|
Getting your Trinity Audio player ready…
|

स्कटल्याण्ड, जेठ ०८ । ग्लासगो विश्वविद्यालयका इन्जिनियर तथा क्यान्सर वैज्ञानिकहरूले विकसित गरेको नयाँ इम्प्लान्टेबल उपकरणले भविष्यमा मूत्राशय क्यान्सर उपचारमा नयाँ सम्भावना ल्याउने अपेक्षा गरिएको छ।
यो उपकरणले वायरलेस–पावर माइक्रो–एलईडी प्रयोग गरी प्रकाश–संवेदनशील औषधिहरूलाई अझ प्रभावकारी बनाउन मद्दत गर्छ। प्रोफेसर डेविड फ्लिनको नेतृत्वमा बनेको प्लेटफर्मले फोटो–डाइनामिक थेरापीलाई अझ सटीक, सस्तो र सहज बनाउन लक्ष्य राखेको छ।
अनुसन्धानकाअनुसार फोटो–डाइनामिक थेरापी प्रकाश–संवेदनशील औषधि (फोटोसेन्सिटाइजर) प्रयोग गरेर क्यान्सर कोशिकालाई नष्ट गर्ने उपचार हो।
हाल यो छालाको क्यान्सरमा प्रयोग हुँदै आएको छ, तर शरीरको ऊतकले प्रकाश अवशोषण गर्ने भएकाले गहिरो अंगमा रहेको ट्युमरमा उपचार कठिन हुन्छ।
यो उपकरणमा माइक्रो–एलईडी आधारित ४० मिमी चौडाइको डिस्क–आकारको उपकरणमा प्यारिलिन सी नामक बायोकम्प्याटिबल पोलिमरमा बनेको लचिलो सब्सट्रेटजस्ता विशेषता हुनेछन् ।
सो उपकरणमा वायरलेस पावर प्रणाली प्रयोग गरेर ५ मेगावाटभन्दा बढी प्रकाश उत्पादन गर्न सक्षम हुनेछ ।
डा. रोलन मन्सुरले भन्छन्, “विकसित राष्ट्रमा तीन जनामध्ये एकजनाले जीवनकालमा कुनै न कुनै प्रकारको क्यान्सर भोग्ने सम्भावना हुन्छ। युकेमा मात्र मूत्राशय क्यान्सरले दैनिक १६ जनाको मृत्यु गराउँछ। तर प्रारम्भिक चरणमै उपचार भएमा यो रोग निको हुन सक्छ।”
यो प्रविधिलाई २०२४ मा आइटी एक्सेलेन्स एण्ड इनोभेसन अवार्ड प्रदान गरिएको थियो । अनुसन्धानमा एडिनबर्ग इन्स्ट्रुमेन्ट्स लिमिटेडका वैज्ञानिकहरूको पनि योगदान रहेको छ।
अनुसन्धानपत्र अप्टो इलोकट्रोनिक्स एडभान्सेस् जर्नलमा प्रकाशित भएको छ।

Leave a Reply