
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)सँगको सहकार्यमा रिभोसाइन्स मिडियाले कक्षा १०, ११ र १२ को विद्यार्थीहरुका लागि ‘डिजाइन काठमाडौं कन्टेस्ट’ आयोजना गर्ने भएको छ।
नेपालभरबाट अनलाइन माध्यमबाट सहभागी हुन पाउने वौद्धिक क्षमता प्रतिस्पर्धामा २०७८ वैशाख २० गतेसम्म सहभागीले निशुल्क रुपमा आवदेन दिन सक्नेछन् । प्रतिस्पर्धीले ‘डिजाइन काठमाडौं कन्टेस्ट’ मा एकल वा समूहगत रुपमा प्रतिस्पर्धामा भाग लिन पाउने र सहभागीले शिक्षकलाई दिशानिर्देशनको रुपमा राख्न पाउने रिभोसाइन्स मिडियाका लक्ष्मण डंगोलले बताए ।
डंगोलका अनुसार काल्पनिकरुपमा विद्यार्थीहरुले कम्तीमा बीस पन्ना शहरको परिकल्पाना बनाउन सक्नेछन् । प्रतिस्पर्धीले आफ्ना परिकल्पनामा काठमाण्डौ उपत्यकाको डिजाइन, भूगोल, बास्तुकला, समाज र सभ्यता, विज्ञान प्रविधि र संस्कृति, वातावरण र वन्यजन्तु, नीति तथा योजना, सम्पदा क्षेत्र र संरक्षणका उपाय, अनुसन्धान तथा विकास र नवप्रवर्तन, धर्म र शिक्षा प्रणाली, सडक सञ्जाल र स्मार्ट प्रविधि, विज्ञान पार्क र कबडहल, व्यवसायिक केन्द्र र कला तथा मनोरञ्जन र अर्थ व्यवस्थापन जस्ता उपशीर्षक समेटेर लिखित ढाँचा प्रस्तुत गर्नु पर्ने हुन्छ।
‘कल्पना गरौं, तपाईंले सोचेको काठमाडौं कस्तो हुनुपर्दछ । के तपाईले काठमाडौं उपत्यका विकासका लागि आफ्नै परिकल्पना बनाउन चाहनुहुन्छ, त्यसका लागि ‘डिजाइन काठमाडौं कन्टेस्ट’मा सहभागी हुन सक्नुहुनेछ जस्ता कुरा उल्लेख गरेका छन् ।
विद्यार्थीले आवेदन दिने प्रक्रिया पनि ‘डिजाइन काठमाडौं कन्टेस्ट’ को वेबसाइटमा समावेश गरिएको छ । सहभागीले सोध्न सक्ने सम्भावित प्रश्नहरु, डिजाइन तयार पार्न पूर्व चाहिने आवश्यक खुराकहरु वेबसाइटबाट डाउनलोड तथा अध्ययन गर्न मिल्ने आयोजक रिभोसाइन्स मिडियाले जनाएको छ ।
आयोजकका अनुसार विद्यार्थीहरुको सृजना प्रस्फुटन तथा शहर विकासका लागि चाहिने आवश्यक विषयबस्तुमा उनीहरुको बुझाइलाई थप मजवुद हुनेछ । यसरी परिकल्पना गर्दा उनीहरुको बौद्धिक विकास तथा विद्यार्थीहरुमा विविध स्रोधसामग्री अध्ययन तथा सोध गर्ने क्षमता अभिवृद्धि हुने उल्लेख छ ।
बौद्धिक प्रतिस्पर्धीमा विजयीले दशहजार, पाँचहजार र दुई हजार नगद पुरस्कार पाउनेछन् ।


Leave a Reply