
काठमाडौं, माघ ७ । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ६१ औं वार्षिकोत्सवको अवसरमा मंगलबार रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
बैंकको केन्द्रीय कार्यालय काठमाडौंसहित विभिन्न प्रदेशीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा ४१३ जनाले रक्तदान गरेका छन्। त्यस्तै, सिंहदरबारप्लाजास्थित केन्द्रीय कार्यालयमा सञ्चालन गरिएको नि:शुल्क स्वास्थ्य शिविरमा २५० जना कर्मचारीले स्वास्थ्य परीक्षण गराएका छन्।
स्वास्थ्य शिविरमा सुमेरु अस्पताल, जावलाखेलका चिकित्सकहरूले डायबिटिज्, युरिक एसिड, आँखा परीक्षण तथा मृगौला परीक्षण सेवा नि:शुल्क उपलब्ध गराएका थिए। साथै, युजिसी टेस्टलगायतका अन्य स्वास्थ्य परीक्षण सेवा सहुलियतपूर्ण शुल्कमा प्रदान गरिएको थियो।
वि.सं. २०२२ सालमा पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक आउँदो माघ १० गते ६० वर्ष पूरा गरी ६१ औं वर्षमा प्रवेश गर्दैछ। हाल बैंकले सातै प्रदेशका ७७ जिल्लामा ३१३ शाखा, ७१ एक्सटेन्सन काउन्टर, ३२२ एटिएम तथा ९९ शाखारहित बैंकिङ्ग सेवामार्फत आधुनिक वित्तीय सेवा प्रदान गर्दै आएको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित रक्तदान तथा स्वास्थ्य शिविरले बैंकका कर्मचारी र समाज दुवैलाई लाभान्वित गरेको बैंकले जनाएको छ।

Leave a Reply