
काठमाडाैँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा)का अध्यक्ष ऋतु सिंह वैद्यले नेपालको अर्थतन्त्रमा अटोमोबाइल उद्यमीहरुको भूमिका, नवप्रवर्तन र सार्वजनिक–निजी साझेदारीको महत्व भएको बताएका छन् ।
नाइमा नेपाल मोविलिटी एक्स्पो २०२५ उद्घाटन सत्रमा यस्तो बताएकी हुन । अध्यक्ष वैद्यले भनिन्, ‘हामीले अहिलेसम्मकै सबैभन्दा ठूलो अटोमोटिभ प्रदर्शनीको उद्घाटन गर्यौ। यो क्षण हामी सबैका लागि अत्यन्तै विशेष छ । हामी सहकार्य, नवप्रवर्तन र दिगो वृद्धिमा केन्द्रित एउटा नयाँ अध्यायको सुरुवात गर्दैछौं ।’
‘मोबिलिटी क्षेत्र नेपालका लागि रोजगारी र आर्थिक वृद्धिको एउटा महत्वपूर्ण पक्ष हो। यसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १२ लाख ४० हजारभन्दा बढी जनशक्तिलाई रोजगारी प्रदान गर्छ र राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा ७.१३ प्रतिशतको योगदान पुयाउँछ, उनले भनिन्, ‘हाल नेपालमा ५५ लाखभन्दा बढी सवारी साधन दर्ता छन्, जसले बिक्री, मर्मत, लजिस्टिक्स र पूर्वाधारका क्षेत्रमा रोजगारी सिर्जना गरिरहेको छ।’
त्यस्तै एक्स्पो समितिका अध्यक्ष मुरारकाले हामीले सुरु गरेको एक्स्पो केवल सवारी साधन र प्रविधिको प्रदर्शनीसँगै यो सफा, स्मार्ट र समावेशी यातायात प्रणाली तर्फको सामूहिक प्रतिबद्धताको सुरुवात हो ।
‘यो कार्यक्रम नेपालको मोविलिटी क्षेत्रको भविष्य निर्माण गर्ने साझा अभियान हो । आजबाट सुरु भएको ५ दिने एक्स्पो सफल बनाउन हामी तपाईहरुको निरन्तर साथ, सहयोग, र सहकार्यको अपेक्षा गर्दछौँ , उनले भने ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी छन् ।
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ साउन २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि खुला हुनेछ । पहिलो दिनै १५ हजार अवलोकनकर्ताहरुको उत्साहजनक उपस्थिति रहेको प्रदर्शनी बिहान ११ बजे देखि बेलुका ८ बजे सम्म खुल्ला रहने बताइएको छ ।
Leave a Reply