
ह्यामिल्टन । म्याकमास्टर विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले मासिक धर्म कपलाई अझ सुरक्षित, प्रयोग गर्न सजिलो र वातावरणमैत्री बनाउने उद्देश्यले विकास गरेका छन्। यो नवप्रवर्तनले विद्यमान ‘ब्रि फ्रि कप’लाई पूरक बनाउँदै मासिक धर्म व्यवस्थापनमा नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास गरिएको छ।
महिला स्वास्थ्य निगरानीका लागि पहिरन योग्य प्रविधि विकास गर्ने म्याकमास्टरको दीर्घकालीन पहल अन्तर्गत यो अनुसन्धान गरिएको हो। अनुसन्धान टोलीले नेचर कम्यूनिकेसनमा प्रकाशित समीक्षा लेखमार्फत नयाँ मासिक धर्म कपजस्ता प्रविधिहरूले संक्रमण पत्ता लगाउने, प्रजनन स्वास्थ्य निगरानी गर्ने र निदान सुधार गर्ने सम्भावनाहरूको चर्चा गरेका छन्।
नयाँ उत्पादन एक फ्लस गर्न मिल्ने ट्याब्लेट हो, जुन अत्यधिक सोस्ने समुद्री शैवालबाट बनाइएको छ। यसले मासिक धर्मको रगत सम्हाल्न र कप हटाउँदा हुने चुहावट कम गर्न सहयोग गर्छ। यो ट्याब्लेट ‘ब्रिफ्रि कप’ सँग पूरक रूपमा काम गर्छ, जुन स्नेहक मिश्रित सिलिकनबाट बनेको छ र भाइरस तथा ब्याक्टेरियालाई स्वाभाविक रूपमा प्रतिरोध गर्छ।
अनुसन्धान टोलीकी सह-नेता प्रोफेसर ज़ैनाब होसेनिदोउस्टले भनिन्, “यो परियोजनाले मलाई मासिक धर्म हेरचाहमा कति चाँडै नवप्रवर्तन आवश्यक छ भन्ने कुरा देखायो। लाज र चासोको कमीका कारण यो विषयमा कम छलफल भएको छ, तर कपहरूले विश्वभरका महिलाको जीवनमा गम्भीर परिवर्तन ल्याउन सक्छन्।”
अनुसन्धान टोलीमा स्नातकोत्तर विद्यार्थीहरू शाघायेघ मोगिमी, लुबना नज्म र पोस्टडोक्टोरल फेलो फेरेश्टेह बायत पनि सहभागी थिए । उनीहरुले विकास र परीक्षणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
यो उत्पादन वमेन्स ग्लोबल हेल्थ इनोभेसन्सकी संस्थापक लिसा हिर्ट्जसँगको सहकार्यमा विकास गरिएको जनाएको छ । यो अनुसन्धान म्याकमास्टरको इनोभेसन पार्कमा आधारित छन्। हिर्ट्जले भनिन्, “मासिक धर्म स्वास्थ्य लाखौं किशोरी र महिलाका लागि महत्वपूर्ण मुद्दा हो, विशेष गरी गरिबीमा जीवन बिताइरहेका निम्न तथा मध्यम आय भएका देशहरूमा।”
यो प्रविधिले डिस्पोजेबल मासिक धर्म उत्पादनको वातावरणीय असर घटाउने र कम आय भएका समुदायमा मासिक धर्म हेरचाहको पहुँच सुधार गर्ने बताइएको छ । प्रत्येक कप धेरै वर्षसम्म टिक्ने गरी डिजाइन गरिएको छ, जसले ट्याम्पोन वा प्याडको भरपर्दो पहुँच नभएका प्रयोगकर्ताहरूका लागि लागत-कम र दिगो समाधान प्रदान गर्ने अनुसन्धानकर्ताहरुको भनाइ छ।
यद्यपि मासिक धर्म कपहरूको प्रयोगमा कठिनाइका कारण यसको प्रयोग सीमित रहँदै आएको छ। नयाँ कपहरूले ती समस्याहरू समाधान गर्छन् र भविष्यमा स्वास्थ्य निगरानी क्षमताको ढोका खोल्ने बताइन्छ।
अनुसन्धान टोलीले भविष्यमा सेन्सरयुक्त मासिक धर्म उत्पादनको कल्पना गरेको जनाएको छ । यसले संक्रमण र रक्तजन्य रोगहरूको प्रारम्भिक संकेत पत्ता लगाउन मद्दत मिल्ने उनीहरुको दाबी छ।
प्रोफेसर तोहिद डिडारले भने,“यो स्मार्टवाच भन्दा पनि मूल्यवान पहिरन योग्य प्रविधिको नयाँ रूप हुन सक्छ। हामी महिलाको स्वास्थ्यमा प्रायः प्रतिक्रियात्मक रूपमा काम गर्छौं। यो प्रविधिले हामीलाई सक्रिय रूपमा काम गर्न मौका दिन सक्छ।”
“यदि हामी मासिक धर्म उत्पादनमा संक्रमण वा अवस्थाहरू जस्तै एंडोमेट्रिओसिस वा युटीआई निगरानी गर्न सादा प्रणाली थप्न सक्यौं भने, हामी ती समस्याहरू धेरै चाँडै पत्ता लगाउन सक्छौं,” उनले भने ।
“हाम्रो समीक्षा अनुसार, बायोसेंसर, पहिरनयोग्य उपकरणहरू र कृत्रिम बुद्धिमत्तामा हालैका प्रगतिहरूले महिलाको स्वास्थ्य निदानमा महत्वपूर्ण अन्तर हटाउन सक्छ – प्रजनन हेरचाहदेखि क्यान्सर र अस्थिपञ्जी रोगसम्म,” प्रोफेसर वेई गाओले भने ।
Leave a Reply