
काठमाडौं, चैत २३। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनका लागि वस्तुगततर्फ उपाध्यक्ष पदमा शिव प्रसाद घिमिरे नेतृत्वको समूहले उम्मेदवारी दर्ता गरेको छ। घिमिरे नेतृत्वमा रहेको १६ जनाको टोलीले सोमबार बिहान उम्मेदवारी दर्ता गरेको हो ।
घिमिरे समूहले डेरी, पोल्ट्री, अलैंची, बीउ–विजन, कृषि बजारीकरण, पश्मिना, सौर्य ऊर्जा, स्टक बजार, सिमेन्ट, प्लाईउड, फ्लोरिकल्चर, खानेपानी, पर्यटन, जुत्ता–चप्पल, यातायात तथा इटा उद्योगलगायतका क्षेत्रलाई समेटेर उम्मेदवारी दर्ता गरेको छ। यसले सबै क्षेत्रको प्रतिनिधित्व भएको दाबी गरिएको छ।
भावी अध्यक्ष पदका उम्मेदवार अञ्जन श्रेष्ठको समर्थन र वर्तमान अध्यक्ष चन्द्र ढकालको सदाशयता रहेको कारण घिमिरे समूह चुनाव जित्नेमा आत्मविश्वासी देखिएको छ। उम्मेदवारहरूले महासंघलाई प्रभावकारी, समावेशी तथा व्यवसायीमैत्री बनाउन प्रतिबद्धता व्यक्त गरेका छन्।
उम्मेदवारी दर्तापछि घिमिरेले साना, ठूला र मझौला सबै व्यवसायीलाई समेट्ने वास्तविक छाता संगठनको अवधारणामा काम गर्ने बताएका छन्। कार्यक्रममा दुई दर्जनभन्दा बढी संघका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
त्यस्तै एसोसियटतर्फ उपाध्यक्ष पदमा प्रवलजंग पाण्डे नेतृत्वको समूहले उम्मेदवारी दर्ता गरेको छ। वर्तमान अध्यक्ष ढकालका छोरा सचिन ढकाल पनि पाण्डे समूहमा उम्मेदवार बनेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको ६०औं साधारणसभा तथा निर्वाचन आगामी चैत २९ र ३० गते हुने तय भएको छ।

Leave a Reply