
काठमाडाैं, वैशाख ३१ । अल्ट्रासाउन्ड प्रयोग गरेर मस्तिष्कको विशेष भागलाई उत्तेजित गर्दा दीर्घकालीन पीडामा राहत हुने उपचारको सम्भावना देखिएकाे छ । प्लायमाउथ विश्वविद्यालयको ब्रेन रिसर्च एण्ड इमेजिङ सेन्टर तथा एक्सेटर मेडिकल स्कूलका विज्ञहरूले गरेको नयाँ अध्ययनले नयाँ कुरा देखाएको छ।
उनीहरूले अनुसन्धानका नतिजा नेचर कम्युनिकेसन्स वैज्ञानिक पत्रिकामा प्रकाशित गरेका छन् ।
अनुसन्धानमा सहभागीहरूलाई ट्रान्सक्रानियल अल्ट्रासाउन्ड सिमुलेसन (टीयूएस) नामक सुरक्षित, न्यून-तीव्रता र लक्षित न्युरोमोडुलेशन प्रविधि प्रयोग गरी डोर्सल एन्टिरियर सिङ्गुलेट कोर्टेक्स (डीएसीसी)मा स्टिमुलेट गरेका थिए । सो उत्तेजनाको क्रममा उनीहरूको दायाँ हातलाई चिसो जेलमा राखी पीडाको अनुभूति गराइयो र पीडाको स्तरबारे प्रश्न सोधिएको थियो ।
एमआरआई तथा एमआरएस स्क्यानमार्फत मस्तिष्कमा हुने कार्यात्मक तथा जैव-रासायनिक परिवर्तनहरू पनि निगरानी गरेका थिए । अध्ययनका अनुसार नतिजामा तत्काल पीडामा कमी नभए पनि २८ देखि ५५ मिनेटपछि उल्लेख्य रूपमा पीडा कम भएको देखियो, जसले टीयूएसले ढिलो प्रभावकारी एनाल्जेसिक असर दिन सक्ने सम्भावना जनाउँछ।
अनुसन्धान टोलीले यसले दीर्घ पीडासँग सम्बन्धित मस्तिष्कको कार्यप्रणालीमा अर्थपूर्ण परिवर्तन ल्याउन सक्ने देखाएको बताएको छ। यसले फाइब्रोमायल्जिया, ढाड दुखाइ, आर्थराईटिस जस्ता अवस्थाहरूमा वा क्यान्सर उपचारपछि पुनःस्थापनाको क्रममा उपचारात्मक प्रयोगको आधार तयार गर्ने विश्वास गरिएको छ।
डॉ. सोफी क्लार्कले भनिन्: “यो अध्ययनले टीयूएस कसरी मस्तिष्कको पीडा प्रशोधन प्रक्रियासँग अन्तरक्रिया गर्छ भन्ने बुझ्न मद्दत गर्छ। दीर्घ पीडामा यसले प्रभावकारी उपचार दिन सक्छ कि भन्ने बुझ्नका लागि यो महत्वपूर्ण कदम हो।”
प्लायमाउथ विश्वविद्यालय विश्वव्यापी रूपमा मस्तिष्क अनुसन्धानमा अग्रणी मानिन्छ। यसले चिन्ता, डिप्रेशन, लत तथा अन्य स्नायु-मानसिक रोगहरूमा मस्तिष्क उत्तेजनाको लाभबारे व्यापक अनुसन्धान गरेको छ।
प्रोफेसर एल्सा फोराग्नानले भनिन्, “दीर्घ पीडामा पीडितहरूलाई दीर्घकालीन लाभ दिने उपचारहरू निकै कम छन्। यस अध्ययनका नतिजा उत्साहजनक छन् र हामी यसलाई थप परीक्षण गर्दैछौं।”
यस अनुसन्धानमा एक्सेटर विश्वविद्यालयका विज्ञहरू पनि संलग्न थिए। डा. स्याम ह्युजले भने, “हाम्रो अध्ययनले पीडा प्रशोधनमा संलग्न गहिरा मस्तिष्क क्षेत्रहरूलाई गैर-आक्रामक रूपमा उत्तेजित गर्न सक्ने सम्भावना देखाएको छ। यसले पीडाको अनुभूति परिवर्तन गर्न र मस्तिष्कको अन्य भागहरूसँगको सञ्चारमा असर गर्न सक्छ।”

Leave a Reply