलामात्र नभई पुरुषका लागि पनि समान रूपमा आवश्यक रहेको उल्लेख गरिन्।
फ्रिडम किट वितरण
कार्यक्रममा मानिकापुरका ७५ जना महिला तथा किशोरीलाई पुनः प्रयोग गर्न सकिने सेनेटरी प्याडसहितको फ्रिडम किट झोला वितरण गरिएको थियो । सहभागी महिला तथा किशोरीहरूले ग्रामीण क्षेत्रमा शिक्षा र वितरण कार्यक्रम सञ्चालन गरेकोमा बास नेपाललाई धन्यवाद ज्ञापन गरे।
उनीहरूले प्याड किन्न नसक्ने वा पहुँच नभएका महिलाहरूका लागि महिनावारी पीडादायी हुने बताए। फ्रिडम किटले समस्यालाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै अन्य महिलाहरूलाई पनि यस्ता कार्यक्रम विस्तार गर्न आग्रह गरे।
कार्यक्रममा बास नेपालकी पूर्व परियोजना व्यवस्थापक रष्टि बुढामगरले सामुदायिक शिक्षा सत्र सञ्चालन गरिन्। परियोजना व्यवस्थापक रमिता शाह र शिक्षा अधिकृत मीना घर्तिमगरले प्याड प्रयोग विधिबारे कक्षा दिए।
गढवा गाउँपालिका–६ का वडा अध्यक्ष वीरबहादुर आले मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व राष्ट्रिय सभा सदस्य मीना बुढा, ज्येष्ठ नागरिक कर्णबहादुर बुढा, स्थानीय युवा बुद्धिबल बुढा, बास नेपालका निर्देशक हेमराज भट्ट, परियोजना व्यवस्थापक रमिता शाह, शिक्षा अधिकृत मीना घर्तिमगर लगायतको सहभागिता थियो।

Leave a Reply