
काठमाडौं, वैशाख ३१ । आधुनिक चिकित्साको मेरुदण्ड मानिने क्लिनिकल ट्रायल अब डिजिटल युगतर्फ अघि बढ्दैछन् ।
रिभ्यू अन रिसेन्ट क्लिकल ट्रायल्समा प्रकाशित नयाँ समीक्षाले भर्चुअल क्लिनिकल ट्रायल्स (भीसीटीएस) को सम्भावना र चुनौतीबारे चर्चा गरेको छ। यो अध्ययन फ्रान्सिस्को एपेल्डे, डोलोरेस रेक्साच्स, आल्भारो वोंग र एमिलियो लुकेद्वारा गरिएको हो।
पार्क ताउली अस्पताल युनिभर्सितारी र युनिभर्सिट्याट अटोनोमा डि बार्सिलोनाका अनुसन्धानकर्ताहरूले भीसीटीएसमा गणितीय मोडेल, कृत्रिम बुद्धिमत्ता र ठूला डेटासेट प्रयोग गरेर ‘भर्चुअल जनसंख्या’ निर्माण गर्ने बताएका छन्। यी डिजिटल रोगीहरूले विभिन्न उमेर, जैविक विशेषता र रोग प्रोफाइल प्रतिनिधित्व गर्न सक्छन्।
परम्परागत क्लिनिकल ट्रायल पूरा गर्न वर्षौं लाग्ने र करोडौं डलर खर्च हुने गर्छ। तर भर्चुअल ट्रायलले केही दिनमै नतिजा दिन सक्छ। महामारी वा स्वास्थ्य संकटमा यस्तो गति जीवनरक्षक हुन सक्छ। यसले कमजोर औषधि उम्मेदवारलाई प्रारम्भिक चरणमै छान्न मद्दत गर्छ।
लेखकहरूले भनेका छन्, ‘भर्चुअल क्लिनिकल ट्रायल मानव’ अध्ययनको विकल्प होइन। मोडेलहरू प्रयोग गरिएका डाटामा निर्भर हुन्छन् र दुर्लभ साइड इफेक्ट वा जटिल प्रतिक्रिया छुट्न सक्छ। त्यसैले भर्चुअल नतिजा सधैं वास्तविक डाटासँग मिलान गर्नुपर्ने बताइएको छ।
भीसीटीएसले परम्परागत ट्रायलमा कम प्रतिनिधित्व भएका समूहलाई समावेश गर्न सक्ने बताइएको छ । तर समीक्षाअनुसार, यदि प्रयोग गरिएका डाटा पक्षपाती भए, त्यही पक्षपात मोडेलमा पुनः उत्पादन हुनेछ।
वर्तमान नियामक संरचना मानव-आधारित ट्रायलका लागि बनेका कारण भविष्यमा निमयनमा ठूलै चुनोती देखिएको छ । त्यसका लागि डिजिटल ट्रायललाई समेट्न नयाँ मापदण्ड आवश्यक देखिन्छ। लेखकहरूले पारदर्शिता, प्रमाणीकरण र सुरक्षा उपायहरूमा जोड दिएका छन्।
यो समीक्षाका निष्कर्ष अनुसार भविष्यमा हाइब्रिड अनुसन्धान हुनेछ, जहाँ भर्चुअल ट्रायल, डिजिटल ट्विन, सिन्थेटिक कन्ट्रोल आर्म र परम्परागत अध्ययन एकसाथ प्रयोग हुनेछन्। जिम्मेवारीपूर्वक प्रयोग गरिएमा VCTs ले औषधि विकासलाई छिटो, सुरक्षित र प्रभावकारी बनाउन सक्छ भन्ने उल्लेख छ ।

Leave a Reply