|
Getting your Trinity Audio player ready…
|

काटमाडौँ, जेठ, १३ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय स्तरको बृहत् प्रदर्शनी ‘फिन इलेक्ट्रो–टेक २०२६‘ आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा हुने भएको छ।
नेपालमा जलविद्युत उत्पादन, विद्युत पहुँच विस्तार, औद्योगिक विकास तथा डिजिटल प्रविधिको प्रयोग तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा सुरक्षित, गुणस्तरीय तथा आधुनिक विद्युतीय सामग्रीको प्रयोग अपरिहार्य बन्दै गएको छ। यही आवश्यकता र बजारको बढ्दो मागलाई ध्यानमा राख्दै उपभोक्ता, व्यवसायी तथा प्राविधिक क्षेत्रलाई नवीनतम प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड, सुरक्षा प्रणाली तथा ऊर्जा दक्ष समाधानबारे जानकारी गराउने उद्देश्यले यो प्रदर्शनी आयोजना गरिएको हो।
यस प्रदर्शनीले नेपालमा विद्युतीय उद्योगको विकास, स्वदेशी उत्पादनको प्रवद्र्धन, विदेशी प्रविधि तथा लगानी आकर्षण, व्यवसायिक नेटवर्क विस्तार तथा अन्तर्राष्ट्रिय व्यापार सहकार्यलाई मजबुत बनाउने अपेक्षा गरिएको छ। साथै ऊर्जा, पूर्वाधार, स्मार्ट प्रविधि तथा दिगो विकाससँग सम्बन्धित नयाँ अवसरहरूको पहिचानमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
चार दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपालसहित विभिन्न देशका प्रतिष्ठित कम्पनी, उत्पादक, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायक संस्थाहरू सहभागी हुनेछन्। प्रदर्शनीमा ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, स्मार्ट ऊर्जा समाधान, औद्योगिक तथा घरेलु उपकरण, वायर, केबुल, कण्डक्टर, एलईडी लाइटिङ्ग, स्मार्ट स्विच, सुरक्षा प्रणाली, सौर्य ऊर्जा, अटोमेसन प्रणाली, सूचना प्रविधि तथा अत्याधुनिक इलेक्ट्रोनिक्स सामग्री प्रदर्शन गरिनेछ।
प्रदर्शनी अवलोकनकर्ताका लागि आधुनिक प्रविधि, सुरक्षित तथा गुणस्तरीय सामग्री, ऊर्जा बचत समाधान तथा बजारमा उपलब्ध नयाँ उत्पादनहरूको प्रत्यक्ष जानकारी प्राप्त गर्ने उत्कृष्ट अवसर हुने आयोजकले जनाएको छ । उपभोक्ताले एउटै स्थलमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनहरू तुलना गर्न, प्राविधिक जानकारी लिन तथा नयाँ प्रविधिको अनुभव गर्न सक्ने व्यवस्था गरिएको छ।
त्यसैगरी प्रदर्शक कम्पनीहरूका लागि यो प्रदर्शनी ब्राण्ड प्रवर्द्धन, नयाँ उत्पादन सार्वजनिक, व्यवसायिक नेटवर्क विस्तार, सम्भावित ग्राहक तथा वितरकहरूसँग प्रत्यक्ष सम्पर्क स्थापना गर्ने महत्वपूर्ण प्लेटफर्म बन्नेछ। दक्षिण एशियाली बजारमा आफ्नो पहुँच विस्तार गर्न इच्छुक कम्पनीहरूका लागि समेत यो प्रदर्शनी प्रभावकारी व्यवसायिक अवसरको रूपमा रहने अपेक्षा गरिएको छ।
यस प्रदर्शनीका टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सर्फमर, पावर बाईमा ह्याभेल्स, प्लेटिनम स्पोन्सरमा जनता के.इ.आई., डायमण्ड स्पोन्सरमा लेजर इन्डिया र ग्रेटहाइट इलेक्ट्रीकल्स, गोल्ड स्पोन्सरमा ब्रिलेन्ट एलईडी रहेका छन्। अफिसियल बैंकमा नविल बैंक, अफिसियल इन्स्योरेन्समा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, अफिसियल क्यारियरमा एस.के.बी ग्रुप, टेक्नोलोटी पार्टनरमा जुलाई टेक ल्याब्स तथा इन्टरनेट पार्टनरमा सजिलो नेट रहेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श लगायत विभिन्न सरोकारवाला संस्थाहरूको सहयोग रहने यस प्रदर्शनीमा देश तथा विदेशबाट उद्योगी, व्यवसायी, प्राविधिक, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी, सञ्चारकर्मी तथा आम सर्वसाधारण गरी हजारौं आगन्तुकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

Leave a Reply