|
Getting your Trinity Audio player ready…
|

काठमाडौँ, पुष १५ । कृषि क्षेत्रको आधुनिकीकरण र प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यले ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ भरतपुरमा आयोजना हुने भएको छ।
मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स प्रा.लि.ले संयुक्त रुपमा आयोजना गर्न लागेको यो प्रदर्शनी माघ २ देखि ४ गतेसम्म चितवन प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ।
आयोजकका अनुसार प्रदर्शनीमा नेपाल, भारत, चीनलगायतका देशका कृषि कम्पनीका १ सय भन्दा बढी स्टल रहनेछन्। प्रदर्शनीमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषि औजार तथा उपकरण, पशु चिकित्सा सेवा, खाद्य प्रविधि, मल, बीउबिजन, कृषि तालिम तथा वित्तीय सुविधा सम्बन्धी जानकारी उपलब्ध गराइनेछ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा साना औजारदेखि ठूला डेरी मेशिनरी र पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने उपकरणसमेत प्रदर्शन गरिनेछ। साथै, आधुनिक प्रविधि प्रयोगका डेमो कार्यक्रमसमेत हुनेछन्। आयोजकले यस प्रदर्शनीले नेपालको कृषि क्षेत्रलाई यान्त्रीकीकरणतर्फ अघि बढाउने विश्वास व्यक्त गरेको छ।
प्रदर्शनीमा देश–विदेशका उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, संघ–संस्थाका प्रतिनिधि तथा कृषकहरूको सहभागिता रहनेछ। प्रदर्शनीले नविनतम प्रविधि पहिचान गर्न मद्दत गर्ने र कृषि उत्पादन वृद्धि गर्दै मुलुकलाई आत्मनिर्भर बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ।
यस प्रदर्शनीमा नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम प्रवर्द्धनको भूमिकामा रहेका छन्। सहयोगी संस्थामा राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ, राष्ट्रिय कृषक समूह महासंघ, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ तथा चितवन उद्योग संघ रहेको आयोजकले जनाएको छ।


Leave a Reply