|
Getting your Trinity Audio player ready…
|

काठमाडौं, जेठ ०१ । विशेषज्ञहरूले जलवायु परिवर्तनले मौसम ढाँचा बदल्ने र चरम घटनाको आवृत्ति तथा तीव्रता बढाउने भएकाले हिन्दुकुश हिमालय क्षेत्रमा बहु–विपद् जोखिम अझ तीव्र हुने चेतावनी दिएका छन्।
अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसीमोड) को विश्लेषणले सन् २०२५ मा हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका आठमध्ये चार देशले १० भन्दा बढी ठुला विपद् भोगेअनुसार बढ्दो जोखिमप्रति संवेदनशीलता उजागर गरेको हो।
एशियामा सन् २०२५ मा विश्वकै ठुलो हिस्सा विपद् भएको तथ्याङ्कले देखाउँछ, जुन ‘एचकेएच’ क्षेत्रमा पनि प्रतिबिम्बित भएको छ।
विश्वकै प्रमुख विपद् तथ्याङ्क भण्डार ‘इएम डेटा’को विश्लेषणअनुसार सन् २०२४ मा मात्र ‘एचकेएच’ देशहरूले विपद् कारण करिब ६ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति बेहोरेका थिए। अधिकांश क्षति बाढी, पहिरो र आँधीजस्ता पानीसम्बन्धी विपद् कारण भएको थियो।
२०२५ मा पनि अवस्था निरन्तर रह्यो। तीव्र मनसुन वर्षाले बंगलादेश, भारत, नेपाल र पाकिस्तानमा बारम्बार बाढी र पहिरो ल्यायो। केही स्थानमा हिमताल फुटेर आएको बाढी समेत रिपोर्ट गरियो। यस वर्ष करिब १२ लाख मानिस प्रत्यक्ष प्रभावित वा विस्थापित भएका थिए।
विश्वव्यापी रूपमा २०२५ मा विपद् सम्बन्धी आर्थिक क्षति १६९ अर्ब अमेरिकी डलरभन्दा बढी अनुमान गरिएको छ। तुलनामा हिन्दुकुश हिमालय क्षेत्रमा भएको क्षतिले जटिल भू–भाग र उच्च जोखिमयुक्त अवस्थाले कसरी असमान असर पार्छ भन्ने देखाउँछ।
म्यानमार, पाकिस्तान र चीनमा पनि मनसुनले प्रेरित बाढीले आधारभूत पूर्वाधार र जीविकोपार्जनमा ठुलो क्षति पुर्याएको तथ्याङ्कले देखाएकाे छ ।
विशेषज्ञहरूले हिन्दुकुश हिमालय क्षेत्रमा बढ्दो विपद् प्रभावलाई बहु–विपद् घटनासँग जोडेका छन् । यस्ता बहु–विपद्मा बाढी, पहिरो, खडेरी एकैसाथ हुनेछन् । विगतका उदाहरणमा भारतको उत्तराखण्डमा २०१३ को केदारनाथ बाढी, सिक्किममा २०२३ को दक्षिण ल्होनाक हिमताल फुटेर आएको बाढी, र नेपालमा २०२१ को मेलम्ची बाढी समावेश छन्।
“हालका वर्षहरूमा बाढी, पहिरो र अन्य विपद् पर्वतीय क्षेत्रमा बढ्दो रूपमा एकअर्कासँग जोडिँदैछ, जसका कारण घर, पूर्वाधार र आवश्यक सेवामा क्षति बढाएको छ,” इसीमोडका महानिर्देशक पेमा ग्याम्त्शोले भने।
१९७५ देखि २०२४ सम्मको दीर्घकालीन तथ्याङ्कले २०१३ पछि मृत्यु दर र प्रभावित जनसंख्या घटेको देखाउँछ। तर विश्लेषकहरूले तथ्याङ्क अभावले यो प्रवृत्तिमा असर पार्न सक्ने चेतावनी दिएका छन् । तयारी र प्रारम्भिक चेतावनी प्रणालीमा सुधारले पनि योगदान पुर्याएको हुनसक्ने ठानिएको छ ।
“संख्या अझै चिन्ताजनक छन्, तर २०१३ पछि देखिएको प्रवृत्तिले वर्षैपिच्छे कम मानिस प्रभावित भएको देखाउँछ, जुन क्षेत्रका केही भागमा जलवायु सेवामा सुधार र तयारीलाई प्रतिबिम्बित गर्न सक्छ,” इसीमोडका जलविज्ञानी मनिष श्रेष्ठले भने, “जोखिम बढ्दै गएकाले तयारी र योजना–निवेश निरन्तर आवश्यक छ।”
पूर्व चेतावनी प्रणालीले केही बाढी–प्रवण क्षेत्रमा क्षति घटाएको छ। पूर्वी नेपालमा २०२४ मा खाँडो खोला किनारमा जारी गरिएको चेतावनीले करिब ६० हजार मानिसलाई सुरक्षित स्थानमा सार्न मद्दत मिलेको इसीमोडले जनाएको छ ।
विश्लेषकहरूले भविष्यमा विपद् क्षति घटाउन जोखिम–सूचित लगानी आवश्यक रहेको बताएका छन्। विकास र पूर्वाधार योजनामा बहु–विपद् जोखिमलाई समावेश नगरेमा जलवायु–प्रेरित चरम घटनाले अझ बढी क्षति निम्त्याउने चेतावनी दिइएको छ।

Leave a Reply